वन फडानी प्रकरणः झोले कार्यालय, ओठे निर्णय, नक्कली र मृतक उपभोक्ताको किर्ते दस्तखत

0

कञ्चनपुर–झोले कार्यालय, ओठे निर्णय, नक्कली र मृतक उपभोक्ताको किर्ते दस्तखत। यी शब्दहरु कैलालीको मोहन्याल गाउँपालिका–३ मा रहेको चुरे मालिका सामुदायिक वनका उपभोक्ताहरुले छानविनका लागि दिएको निवेदनको शीर्षकमा उल्लेख भएका छन्।

उक्त निवेदनमा केही व्यक्तिहरुले मनोमानी ढंगले उपभोक्ता समिति गठन गरेको र मनपरी ढंगले नै रुख कटानी गरेको उल्लेख गरिएको छ। मोहन्याल गाउँपालिका–३ कै भूमिप्रसाद जैशी, भवानी प्रसाद देवकोटा, कविराम जैशी, टिकाराम जैशी, काशीराम जैशी र वीरे जैशी लगायत मिलेर वन कर्मचारीहरुसँग मिलेमतो गरी चुरे मालिकाको वन उपभोक्ता समुह गठन गरेको निवेदनमा उललेख छ।

उनीहरुले नै मनपरी ढंगले वैज्ञानिक वन व्यवस्थापन पनि गरेको उपभोक्ताहरुको आरोप छ। वैज्ञानिक वन व्यवस्थापनका नाममा भएको वन फडानीको छानविन गर्न संसदको लेखासमितिले गठन गरेको उपसमिति समक्ष पेश गरिएको निवेदनमा होटेलमा वैठक र साधारणसभा गरेर विभिन्न निर्णयहरु गरेको निवेदनमा उल्लेख छ।

उपभोक्ता समितिमा ६ जना बाहेक अन्य सबैको दस्तखत किर्ते गरिएको र कतिपय उपभोक्ता नै नभएको मोहन्यालकै सुरेन्द्र प्रकाश जैशीले दिएको निवेदनमा भनिएको छ। उनीहरुले आफू अनुकुलका व्यक्तिहरुलाई सदस्य बनाउने र मन नपरेकालाई सदस्यबाट हटाउने गरेको भन्दै छानविन गरि आवश्यक कारवाही गर्न जैशीले माग गरेका छन्।

कैलालीकै कैलारी गाउँपालिकाको भरताल नामको राष्ट्रिय वनलाई स्थानीय उपभोक्तालाई कुनै जानकारी नदिइ साँझेदारी वन बनाएर व्यापक वन फडानी गरेको भन्दै छानविनको माग गरिएको छ। जेठ १५ मा मन्त्रीपरिषदले रुख कटान गर्न नपाइने निर्णय गरेपश्चात पनि उक्त साँझेदारी वनमा अध्यक्ष यादव प्रसाद भण्डारीले वन कर्मचारीसँँग मिलेमतो गरी आधुनिक मेशिनको प्रयोग गरेर रातारात रुख कटान गरेको निवेदनमा उल्लेख छ। उक्त साँझेदारी वन व्यवस्थापनका नाममा आएको लाखौं रकम समेत हिनामिना भएको उनीहरुको आरोप छ।

कैलालीकै रामजानकी सामुदायिक वनका अध्यक्ष जयानन्द भट्टले पनि वन कर्मचारीहरुसँग मिलेर विधान विपरित वैज्ञानिक वनको कार्ययोजना बनाएको स्थानीयको आरोप छ। वन संरक्षण संघर्ष समिति फुलबारी कैलालीका अध्यक्ष ओम प्रसाद शर्माले छानविन उपसमितिलाई लेखेको पत्रमा अध्यक्षको अवैध कार्यका बारेमा उपभोक्ताले ७ महिनापछि मात्रै थाहा पाएको उल्लेख छ। त्यसपछि सव डिभिजन वन कार्यालय फुलबारीमा कारवाहीको माग गर्दै उजुरी दिएपनि त्यसको कुनै वास्ता नगरिएको उनीहरुको आरोप छ।

मोहन्याल गाउँपालिकाले पनि राष्ट्रपति चुरे तराई संरक्षण कार्यक्रमको मापदण्ड विपरित वैज्ञानिक वन व्यवस्थापनमार्फत भएको फडानीमा संलग्नलाई कारवाही गरिदिन वन तथा वातावरण मन्त्रालयमा पत्राचार गरेको छ। निमित्त प्रमुख प्रशासकिय अधिकृत जयानन्द जैशीले पत्र लेखेर कारवाहीको माग गरेका हुन्। जैशीद्वारा लिखित पत्रमा कैलालीको राष्ट्रपति चुरे तराई मधेश संरक्षण कार्यक्रम भित्र पर्ने मोहन्याल गाउँपालिका अन्तर्गत चुरे पहाडदेखि घाडीघाँचसम्म र चिसापानीदेखि पश्चिम वालुवाबगडसम्मको मानव वस्ती नभएको घनघोर जंगलमा विगत लामो समयदेखि काठका ठेकेदार, काठ तस्कर, वनका कर्मचारीहरु र सामुदायिक वन उपभोक्ता समुहका अध्यक्षहरुको मिलेमतोमा ५०–६० उपभोक्ता समुह खडा गरी जंगल फडानी गरेर काठ निकासीका लागि डोजरसम्म प्रयोग गरी बाटो बनाएका कारण सो क्षेत्रका वातावरण असन्तुलित भएको भन्दै संलग्नहरुलाई कारवाहीको माग गरिएको छ। लकडाउनका अवधीमा समेत एक दर्जन बढी सामुदायिक वनले रुख कटान गरेको पत्रमा उल्लेख छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here