म त्यो बेला बग्गीखानामा कार्यरत थिए, एसएसपीका रुपमा। पुतली सडकमा महिला ट्राफिक प्रहरीको डियूटी थियो। दिउँसोको समय, त्यसैमा राजधानी। पुतलीसडक भिड्भाड हुने मुख्य सडक अन्तर्गतनै पर्छ। प्राय ‘भीआइपी/भीभीआइपी मुभमेन्ट’ भइनै रहन्छ। मुलुकको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार पनि त्यही नजिक भएकाले यस क्षेत्रको ट्राफिक ब्यवस्थापन चुनौतीपूर्ण हुने गरेको छ प्राय सबै प्रमुखहरुका लागि। त्यो बेला बग्गीखानामा एसएसपीनै प्रमुख हुने ब्यवस्था थियो।

पुतलीसडकमा गाडीहरुको ताँती थियो। उक्त क्षेत्रमा त्यो बेला ट्राफिक व्यवस्थापन अहिलेको भन्दा पनि चुनौतीपूर्ण मानिन्थ्यो। त्यहि बेला तत्कालिन युवराज पारस शाह पुतलीसडक भएरै सवारी हुनु भयो। उहाँ आफै गाडी चलाएर आउनु भएको थियो। पारस सरकारले गाडी पुतली सडकको छेउमै पार्किङ गर्नुभयो। जुन ‘नो पार्किङ एरिया’ थियो। गाडी रोकेर बाहिर निस्कनु भयो।

त्यसपछि पार्किङ निषेध गरिएको क्षेत्रमा रोकिएको गाडीमा महिला ट्राफिक प्रहरीले स्टिकर लगाइन्। स्टिकर टास्ने वितिक्कै चिट पनि काटिहालिन्। चालक गाडीमै रहेछन। महिला प्रहरी सँग उनको भनाभन हुन थाल्यो। त्यतिकैमा पारस सरकार पनि बाहिर निस्कन भयो। ‘मलाई चिन्दैनौं’ भन्दै उहाँ महिला प्रहरीलाई थर्काउन थाल्नुभयो। आफू युवराज भएको भन्दै गाडी छाड्न धम्की पनि दिनु भएछ। तर महिला प्रहरीले चिट काटिसकेकाले कुनै पनि हालतमा गाडी नछाड्ने अडान लिइन्। गलत ठाउँमै गाडी पार्किङ पनि गरिएको थियो। तर पारस सरकारले तैपनि आफूलाई नचिनेको भन्दै धम्काइरहनु भएको थियो।

महिला प्रहरीले चालकको लाइसेन्स लिएर गाडी छाडिन्। पछि चालकलाई बग्गीखाना पठाएर लाइसेन्स लैजान भनिन्। पारस सरकार गाडी लिएर फर्किए। यो घटना २०६१ साल तिरको हो। उतिबेला राजा ज्ञानेन्द्रले प्रत्यक्ष शासन आफ्नो हातमा लिनु भएको थियो। तत्कालिन उपत्यका ट्राफिक कार्यालय बग्गीखानाको प्रमुख म आफै थिए। पारस सरकार पुतलीसडकबाट निस्केपछि महिला प्रहरीले मलाई फोनमार्फत सबै कुरा रिपोर्टिङ गरिन्।

फोन राखेको के मात्र थिए निर्मल निवासबाट अर्को फोन आयो। ‘पारस सरकारको गाडीमा स्टिकर लगाउने महिला प्रहरीलाई तुरुन्तै पठाउन’ उर्दी भयो। तर मैले अडान लिए। महिला प्रहरीलाई पठाउनु भन्दा कमान्डरको हैसियतले आफै जाने तयारी गरे। एकै छिनमा निर्मल निवासबाट ‘महिला प्रहरीलाई लिएर आउनु’ भन्दै पुनः फोन आयो। मैले त्यतिबेला पनि आफु आउने भनेपछि महिलालाईनै ल्याउनुपर्ने भन्दै कसिकसाउ गरियो।

त्यतिबेला विवेक शाह सैनिक सचिव थिए। मैले उनलाई फोन गरेर घटनाबारे सबै कुरा बताए। उनले ‘चिन्ता नगर्नुस एकछिन पख्नुस, म यो कुरा सरकारमा जाहेर गरेर फोन गर्छु’ भन्नुभयो। कुरा भएको १० मिनेट नबित्दै शाहको फोन आयो। ‘सरकारमा जाहेरी गरे, गलत गर्ने जो कोही भएपनि कानून बामोजिम जे कारवाही हुन्छ, त्यहि गर्ने हुकुम भयो’ सैनिक सचिव शाहले भन्नुभयो।

म यो कुरा अहिले पनि बेलाबखतमा सम्झिरहेको हुन्छु। यदि अहिले त्यस्तो भएको भए नेता, मन्त्रीहरु जो कोहीले पनि आफ्नोलाई नै जोगाउने थिए होलान। उहाँहरुको काम कारवाहीले त्यस्तै छनक मिल्ने गरेको छ। प्रहरीलाई कसैले पनि हेर्ने थिएनन्। त्यस्तै भईरहेको पनि छ। त्यतिबेला राजाले प्रत्यक्ष शासन लिएपनि गल्ती गर्ने आफन्त र नातागोतालाई छाड्नुपर्छ भन्ने मान्यता थिएन। गल्ती गर्ने जोसुकै भएपनि कारवाहीको भागिदार हुनुपर्छ भन्ने थियो।

उपत्यका ट्राफिक प्रहरी प्रमुख भएर २०५९ देखि ४ वर्षसम्म निरन्तर काम गरे। हेल्मेट र सिट बेल्ट लगाउनुपर्ने ऐन कार्यान्वयन गर्दा पनि धेरै गाह्रो भयो। अनेक आरोप खेप्नुपर्यो। सर्वाेच्चमा मुद्दा समेत पर्यो। सर्वाेच्चमा मैले नै ऐन र कानूनमा भएको व्यवस्थाबारे बताए। सर्वाेच्चले ट्राफिक प्रमुखलाई धन्यवादसहितको फैसला गर्यो। (सुरेन्द्र पाल, नेपाल प्रहरीका पूर्व डिआईजी हुन। कुराकानीमा आधारित)

2 COMMENTS

  1. पूर्व डी.आई.जी.पी. सुरेन्द्र बहादुर पाल एक व्याबसायिक प्रहरी अधिकृत भएका कारण उहाॅको अन्तरगतमा रहेर काम गर्ने इमान्दार जो कोहि प्रहरी कर्मचारीले पनि कसैको दबाबबाट कहिल्यै बिचलित हुनुपर्दैनथ्यो ।

  2. महेन्द्रनगरबाट एक धमाका।कानुनको कार्यान्वयन,त्यतिबेला अहिले भन्दा साच्चै नै सजिलो र सहज थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here