श्यामबहादुर खड्का

केहि बर्ष अघि बाजुराको कैलाश देवताका धामी कैलाश र मानसरोवर जाने उपाय खोजिरहेका थिए। उनी धामी त भइसकेका थिए, तर पुरा धामी हुनका लागि मानसरोवरमा पवित्र स्नान गरेर कैलाश परिक्रमा गरी देवताको मन्दिरमा जल अर्पण गर्नु थियो। उनले कता तिरबाट मेरो फोन नम्बर पाएछन्। र, सोधे ‘हामि कैलाश जानु पर्ने, हुम्लाको बाटो जान दिन्छ कि बझाङको बाटो?’ मैले भने, ‘बझाङको बाटो त जान दिदैनन्। मानिसहरू तिब्बती क्षेत्रका स्थानीय एजेन्टमार्फत चर्को मूल्य तिरेर चोर बाटोबाट मानसरोवर गइरहेका छन् भन्ने सुनिएको छ।’

मानसरोवरबाट पवित्र जल ल्याइने हुँदा सकभर मानिसहरू छोइछाई नहोस् भनेर गाडी प्रयोग गर्न चाहदैनन्। तर त्यहाँ यस्तो किसिमको वातावरण छ कि सवारीसाधन नचढेर सुखै छैन। त्यो भीडमा शुद्धता कता हो कता टाढाको कुरा भैरहेको छ। हुम्ला तिरको बाटोका बारेमा मलाई पनि त्यति जानकारी थिएन। मैले हुम्लाको जिल्ला प्रहरी प्रमुखसंग टेलिफोनमा कुरा गरे। त्यताबाट जान पाउने अवस्थाका सम्बन्धमा बुझ्दा भीसा नदिइ जान पाउदो रहेनछ। आफ्नो देश भित्र अन्य देशको नागरिक प्रवेश गर्दा भीसाको ब्यवस्था लागू गर्नु ठिकै हो। मैले तिनलाई भने, ‘भिसा नलिई कतैबाट पनि जान दिदैन। बरु काठमान्डु आएर चिनीया दुतावासबाट भीसा लिई त्यता जानोस्।’ भारतीयहरू कैलाश मानसरोवरका लागि हुम्ला भएर आउँदा आफ्नै देशबाट भिसा लिएर आउदा रहेछन।

नेपालीहरूलाई भिसा लिनका लागि स्थानको दूरी, समय तथा आर्थिक कारणले जटिलता थपिएको छ। सीमाना जोडिएको र परम्परागत कारणले उनीहरू सजिलै त्यसतर्फ जान चाहन्छन। उनीहरुलाई यो पनि जानकारीमा छैन कि भिसा लिएर मात्र तिब्बती क्षेत्रमा प्रवेश गर्न पाईन्छ। सीमावर्ति गाउँको बासिन्दाहरूलाई अस्थायी पासको आधारमा प्रवेश दिने गरेपनि समय समयमा हुने परिवर्तनले प्रवेशमा समस्या उब्जिरहन्छ। उक्त पासले बझाङ र हुम्लाका बासिन्दालाई कैलाश मानसरोवर जान नदिई ताक्लाकोट सम्म मात्र जान दिने गरेको सुनिन्छ। सीमाना न जोडिएका जिल्लाहरूलाई त त्यही पनि सुविधा छैन। बाजुराको केही भाग पहिले बझाङमा थियो। हाल त्यसको पनि सीमाना जोडिदैन, तर धेरै जसो देवस्थलहरू बाजुरामा पनि रहेका छन्।

कैलाशलाई वैदिक ग्रन्थहरूमा मेरु भनिएको छ। हुम्ला, जुम्ला, मुगु, डोल्पाका उच्च शिखरहरू, बझाङ, बाजुरा, डोटी, अछाम बीचको खप्तड, बाजुरा र अछाम बीचको मालिका र रामारोशन, बाजुराको बुढी नन्दा पर्वत, बझाङको साईपाल श्रृंखला, सुर्मासरोवर, दार्चुलाको अपि, नाम्पाका साथै बैतडी र दार्चुलाका विभिन्न पवित्र शिखरहरू र उत्तराखण्डको पहाडी भूभाग समेत मेरु अन्तर्गत पर्दछन्।

पुराणहरूमा मेरुको क्षेत्रमा तेत्तिस ईन्द्रादी देवताहरू बसोवास गर्ने गरेको उल्लेख छ। मष्टो संस्कृति अन्तर्गतको दैवी परम्परा यसैको अभिन्न अंगको रुपमा रहेको छ। यी देवताहरूलाई पुजा गर्दा मानसरोवरको जल अनिवार्य हुनुपर्दछ। देवता औतार भएपछि धेरैजसो देवी देवताहरूको धामीहरू मानसरोवरमा नुहाएर कैलाशमा शिवको दर्शन गरेपछि मात्र असलमा र बास्तविक धामी हुन सक्छन।

नेपाल र चीन बीचको ५ अक्टोबर १९६१ मा भएको सीमा सन्धीमा त्यसअघि भएका सन्धि सम्झौताहरूका साथै परम्पराहरूको समेत अध्ययन गरिएन। उक्त सन्धीको दफा १ को १, २ र ३ ले दुई देशको सीमारेखाका यस भेगका सीमा स्थानहरू तोकेको छ। नेपालीपक्षले प्रर्याप्त अध्ययनका साथै तयारी गर्न नसक्दा साल्सुगंगा (तिब्बत कर्णाली) सम्मको नेपालको ठूलो जमिन गुमाउनु पर्यो। तत्कालिन सरकारले ध्यान न पुर्याउदा। भइसकेको सन्धिको सम्बन्धमा त यताका मानिसहरूको कुनै गुनासो हुने कुरा भएन। यसरी सन्धि गर्ने बेलामा स्थानीय रुपमा चलेका परम्परा र भूगोल समेतलाई ध्यान दिनुपर्दथ्यो।

कैलाश र मानसरोवरको आवागमन यस क्षेत्रका मानिसहरूको ब्यापारिक भन्दा पनि सांस्कृतिक जीवन पद्धतिसंग महत्वपूर्ण रुपमा जोडिएको छ। सहज आवागमनको अभावमा हाल यस क्षेत्रका यस्ता विभिन्न धार्मिक प्रक्रियाहरू रोकिएका छन्। दशां शताब्दी अगाडि एक राजनीतिक घटना भएको थियो— बझाङबाट कैलाश जाने बाटो, छोटो भएपनि अति विकट र चलनचल्तिको थिएन। यो क्षेत्र राक्षस (सम्भवतः राक्षसी प्रवुतिका मानिसहरू) को नियन्त्रणमा थियो। यताबाट हिडन चाहने यात्रीहरूको जीउ ज्यानमा क्षति हुन्थ्यो। कैलाश यात्रा गर्दा असुरक्षित तथा मानवीय क्षति हुने गरेको कुरा पश्चिमी देशका यात्रीले समेत आफ्नो अनुभव उल्लेख गरेका छन्। मानसरोवर जानु परेमा नेपाली तीर्थयात्रीले हुम्लाको बाटो प्रयोग गर्थे। जताबाट गएपनि बाटो त्यति सुरक्षित थिएन।

हालको बझाङको तत्कालिन सुनिकोट राज्यमा सारी बम्मको पालामा लाँगो देवता, भाई बाँठपाला (वेदपाठी) र आफ्ना समूहका साथ कैलाश मानसरोवर जान हिडेर सुनिकोट नजिक आइपुगे। सुनिगाडमा तर्ने साधन थिएन। लाँगो समूह वारि र सुनिकोटको दरबार नदी पारि थियो। लाँगोले सारी बम्मसँग आफ्नो समूहलाई खोलामा तुइन अथवा घाट हालेर तारिदिन अनुरोध गरी खबर पठाए। त्यसबापत आपूले पाउने प्रतिफलको बारेमा आस्वस्त भइसकेपछि राजाले नदीमा हतार हतार बाबियोको डोरीबाट तारुघाट (वारपार गर्ने ठाउँ) बनाए। देवताहरूलाई खानपिनको व्यवस्था मिलाई राम्रो स्वागत, सत्कार गरेर खुसी पारे। खानपिन पछि राज्य विस्तार गर्नुका साथै आर्थिक र राजनीतिक लाभ हुने भएकाले राजा पनि लाँगोको समूहसँगै जाने भए। देवताहरू धुली पुगेर त्यहाँको हर्ताकर्ता कुन्जरे बोहरालाई मनाएर लिएर गए। हालको तिब्बती क्षेत्र जिदैकोटमा लाँगो, सारी बम्म, कुन्जे बोहरा, सुनर्या बिष्ट, छे छे लामा र रूपा जड्यानी बसेर विभिन्न धित, धर्म बाँधी दुई पक्षका बीचमा सन्धि कायम गरे। स्वर्णपत्रमा लेखिएको उक्त सन्धि त्यसतर्फ भएको सांस्कृतिक क्रान्तिताका हराएको मानिन्छ।

नेपाली भूभाग सुनिकोटको सीमाना राक्षस तालबाट उत्पत्ति भएको तत्कालिन अवस्थाको साल्सु गंगा (तिब्बत कर्णाली) सम्म कायम भयो। हालको सिमाना उरै लेक भन्दा उता तर्फका जिदैकोट र त्यस आसपासका लोकोट, माछागाड र तलीगुम्फालगायतका चार गाउँहरू सुनिकोट अन्तर्गत गाभिए। सिर्तो (राज्य कर) का रूपमा एक भेडाबाट एक फुरु (दुई माना) र एक गोरुबाट एक कट्टो (तिनमाना) नुन, सुनिकोटले उठाउन पाउने र चार गाउँका पाठा, बाख्रा, झुमा, याक, घोडा, च्याङ्ग्रा, गाईवस्तु बझाङ सीमाना भित्र चरिचराउ गर्न दिने र साइपालको चौरमा मौसमी रुपमा बजार लगाउने अनुमति दिइयो।

कैलाश मानसरोवर जान नचाहने यात्रुहरू उरैलेक पार नगरेर आफूलाई चाहिने नून, उन त्यहीबाट किनेर फर्कन थाले। यात्रुहरू कैलाश मानसरोवर जान चाहेमा बेरोकटोक जान दिने सहमति भयो। त्यसतर्फका मानिसले निहूँ खोजेमा दैवी शक्तीको कोपभाजन हुनु पर्दथ्यो। त्यसैले देवताको डरले पनि त्यसतर्फका मानिसहरू कुनै वाधा, विरोध गर्दैनथे।

साईपाल नजिक रहेको चौराचौरमा रहेको एउटा ढुंगालाई टारे ढुंगा भनिन्छ। त्यसमा सम्झौताको रुपमा हातको बुढी औँला अटाउने खोपिल्टो (ओखल) खोपिएको थियो। त्यो ओखलमा बुकी सुन भरेर सुन्याल राजाहरूलाई बुझाउनुपर्ने भयो। त्यहाँका भन्सार प्रमुखले बुकीसुन सँगै आधा क्विन्टल नून, पाँच थान मसिना कम्बल–पाखी, पाँचथान खस्रा राडी, लिउ (उनको ओछयाउने ठुलो), फेरे (उनको ओछयाउने सानो), पाँच थान चमर, सुनिकोटको राज्य कोषमा साल बसाली दाखिला गर्ने सहमति भयो। यसका साथै राजा अथवा उनका प्रतिनिधिहरू मानसरोवर कैलाशसम्म जाँदा बाटामा पर्ने स्थानीय ब्यक्तिहरूले अवारो (सबैबाट अलिअलि जम्मा गर्ने) उठाई खुवाउनु पर्ने, चढ्नलाई घोडा दिनुपर्ने तथा भोटको नून र उन लिन जानेहरूबाट प्रति व्यक्ति एक मुठी चामल या पिठो तिब्बततिरको दोभासेलाई (बिष्ट) दिने द्विपक्षीय सम्झौता भयो।

यसरी सिर्तो (कर) बुझाउनुपर्ने चलन दशौं शताब्दीसम्म चल्यो। केही वर्षपछि सुनिकोटतर्फका मानिसहरूले लालचमा परी बुकीसुन भर्ने ओखल खोपेर ठूलो बनाए। त्यो थाहाँ पाएर उताबाट धीतधर्म तोडेको आरोपमा बुकीसुन बुझाउन बन्द भयो। अन्य सिर्तोको सम्बन्धमा सुनिकोटको राज्यहरणपछि पनि बझाङी राजाका प्रतिनिधि शासक तलकोटिहरूले पुतला भई उठाउने गरेका थिए। राजा, रजौटा उन्मुलन ऐनको कारण र नेपाल–चीन बीचको सन्धिपछि त्यताबाट सिर्तो आउन बन्द भयो। ब्रिटिश लेखक सिडनी विग्नालले आफ्नो पुस्तक ‘स्पाई औन दि रुफ आफ दि वल्र्ड’ (१९९६) मा बझाङ्गी राजकुमार ओमजंगले उक्त भूभाग आफ्नो रहेको भनी सुनाएको कुरा उल्लेख गरेका छन्।

सन्धिपछि लाँगो देवता र बाँठपाला देवता मानसरोवरमा पवित्र स्नान गर्न गए। जाँदा बाटोमा एकरात गौरीको ओढारमा बास बसेका थिए। नुहाई धुवाई पछि उनीहरू आफ्ना पिताजी शिवको दर्शन गर्न कैलाश गए। शिवको आशिर्वादबाट त्यहाँ पुर्ण रुपमा देवत्व प्राप्त गरी तिनीहरू टाँडमा आई आफ्नो प्रमुख थलो रोजेका थिए। लाँगोले बझाङतर्फको कैलाशको बाटोको जिम्मा लिए भने बाँठपालाले हुम्लाको बाटोको जिम्मा पाए।

उक्त व्यापार सम्झौतापछि सुनिकोट र तिब्बतको व्यापारको बाटो खुलेको थियो। यो बाटो पश्चिम नेपालमा भारतलाई तिब्बतसँग जोड्ने प्रमुख व्यापारिक अन्तर्राष्ट्रिय राजमार्गको रूपमा विकसित भएको थियो। हिउँद माल (तराई) तथा बर्खा भोटको कहावत अनुसार स्थानीय मानिसहरूको आवतजावतले समेत यो मार्ग अति व्यस्त थियो भन्ने देखाउछ। यो बाटो चीनको तिब्बतमा पर्ने रेशममार्गको सहायक मार्गका रूपमा समेत विकशित भएको थियो।

धुली क्षेत्रका हर्ताकर्ता धुलीका कुन्जरे बोहरा, उक्त सन्धि कार्यान्वयनमा लाँगोको मुख्य सहयोगीको रुपमा देखा परे। उनले सन्धिको लागि महत्वपुर्ण भूमिका खेलेका थिए। रुपा जडेनीको घर जिदैकोट नजिक छेटे जिउलामा थियो। उनलाई कर्णाली क्षेत्रतर्फ देवीको रुपमा पुजा गरिन्छ। केही मानिसहरूको मान्यतामा ‘लाँगो कृष्णका औतार हुन र उनले बोक्ने बाँसुरी कुष्णको हो। रुपा जडेनी, जाड (भोटे) की छोरी कुष्णकी रानीहरू मध्ये एक हुन् जो द्धापरयुगको अन्तमा मोक्ष नपाएर उद्धारको लागि लाँगोको औतार लिनुपरेको थियो।’

जिदैकोटमा लाँगो लगायत साथ जाने व्यक्तिहरूका सालिक बनाइएका छन्। सालिकमा लाँगोले हातमा त्रिशूल लिएका छन् भने दौरा जस्तो परम्परागत पोसाक झगुलो लगाएका छन्। निधारमा त्रिशूल आकारको टीका लगाएका छन्। सारी बम्मले पनि कपडाको रूपमा झगुलो लगाएर कम्मरमा पटुका बेरेका र टाउकामा पगडी बाँधेका छन्। कुन्जर्या बोहराले गलबन्दीको फेटा (पगडी) बाँधेका छन्। रूपा जडेनीले कालो फर्कबादी (गुन्य कपडा) को गुन्यू र पटुकाका साथै कपडाको डिजाइनमा घन्टीहरू झुन्ड्याइएको देखाइएको छ।

तिब्बततर्फ लाँगालाई ‘मिधुला’ भन्छन्। कैलाश क्षेत्रमै बस्ने विश्वास गरिने उनलाई लंङ्गरसाई पनि भनिन्छ। मुख्य स्थान बझाङको टाँड भएका उनी यो बाटोको रक्षकको रुपमा मानिन्छन्। यस स्थानकाबारेमा ब्रिटिश लेखक सिडनी विग्नालले आफ्नो पुस्तक ‘स्पाई औन दि रुफ आफ वल्र्ड’ (१९९६) मा ‘आफू सेतीको खाेंचमा खस्दा त्यहाँ आफू बाहेक त्यहाँ रहेका कुनै अदृश्य शक्तिले जोगाएको र आफूले दैवी शक्तीको अनुभूति गरेको’ उल्लेख गरेका छन्।

उनी अगाडि लेख्छन, ‘हामि सेती गल्छीबाट केही माइल टाढा पहाडको बीचमा भीर मुन्तिर एक माँडु (लाँगा माण्डु, टाँड) भएको ठाउँमा आइपुग्यौंँ। माथि ढुङ्गाको ठूलो पहाड भएको त्यहाँ हिन्दू देवताको थान थियो। मन्दिरमा बाटो हिड्ने मानिसहरूले देवतालाई चढाएका साना ठूला घण्टीहरू, नेपाली र भारतीय चाँदीका सिक्काहरू थिए। भक्तहरूको विश्वासमा त्यो मन्दिरमा पूजा गर्दा सेती गल्छीको अप्ठेरो बाटोमा यी देवताले रक्षा गर्दछन्। सेतीको खोंच सुरक्षित रुपमा पार गरेर आएपछि तिनीहरूले धन्यवाद स्वरुप त्यहाँ पूजा गर्ने गर्दछन्।’

‘मैले पनि त्यहाँ केही चढाउनु ठिक हुने निर्णय गरेर केही आना सिक्काहरू र कागजी नोट थानको बीच नेर ढुङ्गा मुनि लुकाएँ। देवता प्रति कुनै अपराध नगरेको विश्वासका साथ मैले एउटा सानो घण्टी र टाँगिएका चारवटा चाँदीका सिक्का आफ्नो साथमा लिएर गएँ। सम्भवतः यी देवताले हामिलाई हाम्रो घरसम्मको यात्रा सुरक्षित राख्नेछन्।’ उरै लेक पारी तिब्बती भूभागमा समेत लङगर साईको नामले उनलाई सम्मानका साथ पुजा गरिन्छ। पहिले जीउ ज्यानको खतरा हुने गरेकोमा उनको कैलाश आगमनपछि आवागमन सजिलो भएको थियो। उनको नाममा पहाडलाई साईपाल भनिन्छ।

लाँगो देवता मुख्यतः कैलाश मानसरोवर क्षेत्र मै बसोवास गर्ने गरेको विश्वास गरिन्छ। बझाङतर्फ उनको पर्व तिथी घटबढले कुनै असर नपर्ने गरी प्रत्येक असोज १४ गतेका दिन चौदशीको रुपमा मनाईन्छ। हुम्लातर्फको बाटो मुख्य स्थान टाँडमै रहेका बाँठपाला देवताले नियन्त्रण गर्ने गरेका छन्। कर्णाली क्षेत्रमा उनको बढी पुजा हुन्छ। तिब्बततर्फबाट त्यहाँका शासक, सिँजामा आक्रमण गर्न आउदा, प्रचलित मान्यताअनुसार त्यहाँका राजा आफ्ना जनता लिएर ढँडार गुहार माग्न आएका थिए। ढँडारबाट गएर मष्टो देवताले बाघको रुप लिए। मुख्य सहयोगीका रुपमा रहेका बाँठपाला देवताले आफ्नो दैवी शक्ती प्रदर्शन गर्दा तिब्बती सेनामा भागाभाग भयो। त्यस बेला तिब्बत र नेपाली भूभागको बीचमा निश्चित सीमाना तोकी भित्र प्रवेश गर्न नपाउने धीत धर्म गराई बाँठपालालाई सुरक्षाको जिम्मेवारी दिए। पछि आफ्नै कारणले पतन भएपनि सिजा (जुम्ला) साम्राज्य दैवीशक्तीको भयका कारण उत्तर तिरबाट सुरक्षित थियो।

यस क्षेत्रका मानिसहरूको कुनै राजनीतिक वा द्धिपक्षीय हितमा असर पर्ने खालको गतिविधि प्रति सरोकार रहेको छैन। उनीहरूको मुख्य माग र चाहना धार्मिक प्रयोजनको लागि कैलाश, मानसरोवरसम्म निर्वाध आवागमन गर्न पाउनु हो। यसको लागि ती मानिसहरूले पटक पटक विभिन्न तहमा आवाज उठाउदै आइरहेका छन्। कैलाश मानसरोवर सम्म सहज आवागमन हुन नसक्दा यस क्षेत्रका परम्परागत सांस्कृतिक गतिविधिमा अवरोध आएको छ। धार्मिक कार्यक्रमहरू हुन नसकेका कारण स्थानीयहरूको धार्मिक भावनामा चोट पुगेको छ। यसतर्फका विभिन्न मन्दिरहरूमा पूर्णरुपमा पुजाआजा हुन नसकी धार्मिक कार्यहरू अगाडि बढन सकेको छैन। मानसरोवरको जलको अभावमा मन्दिरमा पूजा गतिविधिहरू रोकिएका छन। केन्द्रमा हालसम्म यसको सुनुवाई र समाधान भएको छैन। यस सम्बन्धमा सहजीकरणका लागि दुई देशको बीचमा कुनै समझदारी हुनु अति आवश्यक छ।

(पूर्ब डिआइजी खड्का मष्टो संस्कृति र परम्परालगायत बिभिन्न पुस्तकका लेखक हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here