शब्द/तस्बिरः लोकेश साउद

बैतडीको पाटन सजिसजाउ छ। बिमानस्थल वरिपरी सफा र सिनित्त पारिएको छ। पाहुनाको स्वागतका लागि गेट बनाइएका छन्। परम्परागत बाजा दमाहा, झ्यालीसहित कलाकार टोली पाहुनाहरुलाई स्वागत गर्न तम्तयार छ।

मौसम सफा छ। चारै तिर हरियाली र डाडाकाडा। उपत्यका जस्तो लाग्ने पाटनले उसै पनि मन्त्रमुग्ध बनाउछ। त्यसैमा बर्षौदेखि बन्द रहेको बिमानस्थल खुल्ने आँशमा स्थानीयबासी शनिवारको बिहानीमा सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको प्रतिक्षा गरिरहेका छन्।

पाटनका फाटहरुमा धान पहेँलपुर छ। मिलाएर बनाइएका एकनासे खेतका गराहरुबाट मन्द हावा चल्दा धानको सुगन्ध नाकमा ठोकिन्छ। एकताकाको अञ्चल सदरमुकाम र राजनीतिक रुपमा अन्यत्र भन्दा सचेत स्थानीयबासी ०५१ सालपछि यो बिमानस्थलमा फेरी जहाज चल्छ कि भनेर मन्त्रीहरुलाई कुरिरहेका हुन् तिनका प्रतिबद्धता भन्दा ठोस काम होस भन्ने उनीहरुको चाहना छ। बैतडीका प्रदेश सांसद, स्थानीय तहका प्रमुख र बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु मन्त्री भट्टराईलाई कुरेर बसेपनि मन्त्री अझै आइपुगेका छैनन्।

मन्त्री तीन जिल्लाका साँसदहरुको टोली यहाँ आउने कार्यक्रम पहिल्यै तय भएको थियो। बैतडी, बझाङ र डोटीमा निर्माण भएका बिमानस्थलहरुमा मन्त्री भट्टराईसहितको टोलीले परीक्षण उडान गर्ने कार्यक्रम छ। मन्त्री भट्टराईको टोलीमा बैतडी, बझाङ र डोटीका साँसदसहित नागरिक उड्ययन प्राधिकरणका प्राविधिकसमेत छन्। धनगढीबाट बैतडी हुँदै बझाङ र डोटी जाने कार्यक्रम रहेको बैतडीका प्रतिनिधी सभा सदस्य दामोदर भण्डारीले बताए। ‘परीक्षण उडानपछि निरन्तर उडान गर्न सकिने/नसकिने कुरामा पनि अध्ययन हुन्छ,’ भण्डारीले भने।

सुदूरपश्चिमको क्षेत्रमा तराई पहाडको हवाई यात्राका लागि प्राधिकरणको टोलीले अध्ययन गर्ने र प्राविधिक दृष्टिकोणले मिलेसम्म आगामि दिनहरुमा उडानलाई निरन्तरता दिने भण्डारीको भनाई छ। पाटन बिमानस्थल गत माघ महिनामै निर्माण सम्पन्न भइसकेको छ। बिमानस्थलको धावनमार्ग निर्माण भएपनि टर्मिनल भवन र कन्ट्रोल टावरको निर्माण भने सुरु नै भएको छैन्।

पाटन बिमानस्थल बैतडीका साथै डडेल्धुरा, दार्चुला र बझाङको अधिकांश क्षेत्रका लागि समेत पायक पर्ने स्थानमा रहेकाले महत्वपूर्ण रहेको स्थानीयहरुको भनाई छ। बि.सं. २०३६ सालबाट सुरु भएको पाटन बिमानस्थल २०५१ सम्म संचालनमा थियो। त्यसपछि माओबादी द्वन्द्वका कारण हवाई सेवा बन्द भएको थियो भने बिमानस्थलमा संरचनाहरुमा तत्कालिन माओबादीले बम हानेर क्षती पुर्याएका थिए। विगत तीन बर्ष अघिदेखि पुर्ननिर्माण सुरु भएको पाटन बिमानस्थल हाल आएर कालोपत्रे भइसकेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here