बैतडीमा भित्रियो ‘फलको राजा’ किवी (फोटो फिचर)

0
बैतडीको पाटन नगरपालिका–१० का कृषक पदमराज भट्ट ।

लोकेश साउद
बैतडी- गत भदौं दोस्रो साता पदमराज भट्टको बारीमा ‘फलहरुको राजा’ किवी काँचै थियो। चाख्दा साह्रै अमिलो र टर्रो। त्यसको एक महिनापछि भने किवीको स्वाद फेरिदै गएको छ। भिटामिन सि, भिटामिन ए, फाइबर लगायत शरिरलाई आवश्यक पर्ने थुप्रै खनिज तत्वको भण्डार हो किवी। स्वास्थ्यका लागि अत्यन्तै लाभदायक फल किवीबारे धेरैलाई जानकारी छैन। यसको महत्व बुझ्नेहरुले भने बारीमा लटरम्म फलाउन सुरु गरिसकेका छन्। बारीको किवी यतिबेला स्वादिष्ट बन्ने क्रममा छ।

भट्टको बारीमा लटरम्म फलेको औषधीय गुणयुक्त किवी फल ।

पाटन नगरपालिका–१० का कृषक भट्टले तीन बर्ष अघि रोपेको किवी रसिलो बन्दै जाँदा उनको मन पनि प्रफुल्लित बन्दै गएको छ। ‘यो बर्ष किवी लटरम्मै फलेको छ,’ भट्ट भन्छन् ‘असोज तेस्रो साताबाटै पाक्न सुरु हुन्छ, कार्तिकमा बेच्ने सोच बनाएको छु।’

कृषि ज्ञान केन्द्रलाई जिल्लामा किवी खेतीबारे खासै जानकारी छैन्। पाटन नगरपालिकाको कृषि शाखाको जानकारीमा पनि पहिलोचोटी किवी खेती गर्ने कृषकमा भट्टकै नाम दर्ज भएको छ। नगरपालिकाका कृषि प्राविधिक महेश अवस्थी भन्छन्, ‘हामीले भट्टको किवी खेतीबारे अनुगमन गरेका छौ। जिल्लामै पहिलोचोटी किवी खेती सुरु भएपछि अब यसको प्रवद्र्धन र विस्तृत प्राविधिक जानकारी लिने क्रममा छौ।’

अवस्थीकै कुरामा सहमती जनाउँदै किवी खेतीको बिस्तार गर्न जनप्रतिनिधी पनि तम्सीएका छन्। पाटन नगरपालिका–१० का अध्यक्ष देबेन्द्र कुवँर भन्छन, ‘विदेशबाट फर्किएका र घरमै बेरोजगार रहेका युवाहरुले किवी खेती गर्ने प्रस्ताव ल्याए मेरो तलवबाटै भएपनि सहयोग गर्छु।’

भट्टले डडेल्धुराबाट १२ वटा बोट ल्याएर किवी खेती सुरु गरेका थिए। यतिबेला उनले एउटै बोटमा एक क्विन्टलसम्म फल्ने अनुमान गरेका छन्। करीब पाँच सय रुपैया प्रतिकिलोका दरले मूल्य बजार पाए उनले एउटै बोटबाट ५० हजारको आम्दानी गर्ने अनुमान छ।

फाइबरयुक्त किवी फलले विभिन्न रोगसँग लड्ने क्षमता बलियो हुने विज्ञहरुको भनाई छ। एउटै बोटमा क्वीन्टलका हिसाबले फल्ने किवी एकचोटी रोपेपछि बर्षौसम्म फल्ने गर्छ। फलमा प्रसस्त झुसहरु रहने भएकाले यसलाई चरा र बाँदरले समेत क्षती नपु¥याउने खेती मानिन्छ।

किवीका औषधीय गुणहरु
किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिने गरिन्छ। किवी दुई प्रकारका हुन्छन्। एउटा झुस हुने र अर्को नहुने । हावार्ड जातीको किवी विश्वभर लोकप्रिय छ। किवीमा क्यालोरिको मात्रा प्रसस्त हुन्छ। यसको नियमित सेवन गर्दा क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिन्छ। यसका साथै किवीमा औषधिजन्य गुण पनि पाइन्छ।

मुटु रोगीलाई लाभ : यसमा हुने फाइबर पोटासियमले शरीरमा सोडियमको मात्रा घटाइदिन्छ । यसले गर्दा मुटुको रोग लाग्न पाउँदैन। एक अध्ययनअनुसार जसले दैनिक चार हजार ६९ मिलिग्राम पोटासियम सेवन गर्छन्, उनीहरू आकस्मिक मुटुरोगको मृत्युबाट जोगिन्छन्।

मिर्गौलाको पत्थरी हटाउँछ : भोजनमा बढी मात्रामा पोटासियम समावेश गर्नेहरूलाई मुुटुरोगको जोखिम कम हुन्छ। यसका साथै यस फलले शरीरमा हुने विभिन्न ट्युमर उत्पत्ति हुनबाट रोकथाम गर्छ। यसका साथै हड्डीमा हुने खनिज घनत्वको समस्याबाट पनि बचाउँछ र मिर्गौलामा आउने पत्थरीलाई फुटाउँछ।

उच्च रक्तचाप घटाउँछ : यो फलमा हुने उच्च पोटासियमको मात्राले उच्च रक्तचापलाई घटाउँछ। तर यसमा रहेको सोडियमको मात्रा उच्च रक्तचापका लागि जोखिम मानिन्छ।

शरीरको घाउँलाई निर्मुल पार्छ : किवीमा भिटामिन ‘सी’ भरपूर मात्रामा पाइने हुँदा यसले एन्टी–अक्सिडेन्टको काम गर्छ। यसले हाम्रो शरीरलाई विभिन्न इन्फेक्सन हुनबाट जोगाउँछ। शरीरमा कुनै घाउ भएको छ भने यसलाई बढ्न दिँदैन र चाडो निको हुन्छ।

कोलेस्ट्रोल कन्ट्रोल गर्छ : किवीले कोलेस्ट्रोल नियन्त्रणमा अहम् भूमिका निर्वाह गर्छ। यसको नियमित सेवन गर्ने हो भने शरीरमा कोलेस्ट्रोल बढ्न पाउँदैन।

जोर्नी दुख्ने समस्या निको पार्छ : किवीमा यस्तो गुण हुन्छ जसले अर्थराइटिस (बाथरोग) भएका बिमारीहरुलाई सहज बनाउँछ। जोर्नी दुख्ने समस्या भएका व्यक्तिहरुले किवी खानु निकै फाइदाजनक मानिन्छ। यसले शरीर भित्र भएका अन्य समस्याहरुबाट हुने शारीरिक पीडा कम गराउँछ।

कब्जियत हुन दिँदैन : किवीमा फाइबरको मात्रा निकै धेरै हुन्छ। किवीको नियमित सेवनका कारण कब्जियत समस्या समाधान हुन्छ। एक अध्ययनअनुसार किवी फलमा हुने लाक्जाथिटको मात्राले कब्जियत हुन दिँदैन। नियमित यो फलको सेवन गर्नेहरूमा नरम तथा नियमित दिसा हुने गरेको पाइएको छ।

छाला स्वस्थ राख्छ : यस फलमा रहेको कोलाजिन तत्व जसमा भिटामिन सी हुन्छ। यो तत्वले घामले जलेर नष्ट भएको, प्रदूषणले बिग्रेको र चुरोटको सेवनले चाउरिएको छालालाई ताजगी प्रदान गरी सुन्दर बनाउँछ।

निन्द्राको औषधि : एसिया प्यासिफिक जर्नल अफ क्लिनिकल न्युटे«सनमा प्रकाशित एक अध्ययन प्रतिवेदनका अनुसार वृद्ध अवस्थामा निदाउने समस्या भएमा यसको सेवनले राम्रो निन्द्रा लाग्छ।

किबीमा पाइने पोषण तत्वहरूः
किवीमा प्रतिगोटा ४२ ग्राम क्यालोरी पाइने गरिन्छ भने प्रोटिनको मात्रा शुन्य दशलमलव ८ ग्राम, चिल्लोको मात्रा शुन्य दशमलव १ ग्राम र फाइबरको मात्रा १ ग्राम पाउने गरिन्छ। यस्तै, भिटामिन सीको मात्रा ३ माइक्रो ग्राम, आइरन शसुन्य दशमलव २ मिलिग्राम, फोलेटको मात्रा १७ माइक्रो ग्राम पाइन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here