सकसमा मदन पुरस्कार स्रष्टाः तैपनि हरेस खाएनन्, ह्वीलचियरमा बसेरै लेख्छन पुस्तक (फोटो फिचर)

0
मदन पुरस्कार विजेता नरबहादुर साउँद ।

कञ्चनपुर– मुल गेट बनेको बाँसको तगारो। तगारोबाट भित्र पस्दा घाँसले भरिएको आँगन। छेवैमा पुरानो घर। सेतो रङ खुइलिएर मैलो देखिने भित्ता। सुनसान वातावरण। त्यही वातावरणका बीच घरको आँगनमा ह्वीलचेयरमा एउटा हसिलो अनुहार देखियो। त्यो अनुहार थियो मदन पुरस्कार विजेता नरबहादुर साउँदको।

धेरैको जीवनमा सोचे जस्तो हुन्न। कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामका नरबहादुर साउँदको जीवनमा पनि त्यस्तै नसोचेको भयो। तर मनमा केहि गर्छु भन्ने आँट र साहस हुने हो भने जीवनमा कुनै कुराले छेक्दैन भन्ने एउटा राम्रो उदाहरण पनि हुन् नरबहादुर साउँद। शारीरिक रुपमा अपांगता भएका साँउदले दुःख र पीडाका अनेकन चट्टानहरुलाई पाँखा लगाउदै आफ्नो लेखनलाई निरन्तरता दिए। फलस्वरुप २०६६ सालमा ‘नेपालका बालीनाली र तिनको दिगो खेती’ नामक पुस्तक लेखेर मदन पुरस्कार जित्न सफल भए।

नरबहादुर साउँदको पुरानो घर ।

२०१९ सालमा जन्मिएका साउँद पढाईमा सानै देखि मेहनती र अब्बल थिए। उनले कृषि विषय लिएर आफ्नो पढाई पुरा गरे। २०३६ सालमा पहाडबाट कञ्चनपुर झरेका उनका बुवा धनबहादुर साउँदलाई छोराहरुलाई पढाएर ठूलो मान्छे बनाउने सपना थियो। उनले कञ्चनपुर बसाई सरेसँगै भीमदत्त नगरपालिका–२ उल्टाखाममा जग्गा किनेर ठूलो छोरा (नरबहादुर) को बिहे गरे र छोरालाई पढ्न काठमाडौं पठाए।

पुराना दिन सम्झिदै गर्दा बुवा धनबहादुर भावुक बने। ‘मैले त्यो बेला गर्या तीनै काम सफल भएनन्,’ उनले भने ‘मलाई भाग्यले यसैै दियो। चेला महाकाली गयाँ, बुहारी हिटिन, चेली मेरा भाग लागिन। मैले यसै दिन बिताउनुपर्र्यो।,’

ह्वीलचेयरमा साउँद ।

नरबहादुरको सपना यसरी भयो चकनाचुर
२०४६ सालमा जागिर सुरु गरे नरबहादुर साउदले। उनको एक वर्षमै सबै सपनाहरु चकनाचुर भए र कहालीलाग्दो जीवन सुरु भयो। ०४७ सालमा दुग्ध संस्थानको जागिरे हुँदा बुटवलदेखि सुर्खेत आउँदै गर्दा संस्थानको ट्यांकर बाँकेको कुसुममा दुर्घटनाग्रस्त हुँदा साउँदको मेरुदण्ड भाचियो। त्यसपछि उनको कम्मरमुनिको भाग नै चल्न छोड्यो र उनी अपाङ्ग हुन पुगे।

काँखमा सेतो लुगाको पोको भित्र साउँदले लेखेका पुस्तकहरु ।

दुर्घटनाको केही समयपछि सुख दुःखको साथी श्रीमतीले नै छोडेर माइत गइन्। आमाबुवा पनि दिनदिनै अशक्त हुदै गए। भएको एउटा भाइको पनि ह्दयघातका कारण मृत्यु भएपछि साउँदको जीवनमा पर्नु बज्रपात पर्यो। तर, जीवनदेखि हार खाएर बसेका साउँदलाई अन्ततः आफ्नो पुस्तकले मदन पुरस्कार पाएपछि लेखनमा थप प्रोत्साहन मिलेको बताउछन्।

ह्वीयचेरसँगै कोठाभित्र राखिएका उनले लेखेका पुस्तकहरु ।

साउँदका पाँच जना दाजुभाई थिए। तर, दैवले चार भाईलाई खोसेपछि बुबाको सहाराका रुपमा अहिले उनी मात्रै बाँकी छन्। यता, बुढेकासकालको सहारा छोरो नै ह्वीलचेयरमा देख्दा बुवाको मन खिन्न हुने गर्दछ।

९२ वर्षको उमेरमा पनि बारीमा घाँस काट्दै गरेका बुवा धनबहादुरलाई सयौं पीडाका चट्टान एकै पटक थिच्थे। पाँच छोरा र पाँच छोरी भएपनि तीन भाइ छोरा सानैमा बिते। भएका दुई वटा छोरामा पनि जेठो छोरो ह्वीलचेयरको सहारामा हिडिरहेका छन् भने चार भाई छोराको यसअघि नै मृत्यु भइसकेको छ। उनको पीडा असह्य छ, तर पनि मुटु माथी ढुङ्गा राखेर उनी हाँसिरहेका छन्। भाग्यलाई नै सर्वोपरी ठान्ने उनी कविताको भाकामा भन्छन् ‘भाग्यको फल भोग्दु दुनियाँ, भाग्य हो पैैले, भाग्य होइन पैले भन्या पाइने होइन कैइ चिज।’

साउँदका ९२ वर्षीय बुवा धनबहादुर । बुढेकासकालको सहारा छोरोलाई ह्वीलचेयरमा देख्दा भावुक बन्ने उनी घरि घरि मुटु माथी ढुङ्गा राखेर यसरी नै हाँसिरहन्छन।

ह्वीलचेयरमा लेखन यात्रा
नरबहादुर साउँदले लेखेका कृषि सम्बन्धी अन्य थुप्रै पुस्तकहरुमध्ये केही प्रकाशित भईसकेका छन् भने केही प्रकाशनको तयारीमा छन्। उनले ह्वीलचेयर तथा ओछ्यानमै पल्टेर आफ्ना कृति तयार पार्छन्। बिएससीसम्मको अध्ययन गरेका साउँद पछिल्लो समय संस्कृत अध्ययन गर्दैछन्। उनले संस्कृत अध्ययनका लागि केहि समयका लागि लेखन यात्रालाई विश्राम दिएपनि लेखन यात्रा भने जारी रहने बताए। ‘हिजोआज केहि लेखेको छैन,’ उनले भने, ‘अहिले संस्कृतको अध्ययन गर्दैछु। त्यो सकियो भने फेरि निरन्तरता दिन्छु। यसले लेखनलाई थप सहयोग पुग्ने विश्वास छ।’

साउँदले कोठामा राखिएको कम्प्युटर ।

दोस्रो पुस्तक ‘च्याउ खेती’ पनि बजारमा ल्याएका साउँदले नयाँ पुस्तक ‘तरकारी खेती’ लेखन जारी राखेका छन्। लेखनका माध्यमबाट सुदूरपश्चिमको भूमिलाई चिनाएका स्रष्टा मध्येमा पर्ने ओझेल परेका पात्र साउँदलाई न राज्यले थप सुविधा दिएको छ, न स्थानीय सरकारले नै उनीसित भएको ज्ञान उपयोग गर्न सकेको छ।

नेपाल कृषि प्रधान देश भएपनि कृषि कसरी गर्ने भन्ने ज्ञान नहुँदा उत्पादन हुन नसकेको उनको भनाई छ। नेपाली किसानहरुलाई खेती गर्ने तरिकाबारे सिकाउन र प्रविधिको विकास गर्न आवश्यक रहेकाले आफूले कृषिकै बारेमा किताबहरु लेखेको उनी बताउछन्। साउँदले कृषि सम्बन्धी दर्जनौ पुस्तक तयार पारेपनि उनको विद्वताको कसैले प्रयोग गर्न सकेको देखिदैन। पछिल्लो समय सरकारले नै कृषिमा जोड दिइरहेका बेला स्थानीय सरकारले कृषि सम्बन्धी नीति नियम बनाउन उनीसँग छलफल गरेको पाइएको छैन्। आफूसँग कृषि सम्बन्धी ज्ञान भएपनि त्यसलाई किताबमा लेख्नु बाहेक कसैले उपयोग नगरेको उनको गुनासो छ।

बा र बहिनीको भरमा घर
साउँदको परिवारमा अहिले ९२ वर्षीय वृद्ध बुवा, ८० नाघेकी दीर्घरोगी आमा र बहिनी छन्। उनलाई घरबाहिरको काममा वृद्ध बुवाले सहयोग गरिरहेका छन् भने घरभित्रको काममा बहिनीले हेर्छिन्। अशक्तताका बावजुत साउँदले गरेको मेहनतले सफलता पाएपछि त्यसले परिवारमा हौसला मिलेको नरबहादुरकी बहिनी जानकीको भनाई छ। ‘दाईको अवस्था यस्तो छ, आमा प्यारालाइसिस भएर पाँच वर्षदेखि थलिएकी छिन्,’ उनले भनिन् ‘सबै काम आफैले गर्नुपर्छ, साह्रै गाह्रो छ।’

नरबहादुरकी बहिनी जानकी र आमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here