महेशसिंह कठायत
भारत वर्षको प्राचीन इतिहासको मान चित्रण हालको रोहिलखण्ड (कठेर) क्षेत्र प्राचीन पञ्चाल (१२००–११००) राज्यको राजधानी थियो। महाभारतकालीन पञ्चाल राज्य राजधानीको रूपमा हालको बरेली जिल्ला अन्र्तगत अछिछतरा सहरमा रहेको पौराणिक किल्लाले यस राज्यको वैभवलाई देखाउँदछ। यस पञ्चाल राज्यको पूर्वमा कुरू राज्य, उत्तरमा हिमालय र गंगा नदी उत्पत्ति (गंगोत्री) थियो। साथै यो क्षेत्र उत्तर तथा दक्षिणतर्फ पञ्चाल राज्यमा विभाजित भएको थियो।

उत्तर पञ्चाल राज्यको राजधानी हालको बरेली जिल्ला अन्र्तगत अछिछतरा सहरमा थियो। साथै दक्षिण पञ्चाल राज्यको राजधानी हालको फारूकावाद जिल्ला अन्र्तगत कमपिल्या थियो। उत्तर र दक्षिण पञ्चाल राज्यमा सोमका र सीरिन्जया वंशका क्षत्रीय राजपूतहरूले राज्य गर्ने गर्दथे। यी कुराहरू महाभारत एवंम् पुराणहरूमा समेत उल्लेख गरेको पाईन्छ। राजा दु्रपद सोम वंशजका थिए। यिनकी छोरी द्रौपतीले पाण्डवहरूसँग विवाह गरेकी थिइन्। पाण्डवहरुको (महाभारत एवंम् पुराणहरूका अनुसार) शासकहरू (राजा) भरत वंशका थिए।

मगधका नन्द वंशले यस क्षेत्रलाई अधिन गर्नुअघि वास्तवमा पञ्चाल राज्य धेरै समयसम्म गणराज्यको रूपमा रहेको थियो। यहाँ वंशानुगत राज्य व्यवस्था थिएन। पछि मगध राज्यको वढ्दो साम्राज्यवादी शक्तिको अगाडि यो राज्य टिक्न सकेन र मगधका नन्द वंशजको राज्यकाल (सन् ४२४–३२१) मा पञ्चाल राज्य पनि मगध राज्यमा गाभिन पुग्यो । नन्द वंशजको राज्य कमजोर भएपछि ३२१–१८४ तिर पञ्चाल राज्य मौर्य वंशजको अधिनमा हुन गयो। चन्द्र गुप्त मौर्य वंशजका प्रसिद्ध राजा थिए। यसरी मौर्य वंशजको शासनकालको अन्त्यतिर यस क्षेत्रमा पुनः स–साना स्वतन्त्र राज्यहरू स्थापना हुन पुगे। यसले गर्दा पञ्चाल क्षेत्रले भारतको इतिहासमा महत्वपूर्ण स्थान लिन पुग्यो। वास्तवमा मौर्य वंशजको अन्त र गुप्त बंशको सुरूवात हुनु अगाडिको मध्य समयमा पञ्चाल क्षेत्रलाई दुई भागमा वाँडन सकिन्छ। पहिलो कुषान युग जो १५० बिसी १२५ एडीसम्म रहेको छ। दोस्रो चरणको सुरूवात कुषानहरूको अन्त पछिको समयलाई लिइन्छ। जसको अन्त्य सन् १२६–३५० एडी तिर भएको हो। त्यसपछि यो क्षेत्र गुप्त बंशजको प्रसिद्ध सम्राट समुन्द्र गुप्तको साम्राज्यमा समाहित हुन पुग्यो। गुप्त वंशको शासनकाल छैठौ शताव्दीको मध्यसम्म रहेको थियो। गुप्तवंशको अन्त्यपछि पञ्चाल राज्य माउकरिस वंशजको अधिनमा पुग्यो। यस वंशजका प्रसिद्ध राजा हर्ष थिए। राजा हर्षले सन् ६०६–६४७ सम्म राज्य गरेको देखिन्छ। यिनै राजाको राज्यकालमा चिनिया यात्री हु एन साङ सन् ६३५ मा नेपाल आएका थिए।

राजा हर्षको शासनकाल समाप्तीसँगै पञ्चाल राज्यमा ठूलो गडबडी भयो। धेरै अनिश्चितताको स्थिति रह्यो। यसको फाईदा उठाएर सन् ७२५–७५२ तिर यो राज्य कनौज राजा यशोबर्माले नियन्त्रणमा लिए। तर नवौं शताब्दीतिर यस राज्यलाई गुरजारा प्रतिहारास् वंशजहरूले आफ्नो अधिनमा लिन सफल भए। यस वंशजले दशौं शताब्दीसम्म पञ्चाल क्षेत्रमा एकछत्र राज्य गरेको पाइन्छ।

तर दशौं शताब्दीको मध्यतिर भारतमा अफगानिस्तानका मोहमद गजनिको आक्रमणको कारण गुरजारा प्रतिहारास् वंशजको राज्य सत्ता कमजोर हुन पुग्यो। विस्तारै पञ्चाल क्षेत्रको राज्यशक्ति हाल बडुवान त्यसबेलाको भोडामायुता का राष्ट्रकुटा बंशजका लखानपालाको नियन्त्रणमा रहन पुग्यो। तर यिनीहरूको अन्त्य सँगसँगै सन् ११९५ मा यिनीहरूका सामन्तको रूपमा रहेको क्षत्रीय कठेरिया राजपूतहरूले आपूmलाई स्वतन्त्र घोषणा गरी विभिन्न स–सानो राज्य स्थापना गर्न पुगे। यसरी १२औं शताब्दीको शुरु देखी नै पञ्चाल क्षेत्र (कठेर) मा कठेरिया राजपुतहरुको स्वतन्त्र राज्य स्थापना भएको पाईन्छ। कठेरिया क्षत्रीय राजपूतहरूले दिल्लीका शासकहरूसँग अविरल रूपमा ४०० वर्षसम्म लडाइँ लडिरहेका कारण भारतको इतिहासमा प्रसिद्धि कमाएको पाइन्छ। कठेरिया राजपूतहरू एउटै वंशजका नभएर विभिन्न वंशजका थिए। यिनीहरूले रोहिलखण्ड कठेरका विभिन्न स्थानहरूमा राज्य कायम गरी शासन गरेको पाइन्छ।

१२ औं शताब्दीको सुरूवाततिर दिल्ली साम्राज्यको स्थापना पूर्णरूपमा भइसकेको थियो। दिल्लीका मालुक वंशका तुर्क जातीका मुसलीम शासकले सत्ता लिईसकेका थिए। यस समयमा कठेर राज्य हाल भारतवर्ष अन्र्तगत उत्तरप्रदेश राज्यका आठ जिल्लाहरू रहेका थिए। उनीहरुले आफ्नो राज्य विस्तार गर्नका लागि पश्चिम पूर्व तिर अगाडी वढिरहेका थिए। दिल्लीको पूर्वमा अवस्थित कठेर राज्य थियो। यो क्षेत्र बाक्लो जगंलले घेरिएको हुँदा जंगली जनावरहरूको लागि राम्रो स्थान थियो। घना जंगलकै कारण दिल्ली साम्राज्यविरूद्ध लड्न स्थानीय क्षत्रीय कठेरिया राजपूतहरूको लागि पनि सजिलो थियो।

यसै कारण कठेरिया राजपूतहरूले पछी सम्म पनि लगातार ४०० वर्षसम्म दिल्लीका विदेशी शासकविरूद्ध हतियार उठाई नै रहेको इतिहासमा पाइन्छ। सर्वप्रथम यिनीहरूले माम्लुक वंशजका सुल्तान नासिर उद्धिन महोमदका विरूद्ध सन् १२५३ मा विद्रोह गरेका थिए। त्यसपछि यिनीहरूले सुल्तान नासिर उद्धिन मोहमुदका ज्वाइँ अर्थात् सुल्तान घियास उद्धिन वलवान (सन् १२६६–१८६) को विरूद्ध सन् १२६६ मा विद्रोह गरेका थिए।

कठेरिया राजपूतहरूको विद्रोहलाई समाप्त गर्नको लागि सुल्तान वलवानले यस क्षेत्रको घनाजंगल फडानी गर्न समेत लगाएका थिए। हरेक विद्रोहलाई दवाउन दिल्लीका सुल्तानहरूले निर्दयतापुर्वक सो क्षेत्रलाई आक्रमण जारी राखिरहेका थिए। तर जब दिल्लीका सुल्तानको राज्यशक्ति कमजोर हुन्थ्यो त्यसवेला क्षत्रीय कठेरिया राजपूतहरूले यस क्षेत्रको पूर्व स्वतन्त्रताको लागि विद्रोह गर्ने गरेको पाईन्छ।

त्यसै सिलसिलामा कठेरियाहरूले पुनः खिल्जी वंशजको राज्यकालमा सन् १२९० तिर जलाल उद्धिन फिरोज खिल्जी (सन् १२९०–१२९६) विरूद्ध बिद्रोह सुरू गरेका थिए। हरेक पटक कठेरियाहरूले गरेको विद्रोह दवाउन दिल्ली सुल्तानहरूलाई समस्या थियो। यस क्षेत्रमा (कठेर) लाई पूर्ण नियन्त्रणमा लिन प्रयास अविरल रूपमा भइरहन्थ्यो। तर विभिन्न कारणले गर्दा दिल्लीको सो प्रयास सफल हुन सकेको थिएन। दिल्लीमा तुगलक वंशजले राज्य सत्ता लिएपछि पुनः कठेरियाहरूले फिरोज शाह तुग्लकको सन् १३५१–१३८० राज्यकालमा सन् १३७९ मा विद्रोह गरेको देखिन्छ। भारत वर्षको इतिहासमा दिल्लीमा समय–समयमा विभिन्न वंशजका मुसलमानहरूले पनि सत्ता कब्जा गर्ने गरेको देखिन्छ। तुग्लक वंशको अन्त्यसँगै दिल्लीमा साईद वंशजले सन् १४१४–१४५१ सम्म राज्य गरेका थिए। साईद वंशजलाई हटाएर लोदी वंशजले दिल्लीमा राज्य सत्ता स्थापित गरेका थिए। लोदी वंशजका दिल्लीका प्रशिद्ध सुल्तान सिक्दर लोदी सन् १४८९–१५१७ को शासनकालमा समेत सन् १४९४ मा पुनः कठेरियाहरूले कठेरमा विद्रोह मचाउन सुरू गरेको पाईन्छ।

यसरी कठेरिया राजपूतहरूले वडो अदम्य साहसकासाथ दिल्लीको शासन सत्तामा रहेका विदेशी शासकका विरूद्ध अविरल रूपमा लडाइँ गरेको देखिन्छ। दिल्लीका लोदी वंशजलाई मध्य एसिया (हालको उजवेकिस्थान) बाट आएका मुगल वंशजका सुल्तान वावरले सन् १५२६ मा पहिलो पानीपतको लडाइँमा विजय गरेर दिल्लीको राज्य सत्तामा कब्जा जमाउन सफल भए। तर कठेरिया राजपूतहरूले आफ्ना विदेशी शासकहरू विरूद्धको लडाइँमा कुनै कमि भएन। उनीहरूले मुगल वंशज विरूद्ध पनि विद्रोहलाई कायम राखेका थिए। सोही कारण मुगलहरूले कठेर क्षेत्रलाई आफ्नो साम्राज्यमा गाभी कठेरियाहरूको राज्यको अन्त्य गर्ने प्रयास गरेका थिए। यो कार्यले मुगलवादशाह वावरका नाति अखवरको राज्यकालमा समेत निरन्तरता पाइनै रह्यो। यस क्षेत्रलाई पूर्णरूपमा नियन्त्रणमा लिन मुगल बादशाह अखवरले यस क्षेत्रमा अफगानी पठानको वस्ती विस्तार गर्ने कार्यको थालनी गर्न थाले। यसको मुख्य उद्देश्य कठेरिया राजपूतहरूलाई अधिनमा राख्नु थियो। अखवर वादशाहले गरेको कार्यलाई उनका नाति औरेगंजेव (सन् १६५८–१७०७) ले समेत व्यापक रूपमा निरन्तरता दिएको पाईन्छ।

कठेर राज्यमा वसोवास वसाल्न पठाएका अफगानिहरूलाई रोहिल्ला भनिन्थ्यो। रोहिल्लाको अर्थ पहाडको हावा हुन्छ। यसरी ४०,००० को ठूलो संख्यामा रहेका रोहिल्लाहरूको वस्ती विस्तार कठेर क्षेत्रमा मुगल सम्राट औरेङ्गजेवले धेरै छोटो समयमा नै गरेका थिए। पछि गएर रोहिल्लाहरूको ठूलो संख्यामा वृद्धि हुँदै गयो। यसरी रोहिल्लाहरूको वस्ती विस्तार औरेङ्गजेवको मृत्यु पछि पनि निरन्तर भइनै रह्यो। मुगल वादशाहहरुले रोहिल्लाहरूको यहाँ वस्ती विस्तार गर्ने प्रमुख उद्देश्य, यस स्थानमा शासन गरिरहेका कठेरिया राजपूतहरूलाई पूर्णरूपमा नियन्त्रण गर्नु थियो। किन कि कठेरिया राजपूतहरू सुरू देखि नै दिल्लीका वादशाहविरूद्ध विद्रोह गर्दै आइरहेका थिए। चार सय वर्ष लामो संघर्ष गरेर पनि कठेर क्षेत्रलाई दिल्लीका वादशाहहरूले पूर्णरूपमा नियन्त्रणमा लिन सकेका थिएनन्। रोहिल्लाहरूलाई मुख्य रूपमा मुगल सेनामा जागिर दिएको थियो। रोहिल्लाहरू राम्रा लडाकु भएका कारण यिनीहरूलाई मुगल सेनामा इज्जतदार दर्जाहरू समेत दिने प्रचलन थियो।

सन् १७३१ सम्म कठेर क्षेत्रमा वसोवास गर्ने रोहिल्लाहरूको –अफगानी) संख्या करीब १० लाखसम्म पुग्यो र यो क्षेत्र विस्तारै–विस्तारै कठेरबाट रोहिलखण्ड नामले चिनिन थाल्यो। हाल रोहिलखण्ड (कठेर) मा उत्तरप्रदेश राज्य अन्र्तगत करीव ८ वटा जिल्लाहरू पर्दछन्। हाल यसको मुख्य सहरको रूपमा वरेली रहेको छ। यसरी ऐतिहासिक पञ्चाल क्षेत्र (कठेर) मा कठेरिया राजपूतहरुले १२ औं शताब्दी शुरु देखि मुगल साम्राज्यको अन्त १८औं शताब्दी सम्म पनि विभिन्न अवस्था र हैसियतमा राज्य गरेको पाईन्छ।

बरेली शहरको बिषयमा
१२ औं शताव्दीको मध्यतिर कठेरियाहरूले आफुलाई हाल वरेली क्षेत्रमा (खवार र अनोला) मा स्थापित गरिसकेका थिए। सुरुमा उनीहरू वडुवानका राष्ट्रकुटा बंशज राजाका सामन्त थिए। राष्ट्रकुटा बंशका राजपूतहरूको पतन पछि ईसं ११९५ मा कठेरिया राजपूतहरूले आफूलाई स्वतन्त्र राजा घोषणा गरी कठेर क्षेत्रमा राज्य गर्न थाले। कठेरिया राजपूतहरू विभिन्न बंशजका थिए। मुख्यतया यस क्षेत्रमा ४ बंशजका कठेरिया राजपूतहरूले कठेर (हालको उत्तरप्रदेश राज्यका ८ जिल्लाहरू) क्षेत्रमा राज्य गरेको देखिन्छ। तिनीहरूमध्ये १० गौर, २० चौहान, ३० बाचल, ४० राथोड थिए। उनीहरूले कठेर क्षेत्रका विभिन्न स्थानमा ईसं ११९५ पछि आफ्नो राज्य कायम गरी शासन गरेको पाईन्छ।

यी चारै बंशजका कठेरिया राजपूतहरूले दिल्लीमा स्थापित मुसलमान राजाहरूसँग करीव ४०० वर्षसम्म लगातार युद्ध गरेका थिए। हालको बरेली सहरको स्थापना १५औं शताव्दीमध्येतिर भएको थियो। यसको जग्ग राजा जगत सिंह कठेरियाले वसालेका थिए। राजा जगत सिंह कठेरियाले सन् १५०० मा विभिन्न गाउँ स्थापना गरी त्यसको नाम जगतपुर दिएका थिए। हाल पनि आधुनिक बरेली सहरको पुरानो भागमा जगतपुर वस्ती रहेको छ। सन् १५३७ मा राजा जगत सिंह कठेरियाका दुई छोरा बाशुदेव र बरेलदेव कठेरियाले हालको आधुनिक वरेली सहर स्थापना गरेका हुन्। उनीहरूकै नामबाट यस सहरको नाम बास बरेली रहेको हो। कालान्तरमा गएर छोटकरीमा यो शहर बरेलीको नामले प्रसिद्ध हुन पुग्यो।

भारत वर्षमा मुसलमानहरूले कब्जा गरेपछि, यस क्षेत्रमा पनि दिल्लीका मुसलमान राजाहरूले कब्जा जमाउन सुरु गरे। दिल्ली र कठेरियाहरूबीच धेरै लामो लडाइँ चलिरहेको पाइन्छ। राजा अखवरको पालासम्म पनि यो स्थान दिल्लीको पूर्ण कब्जामा आउन सकेको थिएन। राजा अखवरको समयमा कठेरियाहरूले ठूलो विद्रोह गरेर, त्यसलाई राजा अखवरले मुगल सेनापति अलमास अलि खानद्वारा दवाउन सक्षम भए। यस लडाइँमा बाशुदेव र बलदेव कठेरियाहरू, जो त्यसवेला बरेली तथा वरपरका आसपासका स्थानका शासक थिए मारिन पुगे। अन्ततः यो क्षेत्र मुगलहरूले आफ्नो राज्य विलय गर्न सक्षम भए। तैपनि मुगलहरूले यस क्षेत्रलाई पूर्ण रुपमा कब्जा लिन सकेका थिएनन्। राजा अखवरका नाती ओरेंगजेवले यस क्षेत्रमा अफगानिस्थानको रोउ भन्ने स्थानबाट भारी संख्यामा (चालिस हजार) पठानहरूलाई यस स्थानमा वस्ती विस्तार गर्न लगाए। तिनै पठानहरूलाई मुगल सेनामा भर्ती गराएर ठूलो पदसमेत दिन थाले।

त्यसपछि विस्तारै कठेर क्षेत्र (हालको बरेली, रामपुर, मुरादावाद, वडुवान, शाहशाहापुर, पिलिभित्त आदि) अफगानिस्थानबाट आएका मुसलमानहरूको नामबाट रोहिलखण्डको रुपमा स्थापित हुन पुग्यो। यसरी अफगानवाट ल्याएका पठानहरुको कारण धेरैजसो कठेरिया राजपूतहरू भागेर कुमाउँ गढवाल तथा नेपालको पहाडी क्षेत्रमा प्रवेश गर्न वाध्य भए। केही कठेरिया राजपूतहरुले धर्म परिवर्तन गरी मुसलमान भएर त्यही स्थानमा वसोवास गरेको समेत पाईन्छ। मुसलमानहरु इसाईहरु जस्तै धर्म परिवर्तन गर्ने बिषयमा वडो ईच्छा राख्ने गर्दछन्। जसले धर्म परिवर्तन गरेर उनीहरुलाई आफ्नो समाजमा सजिलै घुलमिल गराउने चलन पनि उनीहरुमा थियो। धेरै कठेरिया राजपूतहरू अहिले पनि आफ्नो धर्म र संस्कृति कायम राखी यस क्षेत्रमा वसोवास गर्दछन्। केही कठेरिया राजपूतहरू लडाइँको शिलसिलामा तराई भावरमा रहेका आदिवासी सँग मिसिएर उनिहरुकै संस्कृति, चालचलनलाई आत्मसात गरेर रहेको समेत पाईन्छ।

रामपुर सहरको विषयमा
रामपुर दिल्ली साम्राज्यको एक भाग हुनु अगाडि यो पनि कठेर क्षेत्रमा पर्दथ्यो। यस क्षेत्रमा कठेरिया (कठेडिया) राजपुतहरूले शासन गर्ने गर्दथे। माथि उल्लेख भईसकेको छ कठेरिया राजपूतहरू ४०० वर्षसम्म अविरलरुपमा सन् १२००–१६०० सम्म दिल्लीका वादशाह र पछि मुगल सम्राटहरू सँग युद्ध लडेका थिए।

वास्तवमा रामपुर सहरको नाम राजा राम सिंह कठेरियाको नामबाट रहेको हो। पहिलेको कठेर क्षेत्र भित्र नै थियो। यस क्षेत्रमा भएको लामो र अपराजित युद्धबाट हैरान भएका मुगल सम्राटहरू यस क्षेत्रलाई पूर्णरुपमा कब्जा जमाउने हेतुले १७ आंै शताव्दीको सुरुमा अफगानिस्तानबाट भारी संख्या पठानहरुलाई यस क्षेत्रमा वसोवास गराउन प्रारम्भ गरे। यसरी विस्तारै यस क्षेत्रमा अफगानी पठानको संख्यामा ठूलो वृद्धि हुन पुग्यो। यिनीहरू प्रायः मुगल सैन्यमा काम गर्ने गर्दथे। पछि आधुनिक रामपुर राज्यको स्थापना नवाव फईज उल्ला खानले सन् १७७४ मा गरेका थिए। यसरी कठेरिया राजपूतहरूलाई यस क्षेत्रबाट अफगानी पठानहरूको सहयोगमा हटाए पछि, यस क्षेत्रमा केही समय मुगलहरूको शासनको सुरुवात भयो। यसभन्दा पहिला नबाब फैजउला खान थिए। उनले यस क्षेत्रमा करीव २० वर्षसम्म राज्य गरे। यिनै पहिला नबावले राजा राम सिंह कठेरियाको नामबाट रहेको, यस सहरको नाम फैजावाद राख्ने प्रस्ताव गरेका थिए। तर भारतवर्षमा फैजावाद नामबाट अर्को सहर भएको हुँदा यसको क्षेत्रको नाम मुस्तफावाद राखियो। तर विभिन्न ऐतिहासिक कारणले गर्दा यो सहर हालसम्म पनि राजा राम सिंह कठेरियाको नामबाट रामपुरको रुपमा नै स्थापित भएको देखिन्छ। नबाव फैजउला खानको मृत्युपछि उनका छोरा महोमद अली खान नबाव बने। तर उनी अफगान रोहिल्ला सेनाहरुद्वारा मारिए। त्यसपछि महोमद अलि खानका भाई गुलाम महोमद खान नबाव हुन पुगे। भारतवर्ष अंग्रेजहरुले कब्जा जमाएपछि यस क्षेत्रमा अन्य नवावहरूले अंग्रेजहरूको संरक्षणमा यस स्थानमा शासन गरे। सन् १९४९ मा भारत स्वतन्त्रसंग रामपुर राज्य विशाल गणतन्त्र भारतमा विलय हुन पुग्यो।

कठेर राज्य र कुमाउँ राज्यको सम्वन्धका बिषयमा
रोहिलखण्डको पुरानो नाम कठेर थियो यस विषयमा माथि उल्लेख भईसकेको छ। यस ठाउँमा पहिले घनघोर जंगल थियो। यहाँ अहिर (यादव) जातिका मानिसहरू बस्दथे। त्यसवेला हालको बरेली शहरको नाम टप्पा अहिराँ थियो। त्यहाँका मालिकहरू पनि अहिरहरू नै थिए। यिनीहरू ज्यादै बहादुर लडाकाहरू थिए। जब पश्चिमवाट आएका विदेशी शक्ति (मुसलमान) हरु भारत वर्षमा कब्जा जमाउन थाले। उनीहरूलाई दबाउन तिरहुतका राजा खड्क सिंहले राव हरि सिंहलाई कठेर क्षेत्रमा पठाए। राजा खड्क सिंह कठेर जातिका थिए।

उनीहरूको वंशजको नामबाट नै यस स्थानलाई कठेर या कठैड भनिएको हो। तर पछि रोहिल्लाहरूले यस राज्यलाई कब्जा गरेपछि मात्र रोहिलखण्ड भन्न थालिएको हो। यस बिषयमा कठेर क्षेत्रको प्राचिन इतिहाँसमा उल्लेख भईसकेको छ।
कठेरहरूमध्ये केही मानिसहरू पुवायाँ, खरल काठ वा गोलामा बस्न थाले। पहिले हाल उत्तर प्रदेशको शाहजहाँपुरको पुरानो नाम काठ वा गोला थियो। पछि मुगल बादशाह शाहजहाँको नामबाट शाहजहाँपुर भनिन थाल्यो। केही कठेरका मानिसहरू चौपलामा बस्न थाले, जो मुगल बादशाह शाहजहाँको छोरा मुरादको नामबाट मुरादावादको नामले चिनिन्छ। हाल भनिने गरिएको कठघर त्यो कठेरकै दोस्रो नाम हो। यहाँको राजा नरपति सिंह कठेरिया थिए। उनी कठेरिया वंशजका राजपूत थिए। कठेरिया राजाका दुई भाई बाशुदेव कठेरिया र वरलदेव कठेरियाहरूको संयुक्त नामबाट बाँसवरेली अर्थात् हालको बरेली सहर तथा बरेली जिल्ला स्थापना भएको हो। यस बिषयमा माथि उल्लेख भईसकेको छ।

कठेरिया राजा खड्गुले सन् १३८० मा वढायूँको नाबाव सैयद मुहम्मददिनलाई मारेका थिए। त्यसपछि यसको वदला लिन सुल्तान फिरोज शाह तुगलकको आक्रमणपछि राजा खड्गु भागेर उत्तर पूर्वको तराईतिर लागे। त्यहाँ राजा खड्गुलाई कुमाउँका महरहरूले सहायता दिएका थिए। त्यसैगरी सन् १४१८ मा सुल्तान खिज्रखाँले राजा हरि सिंह कठेरियालाई हराएर रामगंगा पारी कुमाउँ तर्फ भगाइदिए। तर सुल्तान खिज्रखाँ पहाडतिर जान आँट नगरी फर्किए। अब आफ्नो राज्यमा मुसलमानहरूद्वारा सताएपछि कठेरिया राजपूतहरूले तराई (पहाड फेदी वा भित्री मधेश) मा शरण लिन थाले। त्यहाँ आफ्नो कब्जा जमाउन सुरू गरे। सन् १४७६ मा कुमाउँका राजा गरूड ज्ञानचन्द दिल्ली दरवारमा गए तराई प्रान्त (भाब्बर) कुमाउँ राज्यको भएको हुँदा त्यहाँ आफ्नो अधिकार हुनुपर्ने दावीसमेत गरियो। दिल्ली सुल्तानले उनको ठूलो सम्मान गरे र गंगासम्मको प्रान्त कुमाउँ राजालाई दिए। केही समयपछि पुनः संवलका नवावले कुमाउँ राज्यको तराई भूभाग (भाब्बर) प्रदेशमा आक्रमण गरी कब्जा जमाए। तत्कालिन कठेरिया वंशजका कुमाउँ राज्यका सेनापति निलु कठायतले नेतृत्व गरेको सेनाले ठूलो युद्ध गरी मुसलमानहरूलाई त्यहाँबाट हटाए। यसबाट निलु कठायतको कुमाउँ राज्यमा ठूलो सम्मान गरियो। त्यसवेला कुमाउँमा चन्द बंशजका राजाहरुले राज्य गर्दथे। उनीहरुको राजधानी चम्पावत थियो।

कुमाउँ चम्पावतका पाचौं राजा कीर्तिचन्दले सन् १४८९ मा काशिपुर परगनस्थित जशपुरमा एउटा किल्ला बनाए। त्यसको नाम कीर्तिपुर राखे। सन् १५६८ मा काठ र गोलाका (शाहजहाँपुर) नावव हुसैनखाँ टुकडियाँले पुनः कुमाउँ राज्यको तराई भावरमा कब्जा गरे। तर उनी पहाडतिर कब्जा गर्न ईच्छुक भएनन्। त्यसवेला कुमाउँका राजा नै धनी राजाहरूमध्ये गनिन्थे। उनीहरूको राज्य विस्तार तिव्वतदेखि लिएर संवलसम्म भएको पाईन्छ।

यो कुरा फरिस्ता नामक मुसलमान इतिहासमा लेखिएको छ। मुसलमान इतिहासकारहरूले तराई भावरलाई दामन–कोहू या दामन–ए–कोहूको नामले संवोधित गरेको पाइन्छ। एकपटक बादशाह अकवरको सेनापति सुल्तान इब्राहिम समेतले पनि यस क्षेत्रमा कब्जा जमाएका थिए।

कुमाउँ चम्पावतका राजा रूद्रचन्द (सन् १५६८–१५९७) ले पर्वतीय (पहाडी)सेनालाई जम्मा गरेर तराईबाट मुसलमानहरूलाई हटाएका थिए। सन् १५८८ मा उनी अकवर वादशाह कहाँ गएर तराईको बारेमा सिकायत समेत गरेका थिए। यिनै राजाले नागौरको लडाइमा बहादुरी देखाएका थिए। जसमा कुमाउँका सेनाले विजयश्री प्राप्त गरेको थियो। जसले गर्दा वादशाह अकवरले फेरि तराई भावरको भू–भाग कुमाउँका राजालाई दिएका थिए। यिनै राजा रूद्रचन्दले तराई भावरको प्रबन्ध राम्रोसँग गरेर सन् १६०० मा रूद्रपुर नगरको स्थापना गरेका थिए। रुद्र चन्द पछि राजा बाजबहादुर चन्दको समयमा तराई भावर क्षेत्र ज्यादै राम्रो आवाद थियो।

उनले हरेक वर्ष करिव ९ लाख रूपैयाँ करको रूपमा असुल गर्ने गरेको पाईन्छ। सन् १६५१–५२ मा कठेरिया राजपूतहरूले तराईका गाउँहरू कब्जामा लिए। सन् १६५४ मा कुमाउ (चम्पावत) राजा बाज बहादुर चन्द दिल्लीमा बादशाह कहाँ गए। सन् १६५४–५५ मा उनलाई गढवालको लडाँइको लागि उनले सेना पठाइएको थियो। यसै लडाँइमा उनले देखाएको बहादुरीको कारण उनलाई बहादुरू तथा महाराजाधिराजको पदवी मिल्यो। उनलाई चौरासी माल (तराई) को जमिदारी समेत प्राप्त भयो।

कुमाउका राजालाई तराईमा जमिन्दार भनिन्थ्यो। तर कुमाउँमा उनी राजा नै रहेको पाईन्छ। वास्तवमा त्यसबेला प्राय राजा महाराजाहरुलाई जमिन्दार (सामन्त) नै भन्ने गरिन्थ्यो। राजा बाज बहादुर चन्दले दिल्लीको वादशाहको सहायता लिएर कठेरियालाई तराईबाट हटाएर पुनःआफ्नो अधिकार जमाएको पाईन्छ। साथै उनले तराईमा बाजपुर नामक नगर बसाएका थिए, जो अहिलेसम्म पनि भारत उत्तराखण्ड राज्यमा विद्यमान छ।

कठेर, कुमाउँ र डोटी राज्यहरुको सम्वन्धका बिषयमा
१२–१८औं शताव्दीसम्म कुमाउँमा चन्द वंशजले केही समय डोटी राज्यको करद सामन्त तथा स्वतन्त्र राजाको रूपमा राज्य गरेका थिए। कुमाउँका राजा भारती चन्दको समयमा काली कुमाउँ –चम्पावत) का चन्द राजाहरू डोटीका रैका राजाहरूका करद सामन्त थिए। उनीहरू कर बुझाएर शासन गर्ने राजाका रूपमा परिचित थिए। राजा भारती चन्द राजा भएपछि डोटीलाई कर तिर्न बन्द गरी दिए। फलस्वरुप डोटी र कुमाउँका राजाहरूवीच युद्ध हुने निश्चित भयो। राजा भारती चन्दले कुमाउँको बिशाल सेना लिएर काली (महाकाली) नदीको किनारमा वाली–चौकल भन्ने स्थानमा डेरा बनाएर राखी दिए। कुमाउँका सेनाहरू डोटी राज्यको विभिन्न स्थानहरूमा लुटपाट सुरू गर्न थाले। यसरी डोटीका राजाले पनि प्रतिआक्रमण शुरु गरे। १२ वर्षसम्म कुमाउँ र डोटीको बीचमा लडाइँ भयो। त्यति लामो समयसम्म लडाइँ भएको डोटी र कुमाउँ इतिहासमा पहिलो थियो।

१२ वर्षसम्म आफ्नो बुवा भारती चन्द लडाइँमा संलग्न रहेको देखेर उनका वीर पुत्र कुरत्न चन्दले कठेरका कठेरिया राजाहरूको सहायताबाट थप सेना जम्मा गरेर आफ्नो बुवालाई सहयोग पुर््याए।

यस लडाइँमा डोटीका रैका राजा कल्याण मल्लको हार भयो। उनीहरू मैदान छोडेर भागे। यसरी कुमाउँ राज्य डोटी राज्यबाट स्वतन्त्र हुन पुग्यो। राजा भारती चन्दको सुयोग्य पुत्र रत्न चन्द आफ्ना पिता जीवीत छँदै राजा हुन पुगे। राजा रत्न चन्दको समयमा कुमाउँ राज्यको प्रभाव निकै वढ्यो। कठेर (रोहिलखण्ड) का कठेरिया राजाहरूसित पनि राम्रो मैत्री सम्वन्ध हुन पुग्यो।

राजा रत्न चन्दको मृत्यु पछि उनका छोरा वाज बहादुर चन्द राजा भए। विसं १६९५–१७३५ सम्म बाजबहादुर चन्द राजा हुँदा दिल्लीमा मुगल सम्राट शाहजहाँ थिए। उनको मृत्युपछि औरजेव सम्राट बने। त्यसले राजा बाजबहादुर चन्द दुवै मुगल सम्राटको समय कुमाउँका राजा थिए। त्यस वखत पहाड भन्दा तराईतिर बस्ती विस्तार भइरहेको थियो। तराईमा आम्दानी पनि पहाडमा भन्दा धेरै थियो। त्यसैले कठेरिया राजाहरूले कुमाउँको तराईलाई कब्जा गर्न थाले। यो कुरा राजा बाज बहादुर चन्दलाई चित्त वुझेको थिएन। बितेका २० वर्षमा कुमाउँको शासन व्यवस्था कमजोर थियो। त्यसैले कठेरिया राजाहरूलाई कुमाउँको तराई भूमि कब्जा गर्न सजिलो भएको हुनुपर्दछ।

राजा बाजबहादुर चन्दले यसको लागि मुगल सम्राटबाट सहयोग लिने इच्छा गरी दिल्ली शाहजाहँको दरवारमा विन्ती गर्न पुगे। शाहजाहँले गढवालको विरूद्ध हुन लागेको लडाइँमा भाग लिन बाजबहादुर चन्दलाई निम्ता दिए। यस लडाइँमा कुमाउँ सेना तथा स्वयम राजा बाजबहादुर चन्दले ठूलो बहादुरीकासाथ लडेर विजय हासिल गर्न समर्थ भए। उनको बहादुरीबाट मुगल बादशाह शाहाजहाँ खुसी भएर उनलाई बहादुरू पदवी समेत प्रदान गरे। तर राजा बाज बहादुर चन्द यस पदबाट सन्तुष्ट हुनेवाला थिएनन्। उनले वादशाँहसँग मुरादावाद सुवेदार रूस्तम खाँको सहयोग प्राप्तीको लागि विन्ती समेत जाहेर गरे ताकी तराईबाट सबै कठेरिया राजाको अधिपत्य समाप्त गर्नुपर्ने थियो। शाहजाँहले उनको ईच्छा अनुसारको आदेश उपलब्ध गराए किनकि कठेरिया दिल्ली वादशाहँहरूको सदैव दुश्मनी रही आएको थियो र राजा बाजबहादुर चन्द पुन तराई भावर कुमाउँमा मिलाउन सफल भए। त्यहाँ वाजपुर नामक सहर पनि बसाले। हाल यो सहर भारतको उत्तराखण्ड राज्य अन्र्तगत उद्यमसिंह जिल्लामा पर्दछ।

कुमाउँ राज्यमा विसं १७८३ तिर राजा देवी चन्दलाई मारेर विष्टहरू (मन्त्रीहरू) ले सबै अधिकार आफ्नो हातमा लिन पुगे। देवी चन्द निसन्तान थिए। अब उनीहरू राजा बनाउनको लागि चन्दहरूको रौतेला (राजकुमार) खोज्न थाले उसलाई नाम मात्रको राजा स्थापना गरी आफूले राज्य संचालन गर्ने उद्देश्य उनिहरुको थियो।
दरवारमा पञ्चायत वसालियो र पञ्चहरूको रायअनुसार कुमाउँमा चन्द वंशमा राजा हुन लायक कोही नभएको निक्र्योल निकालियो। कठेड वा कठेर हाल रोहिलखण्डस्थित पिपलीका राजा नरपति सिंह कठेडियाले राजा ज्ञान चन्दकी छोरीसँग विवाह गरेका थिए। राजा नरपति सिंह कठेडियाका छोरा चन्दका भान्जा पर्दथे। उनैलाई राजा बनाउने उद्देश्यले मागेर कुमाउँ ल्याइयो।

यसरी अजित सिंह कठेडियालाई अजित चन्दको नामबाट कुमाउँमा राजा बनाए। अजित सिंह कठेडियालाई राजा बनाए पनि राज्यको सम्पूर्ण अधिकार पुरनमल तथा उनका वुवा मानिक चन्द गैडा विष्टको हातमा थियो। उनीहरूले कुमाउँमा अन्याय पुर्वक राज्य गरेको पाइन्छ। त्यसले यस समयलाई गैडागर्दीको नामले लिने गरिन्छ। राजा अजित चन्दलाई सानै उमेरमा राजा बनाइएको थियो। यिनको वर्तवन्ध अल्मोढामा विसं १७८३ मा गरिएको थियो। उनको वर्तवन्धमा निम्नलिखित कठेडिया राजा तथा राजकुमारहरू अल्मोडा आएका थिए। कठेडमा राजकुमारहरूलाई बेटा भनिन्थ्यो।

कठेडियाहरू पिपली, फरिदनगर र ठाकुरद्वारावालाहरू संग चन्द राजाहरूको नातागोता रही आएको थियो। छोराहरूलाई बेटा यानी राजकुमार भनिन्थ्यो। व्रतवन्ध पछि राजा अजित चन्द (कठेडिया) को राज्यभिषेक भएको पाईन्छ। मितिले यी दुबै उत्सव सँगसँगै भएको पाईन्छ।

माथि उल्लेख भइसकेको छ, अजित चन्द (कठेरिया) नाम मात्रका राजा थिए। जव पिपलीबाट ल्याईएका थिए तब उनी उमेरका हिसावले ज्यादै साना थिए। यिनले जम्मा दुई वर्ष मात्र राज्य गर्ने अवसर पाए। अन्य दरवारियाहरूले विष्टहरूको अन्यायको कहानी राजालाई वताउन थाले। यसबाट राजा विष्टहरूप्रति रूष्ठ हुन थाले।

यो कुरा थाहा पाएर विष्टहरूले राजालाई मार्ने उपाय खोज्न थाले। एक दिन बाबु छोरा पुरन मल्ल र मनिक चन्द विष्ट मिलेर अजित चन्दको हत्या गरी छाडे। यसरी विसं १७८५ मा राजा अजित चन्दको हत्या गरियो। तर राज्यमा बिमारबाट उनको मृत्यु भएको हल्ला फैलाए। अजित चन्दको मृत्यु पछि फेरि कुमाउँको राजगद्धी खाली हुन पुग्यो। पुनः कुमैयाँहरू पिपली गएर राजा नरपति सिंह कठेरियासंग दोस्रो राजकुमार माग्न पुगे। तर राजा नरपति सिंह कठेरियालाई थाहा भइसकेको थियो कि आफ्नो छोरा अजित चन्द (कठेरिया) को मृत्यु बिमारीबाट नभई षडयन्त्रबाट मारिएका थिए। त्यसैले दोस्रो पुत्र दिन अस्वीकार गरिदिए। केही उपाय नभएपछि पुरन मल्ल विष्ट ठूलो निराश भएर पिपलीबाट फर्किए।

नयाँ राजा खोज्ने क्रममा चन्द वंशका डोटी राज्यमा गएर बसेका कल्याण चन्द नामक साधारण व्यक्तिलाई ल्याएर विसं १७८६ मा राजा बनाए। पुरन मल्ल र उनका पिता मनिक चन्द गैडा विष्टहरूको अत्याचारका विषयमा राजालाई थाहा भयो। जो गैडागर्दीको नामले कुमाउँमा प्रसिद्ध थिए। यी दुवै विष्टहरू मिलेर निर्दयतापुर्वक राजा देवी चन्द र अजित चन्द (कठेरिया) लाई मारेका थिए।

राजा कल्याण चन्दले यिनीहरूलाई दरबारमा बोलाएर मार्ने हुकुम दिए। यसरी अत्याचारी विष्टहरूको अन्त्य गरियो। यसपछि राजा कल्याण चन्दले सबै ध्यान राजकाजतिर लगाउन थाले। राजा कल्याण चन्द गरीव अवस्थाबाट प्रचुर सम्पत्ति तथा राज्यका मालिक भएका थिए। विष्टहरूलाई मारेर उनको घमण्ड पनि चढिसकेको थियो। भविष्यमा आफ्नो गद्धीमाथि कुनै किसिमको खतरा नआओस् भन्ने उद्देश्यले कुमाउँ राज्य भरी दानपुरदेखि कोटासम्म र पालीदेखि काली कुमाउँसम्म जति पनि चन्द वंशका मानिसहरू थिए सबै मार्ने र देश निकाला गर्ने कार्य गर्न थाले।

यसै समयमा धेरै चन्दहरू जीउधनको सुरक्षा गर्न काली पूर्व डोटी राज्यका विभिन्न स्थानमा फैलिन पुगे (हाल नेपालको दार्चुला, बैतडी, डडेलधुरा तथा डोटी जिल्ला)। देशभरि हाहाकार मच्चियो।

विसं १७८६ मा फरिदनगरका राजा माधोसिंह कठेडियासँग राजा कल्याण चन्दकी छोरी ललीको विवाह भयो। यसैगरी विसं १७८८ मा अर्की राजकुमारी (लली) को विवाह अर्का कठेडिया राजा तेज सिंह कठेडियासँग ठूलो धुमधामसँग भएको थियो। उक्त विवाह समारोहमा भाग लिनका लागी विभिन्न कठेरिया राजाहरू अल्मोडा (कुमाउँ) आएका थिए।

कठेडिया राजपूतहरू चन्द राजाको दरवारमा विवाह आदि उत्सवमा आउँथे। उनीहरूलाई उपहारको रूपमा ज्वाहारत आदिको रूपमा नगद रूपैयाँ दिइन्थ्यो। जब कठेडिया राजपूतहरू खाना खान आउथे तब उनीहरूलाई बस्नको लागि चाँदीको चौका (पिड्का), चाँदीका थाल, गडवा (करूवा), रेशमीको धोती, दशाल आदि दिने गरिन्थ्यो। यो सबै ज्वाइँ तथा सम्धीको दस्तुरको रूपमा जारी गरिन्थ्यो।

विसं १५९९–१६०८ सम्म कल्याण चन्द (द्धितीय) कुमाउँका राजा भए। राजा ज्ञान चन्दको समयमा विसं १८०१ मा श्री भागकुवारी –लली) राजकुमारीको विवाह राजा महेन्द्र सिंह कठेडियाको छोरा कु. जोहार सिंह कठेडियासँग भएको थियो। बरातीहरू अल्मोडामा धुमधामसँग पुगेका थिए।

विसं १८००–१८०१ मा रामपुरका नवाव (रोहिल्ला) अलिमहम्मद खाँ आफ्ना तीनजना बहादुर सरदार हाफिज रहमत खाँ, पैदाखाँ तथा वक्सी सरदार खाँ सहित १० हजार सेना लिएर कुमाउँमाथि आक्रमण गर्न गए। यसवेला राजा कल्याण चन्दको स्थिति नाजुक थियो। आवले र अवध नबाब पनि कुमाउँ राज्यका दुश्मन थिए। डोटीका राजा पनि आफ्नो देशको एकजना साधारण मान्छे कल्याण चन्दलाई कुमाउँको राजा बनाएकोमा मनमनै ज्यादै रिसाएका थिए। यसैबीच रोहिल्लाहरू आक्रमण गर्न आए। रोहिल्ला मुसलमानहरूको उद्देश्य सुनिश्चित थियो। यिनीहरूले कुमाउँको राजधानी अलमोडामा आएर सबै मन्दिरहरू तहसनहस पारे। मूर्तिहरू फुटालिदिए र गाई काटेर रगत मन्दिरमा छड्किन थाल्यो। सबै बहुमूल्य धातुका मूर्तिहरू, कलश र वर्तनहरूलाई पगालेर लिएर गए। राज्यको चारैतिर लुटपाट मच्चाए।

मानिसहरू घर छोडेर जंगलतिर भागे। राज्यमा ठूलो दुःख र आपत्ति आईपर्यो। सरदार रहमतखाँको यस विजयबाट नवाव अलिमहम्मद खाँ ज्यादै खुसी भए। उनले कुमाउँका सबै बहुमूल्य कुराहरू नवाब कहाँ उपहार पठाए। रोहिल्लाहरूले राजमहलका सम्पूर्ण कागजपत्रहरू जलाईदिए। आखिरमा गढवालका राजा, कुमाउँका राजा र रोहिल्ला बीचमा सम्झौता गरियो। सो सम्झौता अनुसार वार्षिक रू ६,००० तिर्ने शर्तमा रोहिल्लाहरू केही फौज छोडी घर फर्किए। तर रामपुरका नवाव कुमाउँ राज्यलाई छोड्न चाँहदैनथे। उनी सधैंका लागि कुमाउँ राज्यलाई रोहिलखण्डमा गाभ्न चाहान्थे। गढवालमा भागेका राजा कल्याण चन्द अलमोडा फर्किए। दुबै राजाहरूबीच धर्मपत्र भयो। राजा कल्याण चन्दको पनि होस् फर्कियो । रोहिल्लाले तहसनहस गरेका दरवार तथा मन्दिरहरू मर्मत गर्न लगाए। तर विसं १८०२ मा फेरि कुमाउँमा रहेको रोहिल्ला सेनाले नजिवखाँको नेतृत्वमा आक्रमण सुरू गर्न थाल्यो। रामपुरका नवाबको उद्देश्य थियो कुमाउँलाई सदाको लागि आफ्नो राज्यमा मिलाउने। राजाले श्री शिवदेव जैसीलाई बोलाएर धन र सेनाको नेतृत्व सौपिदिए। यसपाली पहाडी सेनाले बहादुरीकासाथ लडेर रोहिल्ला सेनाहरू भगाए। रोहिल्लाहरूको सेनाले ठूलो हार झेल्नु पर्यो।

रोहिल्लाहरूले कुमाउँमा मात्र नभएर कठेडिया राजाहरूको राज्य कठे (कठेड)मा पनि ठूलो तवाही मचाएका थिए। यो कुरा दिल्लीमा वादशाह समक्ष खवर पुग्यो। यता राजा कल्याण चन्दले पनि आफ्नो राजदूत (वकिल) पं. शिवराम पाण्डेलाई वादशाह महम्मद शाह कहाँ पठाए। सबै कुरा सुनेपछि वादशाह महम्मद शाह आफै सेना लिएर रोहिल्लाहरू (अफगानीहरू) लाई हिन्दुस्तानबाट निकाल्ने उद्देश्य लिएर आक्रमण गर्न आए। बादशाहलाई यस लडाईमा कैमरीदेखि फरिदनगरका कठेडिया राजपूतहरूले पनि ठूलो सहयोग प्रदान गरे। अन्तमा नवाव अहिम्मद खाँ सहित पैदे खाँ, दुदे खाँ, फतह खाँ तथा जय सिराय आदि पक्रिएर देश निकाला गरिए। यस विजय पछि कठेडका राजा र ठाकुरहरूले पनि आफ्नो राज्य फिर्ता पाए। क्रमशः

(लेखक नेपाल प्रहरीका पूर्ब डिआइजी हुन्)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here