डम्मर गिरी, कैलाली–चुरे पर्वतको फेदमा अवस्थित छ गोदावरी धाम। यो सुदूरपश्चिम क्षेत्रकै प्रमुख धार्मिक तीर्थस्थल मध्ये एक मानिन्छ। यही पवित्र देवभूमीको प्रवेशद्धारको कुम्भमेला क्षेत्रमा कैवल्यनाथ मन्दिरको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ।

कैवल्यनाथ मुक्तिको क्षेत्र भएकाले देवता र पितृको धामका रुपमा लिने गरिन्छ। साहित्यकार पदमराज जोशी ‘प्रभात’ का अनुसार कैवल्यनाथ भन्ने वितिकै मुक्तिको अन्तिम घडी भन्ने बुझिन्छ। ‘त्यहाँ पुगेपछि मुक्ति पाइन्छ भन्ने मान्यता छ,’ उनले भने,–‘कैवल्यनाथको मन्दिर अहिलेसम्म गोदावरी धाम बाहेक अन्यत्र छैन। त्यसैले पनि गोदावरी क्षेत्रको महत्व बढेको छ।’

मन्दिरमा शिवको सहश्रलिंङ्ग राखिनेछ। त्यहाँ भित्र एउटा सालिग्राम राख्ने योजना रहेको छ। कैवल्यनाथ मन्दिरकै माध्यमबाट गोदावारी क्षेत्रलाई वैदिक धर्म संस्कृतिको एउटा महत्वपूर्ण केन्द्रको रुपमा स्थापित गर्ने तर्फ स्थानीयबासिन्दाले समेत सहयोग गरेको साहित्यकार जोशीको भनाई छ।

कैवल्यनाथ मन्दिर परिसरमा १००८ शिवलिंङ्ग स्थापनाको तयारी भईरहेको हो। कैवल्यनाथको प्रकृतिसँग मिल्दोजुल्दो प्रतिक स्थापना गर्ने योजना रहेको गोदावरी धाम विकास समितिले जनाएको छ। अहिले त्यसका बारेमा पशुपतिनाथ, केदारनाथलगायत पबित्र धार्मिक धरोहरका विज्ञहरुसँग राय सल्लाह लिने कार्य भईरहेको छ।

शिव लिङ्गको प्रतिकका लागि ४०/५० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ। पारो र स्पटिक जस्ता बहुमूल्य समाग्रीबाट शिवलिंग बन्ने छ। जुन ३ फिट अग्लो राख्दा कम्तिमा ५० लाख रुपैया लाग्ने बताइएको छ। १००८ शिवलिंङ्ग स्थापनाका लागि वेदी तयार भइसकेको साहित्यकार जोशी बताउँछन्।

गोदावरी धाममै शहरी विकास मन्त्रालयले गुरुयोजना अन्तर्गत धार्मिक पर्यटन प्रवद्र्धन गर्न केही संरचना बनाउदैछ। निर्माणका लागि गोदावरी धाम विकास समितिले २० प्रतिशत र सरकारका तर्फबाट ८० प्रतिशत लगानी गर्ने जनाएको छ। धाममा अहिले वेद विद्या, वटुक पनि रहेका छन्। शिवलिंङ्ग सरकारका तर्फबाट नभएर १००८ वटा प्रत्येक व्यक्तिमार्फत राखिने छ। जसका लागि समितिले ११ हजार १ सय ११ रुपैयाँ तोकेको छ। मन्दिरमा राखिने शिलापत्रमा आफ्नो नाम र ठेगाना उल्लेख गर्न सकिने छ।

अहिले कोरोनाका कारण काम रोकिएपनि एक वर्षमा स्थापना गरिसक्ने योजना रहेको छ। गोदावरी धाम एउटा देव भूमी पनि हो। गोदावरी धामलाई केन्द्रविन्दु बनाएर डोटीको शैलेश्वरी, बाजुराको बडीमालिका, बैतडीको त्रिपुरासुन्दरी लगायत दिव्यधामसँग जोड्न गोदावरी नगरपालिकाले पनि काम गरिरहेको छ।

गोदावरी धाममा ढेड वर्षपछि अर्ध कुम्भ मेला समेत लाग्दैछ। स्कन्द पुराणको मानसखण्डमा फलादीपर्वत उपख्यानमा गोदावरीका बिषयमा लेखिएको छ। फलादी पर्वत भनेको गोदावरी नजिकै पर्ने फल्टुणे क्षेत्र हो। पहिले यस क्षेत्रलाई फलादी पर्वत भनिन्थ्यो, पछि आएर फलादरी शब्द अपभ्रंश भएर फल्टुणे भएको स्थानीय बताउँछन्।

गोदावरी क्षेत्रमा दुई नदी छन्। एक नदी गाईका मुखबाट जो आँसुका रूपमा बाहिर आयो। सतीदेवीका मायाले आएका आँसुबाट त्यो नदीको उत्पत्ति भयो। दोस्रो नदी सतीदेवीलाई सम्झेका बेला गाईका थुनबाट बगेको दुधको धाराबाट उत्पत्ति भयो। यसरी उत्पन्न भएका यी दुई नदी मध्ये एकको नाम रौप्या र दोस्रोलाई स्वर्णा भनेर पुराणमा लेखिएको छ। पछि सोहि स्थानमा भगवान श्रीकृष्णले रौप्या र स्वर्णाको संगममा स्नान गरेर त्यहाँ रहेको स्वर्णा देबीको पूजा गरी कलिनिको दर्शन गरेको कुरा पुराणको मानसखण्डमा उल्लेख छ।

तिनै भगवान श्रीकृष्णले त्यहाँ रहेका सिद्दीकी मौलाई गोदावरीका बिषयमा सोधेपछि सिद्दीकी मौले माथिको चट्टानमा एक ठुलो गुफा रहेको र भगवान शिव आएर त्यहाँ ताण्डब नृत्य गरेको कुरा सुनायो। गोदावरी नदीमा स्नान गरेर भगवान शिवको दर्शन गरेपछि त्यो साधक पनि ताण्डब नृत्य गर्नमा निपुर्ण भएको इतिहास गोदारीसँग रहेको सनातन धर्मसंस्कृतिका जानकार कृपा उपाध्याय बताउँछन्। यहाँ शिव मन्दिर, गोदावरी भगवतीको मन्दिर, हनुमानको मुर्ति (४३ फीट अग्लो) तथा अन्य देवी, देवताका मुर्ति र मन्दिरहरु पनि छन्। प्रत्येक वर्ष मकर संक्रान्तिका दिन गोदावरीमा मेला लाग्ने गर्छ। मेलामा स्वदेश तथा भारतबाट ठुलो संख्यामा भक्तजनहरूको उपस्थिति रहन्छ। यस मेलामा बिबाह, ब्रतबन्ध, मीत लगाउने लगायत अन्य धार्मिक कार्यहरु पनि गरिन्छन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here