जो भोको पेटमा सपनाको भारी बोकेर हिडेकी छन् [ भिडियो ]

1
१९ बर्षीया रीना लुहार।

लोकेश साउद, बैतडी – सम्भवतः सुदूरपश्चिमका जिल्लाहरुमा घुम्ती बिनाको ३२ किलोमिटर लामो सडक यही एउटा होला। दशरथचन्द राजमार्गको देहिमाडौंबाट दक्षिण–पश्चिम नागबेलीझैं लमतन्न फैलिदै गएर जो गडमेश्वर पुगेपछि मात्रै बिश्राम लिन्छ। यही धुलाम्मे सडकको दुई तिहाई दूरी पार गरेपछि नागार्जुनका लोभलाग्दा फाँटहरु देखिन थाल्छन्। साँझपख पारिपट्टी भारतको पिथौरागढ सहर बिजुलीको उज्यालोमा चम्किरहेको हुन्छ। तल महाकाली आफ्नै सूरमा बग्छ। त्यही माथि सिमगाउँकी १९ बर्षीया रीना लुहारलाई बेसुरे जीवन धान्नै धौं धौं पर्छ। दुई बहिनी र एक भाईसहित जिम्मेवारीको बोझिलो झोली बोकेर रीना अनिश्चितताको यात्रामा हिडिरहेकी छन्। उनको चुहिने घरको छेवैबाट घुम्तीनै नभएको सडकमा सवारीहरु सर्लक्कै दौडिरहेका हुन्छन्। तर रीनाको जीवनमा एकपछि अर्को, अर्कोपछि अर्को घुम्ती नै घुम्ती छन्। जहाँ यात्रा गर्न कसै गरि सहज छैन उनलाई।
………..
११ बर्ष अघि रीना ८ बर्षकी थिइन्। सबैभन्दा कान्छी बहिनी सँगीताले दोस्रो बर्षमा टेक्दै थिईन्। लक्ष्मी र नरेशको उमेर क्रमशः एक/एक बर्ष कम थियो। सबै ठिकठाकै चलेको थियो। उनी धेरै बुझ्ने त भइसकेकी थिइनन्। तर बाल्यवस्थाका धमिला सम्झनाहरु भने दुरुस्तै याद छन् उनलाई।

घरको सिरानी भएर सडक निर्माण भइरहेको थियो। त्यही सडकमा काम गर्थिन रीनाकी आमा कस्तुरा। उनका बुवा चामुरामले कस्तुरालाई पाईला पाईलामा सघाउँथे। ‘आमालाई पेलिया (कमलपित्त) भएको थियो। आँखा र नङ पहेला हुँदै गएपछि घरमा उपचार गर्ने सल्लाह हुन्थ्यो,’ रीना ११ बर्ष अघि फर्किदै थिइन– ‘पैसा नभएर भोली, भोली भन्दा भन्दै आमा सिकिस्त भइन्। नजिक अस्पताल भएको भए सायद उपचार गर्न सकिन्थ्यो, आमा बाँच्न सक्थिन। उपचार नपाएर आमाले मृत्युवरण गरिन्।’ यति सुनाउँदासम्म रीनाका आँखा रसिला भइसक्छन्।

अनि बुवालाई के भएको थियो? निकै असहज महशुष गरिरहेकी रीनालाई अर्को प्रश्न सोध्नैपर्ने वाध्यता थियो। उनका आँखाबाट तरक्क दुई थोपा आँशु खसे। केही सेकेन्ड मौन रहिन। र, आँशु पुछ्दै कम्पन मिश्रित आवाजमा भनिन्– ‘आमा बितेको करीब एक बर्षपछिको कुरा हो। बुवा दिदीको भतिजीको बिहेमा जानुभएको थियो। हामी विद्यालय गएका थियौं। गाउँका एक जनाले खबर सुनाए, तिम्रा बुवा चामुराम बिरामी परेका छन्। पेट दुःखेको छ रे।’ यो खबर सुनेको केही समयपछि उनी विद्यालयबाट घर फर्किइन्। घरमा आएर उनले झनै अप्रिय खबर सुन्नुपर्यो। ‘गोठालापानी अस्पतालमा निको नभएर पिथौरागढ लगियो। त्यहाँ उपचार गराएर फर्किदा बाटोमै मृत्यु भयो।’ छिमेकी ठूलबुवा नैनरामले यही खबर सुनाएका थिए रीनालाई। त्यही दिनदेखि हो उनी लगायत चार भाई बहिनीको अभिभावकत्व सदा सदाका लागि गुमेको।

बाल्यवस्था जीवनको आधारशीला हो। छोराछोरीले यो उमेरमा राम्रो पढेर ठूलो मान्छे बनुन भन्ने हरेक अभिभावकको चाहना हुन्छ। तर अभिभावकनै यो संसारमा रहेनन् भने? उमेरले आकार लिन नपाउँदै दुई छाकको जोहो गर्न नसक्ने वाध्यता आइलाग्यो भने? हामी अनुमान मात्र गर्न सक्छौं। पढेर भन्दा परेर मात्रै ज्यादा महशुष गर्न सकिन्छ होला।

आमा बुवा गुमाएका लुहार भाईबहिनीहरु त्यसपछिका केही बर्ष ठूलोबुवा नैनरामको संरक्षणमा बसे। स–साना चिचिलाहरुलाई सके अनुसारको सहयोग गरे। डोको, नाङ्लो बेचेर गर्नुपर्ने गुजाराका बीच नैनरामले सक्दो गरे। जसै रीनाहरुको उमेरले किशोरावस्था टेक्न थाल्यो, ठूलोबुवाले ‘अब आफै केही गरेर खानुपर्छ’ भनिदिए एकदिन।

छेउमै थियो रीनाका बुवाले बनाएको सानो झुपडी। तर यत्तिका बर्षसम्म जिर्ण भइसकेको थियो। छाना चुहिन थालेको थियो। तैपनि काम लाग्नेवाला त आफ्नै घर थियो। उनीहरु त्यही सरे। अब ‘प्यान्डोराज बक्स’ खुलिसकेको थियो। भएभरका सबै समस्याहरु चार कलिला बालबालिकाहरुसँग जाईलाग्न आएका थिए।
…………………….
दुई बहिनी र एक जना भाईको अभिभावक बन्नु थियो रीनालाई। खुवाउनु थियो सबैलाई। पढाउनु थियो र आफु पनि पढ्नुथियो। जीवनका कठिन दिनहरुको ‘काउन्टडाउन’ सुरु भएको थियो।

त्यसपछिका दिनहरु कसरी बिते? प्रश्न भुईमा खस्न नपाउँदै १९ बर्षीया रीना निकै बेर भक्कानिइन। उनका आँखाका गहिराईबाट पीडाको खहरे उर्लिएको थियो। भुईमा बर्सिरहेको आँशुले उनीसँग जीवनको एक एक हिसाब खोजीरहेछ जस्तो लाग्दैथियो।

आमा बुवाले संसारबाट बिदा लिएको एक दसक बितिसकेछ। यो समयको अधिकांस खण्डमा टुहुरा बालबालिकाहरुको ख्याल गरिदिने कोही थिएन्। संचो बिसन्चो सोध्ने कोही थिएन्। उनीहरु कयौं दिन भोकै बसे, भोकभोकै रात कटाए। ‘अवस्था त अहिले पनि उस्तै छ,’ सम्हालिन खोज्दै रीना भन्छिन्– ‘वडा कार्यालयले १८ हजार सहयोग गरेको थियो। १० बर्षअघि बुवाले निकालेको १० हजार ऋण तिरे। घरको छाना मर्मत गरे। बचेको पैसाले चामल किनेका छौं।’

रीनासँग सिसा फुटेको फ्रेमभित्र आमा बुवाको एक मात्र धमिलो सम्झना छ। जहाँ सेतो पोशाकमा ढाकाटोपी लगाएर बायाँतिर उनका बुवा उभिएका छन्। उनका बाँयातर्फ कम्मरमा मुन्टो जोडेर नरेश उभिएका छन्। रंग उडेको जस्तो देखिने गुलाबी सारी लगाएर आमा कस्तुरा दाँयातिर उभिएकी छिन्। उनिसँगै सँगीता र दायाँ छेउतिर लक्ष्मी टाँसीएकी छन्। उनकी दिदी सबैभन्दा अगाडि टुक्रुक्क बसेकी छिन्। दिदीको छेउमा रीना छिन्। सबैका ओठ ‘निचोर्दा दुध आउला’जस्ता देखिन्छन्।

जीन्दगीले जतिसुकै पीडा दिएपनि रीनाले हिम्मत भने पटक्कै हारेकी छैनन्। पुराना दिनहरुले भित्रैबाट घोचेपछि मात्रै हो उनको अनुहारको रंग उड्ने। नत्र सानातिना समस्यासँग जुध्न त उनलाई समयले नै सिकाएको छ। उनी दृढ छिन्। भन्छिन्– ‘भोको पेट बस्नुपरे नि अहिलेसम्म पढाई छोडेकी छैन्। भाई बहिनीलाई गिट्टी फोडेर पनि पढाउने प्रयास गरेकी छु।’ तर कहिलेकाँही सडक छेउमा जम्मा गरेर राखेको गिट्टी बिक्री हुँदैन्। खानेकुरा न कतैबाट पंैचो मिल्छ। पसलेले उधारो दिन पत्याउँदैन्। अनि पो उनिहरुलाई भोकभोकै बस्नुपर्ने वाध्यताको मुङ्ग्रोले माथिबाट बजार्न सुरु गर्छ।

उनको आवाज फेरि धर्मराउन थाल्छ। रुन्चे आवाजलाई बल गर्दै विगततर्फ फर्किन्छिन, ‘बिहान र दिउँसो दुई चोटी खाना नपुग्ने भएपछि एक चोटी मात्रै खान्थ्यौं। दिदीले झुलाघाटबाट सामान बोक्थिन। केही पैसा आउथ्यो। त्यही पैसाले अलिकति चामल किन्थ्यौं र भात पकाएर खान्थ्यौं। सबैजना सडकमा गिट्टी फोड्थ्यौं। गिट्टी बिक्री हुँदा उधुमै खुसी लाग्थ्यो। अब त खाना खान पाइन्छ भनेर।’

रीनाका पीडादायी कथाका पत्र अनेक छन्। ‘भोकले विद्यालयमा पढाएको कुरा बुझ्न सकिदैन्थ्यो। पेट दुःखिरहेको हुन्थ्यो। भोको त कति हो कति बसियो। ती दिनहरु गन्नै सकिदैन। आमा बुवा नभएको पीडा त हामी भन्दा अरु कोलाई थाहा होला ?,’ उनले भनिन।

रीना र बहिनी लक्ष्मी अहिले १२ कक्षामा पढ्छन। भाई नरेश ११ कक्षा र कान्छी सँगीता ८ कक्षामा पढ्छिन्। दिदी बिहे गरेर गइसकी। नरेश भने पढाईमा अब्बल छन्। कक्षा प्रथम हुने संयोग मात्र नजुरेको हो उनलाई। तर द्वितिय स्थान उनकै लागि हो जस्तो लाग्छ। ‘कहिलेकाँही मात्र तृतियसम्म हुन्छु,’ ११ कक्षामा कमर्स पढ्दै गरेका उनी भन्छन्– ‘शिक्षकहरुले पढेर ठूलो मान्छे बन्नु भन्छन्। म जस्तो खान नपाउने मान्छे ठूलो बन्छु होला र?’ उनले प्रतिप्रश्न गरे।

शिक्षकहरुले मात्र होइन पढ्न मात्रै सक्यो भने उनको उज्वल भविस्य देख्ने छिमेकीहरुको पनि कमी छैन्। ‘दिउँसो विद्यालय जान्छ, बिहान बेलुका गिट्टी फोडेर, रातभरी पढेर बस्छ,’ छिमेकी नैनराम भन्छन्– ‘कसैले पढाईमा सहयोग गरिदियो भने केही त पक्कै गर्छ यसले।’ तर पढाउँछ कस्ले? दिदी रीनालाई पनि भाईकै पढाईको ठूलो चिन्ता छ।

देहिमाण्डौं–गिरेगडा सडकमा उनिहरुले फोडेर जम्मा गरेको केही थुप्रा गिट्टी महिनौ देखि उस्तै छन्। यो बर्ष बिक्री हुन सकेको छैन्। ‘एक ट्याक्टरजति त कसो नहोला?,’ रीना आशाबादी देखिन्छिन्–‘किन्ने मान्छे पो नआएर यस्तै रहेको छ।’ गिट्टी किन्न आउने ठेकेदारले प्रति ट्याक्टर रीनालाई दुई हजार मात्र दिएर जान्छ। तर त्यही गिट्टी अरुबाट पाँच हजारमा किनेर लग्दा उनको चित्त साह्रै दुख्छ। यतिबेला भने उनलाई कोही नभएका टुहुरा भनेर हेपेजस्तो अनुभव हुन्छ।

पानी पर्दा चुहिने छानामुनी चारै जना भाई बहिनीको सानो कोठा छ। बस्दै ठाउँ नपुग्ने त्यही कोठामा उनीहरुलाई कुँजिएर सुत्नुपर्ने अवस्था छ। सुतेपछि हलचल समेत गर्न गाह्रो हुन्छ। रीनाको घरमा अब एक महिना जतिलाई पुग्ने चालम मात्र बाँकी छ। त्यसपछि के खाने? समस्याको कालो दृष्य उनका अगाडि आइदिन्छ एकाएक। के लाउने र कसरी पढ्ने भन्ने समस्या त्यसकै पछि पछि दगुरेर आउँछ।
……………………..
‘कोही भोको बस्नुपर्ने छैन, कोही नाङ्गो रहनुपर्ने छैन,’ गणतन्त्र नेपालका प्रधानमन्त्रीले पटक पटक दोहोर्याइरहने शब्दावली हो यो। तर दूरदराजका भु–भागमा बस्ने रीना र उनीजस्ता पात्रहरुको जीवनमा भने यी कुराहरुले कुनै अर्थ राख्दैनन्। रीनाले सानो उमेरमा निकै ठूला दुःखका पहाडहरु चढ्न सिकेकी छन्। तर उनलाई थाहा छैन संविधानको धारा ३१ मा शिक्षाको हक छ भनेर। धारा ३६ मा खाद्य सम्बन्धि हक छ। जसले कुनै नागरिकलाई भोको बस्नु नपर्ने ग्यारेन्टी गरेको छ। धारा ३६ मा आवासको हक छ। जसले उपयुक्त आवासको हक हुनेछ भन्छ। यी यस्ता कुरा थाहा पाउन रीनालाई कति समय लाग्ने हो? थाहा छैन्। तर दुःखका पहाडहरु चिरेर भएपनि उनी जीवनलाई सहज बनाउने सुरमा छिन। कुराकानीको बिट मार्दै गर्दा मनभित्र गुम्सिएर रहेको पीडालाई एकैछिन भएपनि उनी गीतबाट बाहिर निकाल्छिन । उनले गुनगुनाएका एक एक शब्दहरुले जीवनको मिहिन परिभाषा बोल्छन्।
‘क्या मीठो फल फल्यो रुखमा,
आमा बुवा बैगुनी रहेछौं किन छोड्यौं हामीलाई दुःखमा’

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here