नूरहरि खतिवडा

कोरोनाको कहर चलिरहेकै थियो। भारतबाट फर्कन चाहनेहरुको लर्काे रोक्ने प्रयास निस्प्रभावी बन्ने संभावनाले संक्रमणको त्रास बढिरहेको हुँदा सचेत मानिसहरुमा छट्पटी र चिन्ता चुलिदैं थियो। के कसो गरेमा यो त्रासबाट मुक्त हुन सकिएला भन्ने चिन्तनमा सबैको चेत केन्द्रित भैरहेको थियो।

उत्तम उपाय के होला यस त्रासदीबाट जोगिने? कसैलाई थाहा छैन। काठमाडौंमा गरिने निर्णयहरु र त्यहाँबाट आउने दैनिक समाचारमा मानिसले आफ्नो जीवन रक्षाको सूत्र प्रकट हुने अपेक्षा गरिरहे। काठमाडांैको सबैभन्दा नजिकको प्रतिनिधि र सुरक्षा संयन्त्रको नाइके सिडिओबाट निसृत हुने आदेशभित्र प्राण रक्षाको ओखती खोज्न थाले मानिसहरुले। लामो समयपछि प्रमुख जिल्ला अधिकारीको पदीय महत्ताबोध भएको अवस्था। आशाको केन्द्र।

२०७६ चैत्र महिनाको अन्ततिर हुनुपर्छ। मुलुकभर लकडाउन कायम छ। मानिसहरुलाई अत्यावश्यक काममा बाहेक घरभित्रै रहन जारी गरिएको आदेश कडाईका साथ कार्यान्वयन गराउने प्रयास भैरहेको थियो। अर्काेतिर मानिसको नजिकमा पुग्नु कोरोना संक्रमणको अचुक तरिका हो भन्ने सोच व्यापक रहेको परिस्थिति थियो।

अचानक उच्च अदालत बार एशोसिएसन कञ्चनपुरका पदाधिकारीसहितका कानून व्यवसायीहरुको एक जम्बो टोली प्रमुख जिल्ला अधिकारी समक्ष ज्ञापनपत्र बुझाउन कार्यकक्षमा उपस्थित भयो। नाई भन्न नपाइने प्रजिअको बाध्यता थियो। अघिल्लो दिन बार एशोसिएसनको बैठकले कोरोना नियन्त्रणको लागि प्रभावकारी उपायहरु अवलम्बन गर्न प्रजिअलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको रहेछ।

समाजको सबैभन्दा प्रवुद्ध मानिने यो वर्गमा कोरोनाको भयावहता प्रति चिन्ता जाग्नु स्वाभाविकै हो। उहाँहरुले औपचारिक ज्ञापनपत्र पढि सुनाउनु भयो र मैले ग्रहण गरे। नजिकबाट भेटघाट भै नै हाल्यो भने अब कुरा गर्न हिचकिचाउनुको के अर्थ रह्यो? हामीले आपसमा विचार आदानप्रदान गर्यौं मज्जैले। वकिल साहवहरुसँग यो त्रासबाट आफू सुरक्षित रहेर समाजलाई सुरक्षित राख्न कसरी सकिएला भनी लामै छलफल गरे। उहाँहरुले आफूलाई लागेका कुरा खुलस्त राख्नु भयो।

कोरोना नियन्त्रणका लागि बार एशोसिएसन र कानून व्यवसायीहरुले निर्वाह गर्नुपर्ने भूमिकाको बारेमा निर्देशन पाएमा आफूहरु पनि सो भूमिका निभाउन तत्पर रहेको बताउनुभयो। साथै यो पनि भन्नु भयो कि जे जस्तो गरेर भएपनि यो त्रासदीबाट सबैलाई जोगाउने प्रभावकारी उपायहरु चाँही तत्काल अवलम्बन गर्नुपर्छ। उहाँहरुको ज्ञापनपत्रको आशय पनि यही थियो। मानौ प्रजिअ नै त्यस्तो पदाधिकारी हो, जसको प्रयास र नेतृत्वले कोरोनाबाट जोगाउन सक्छ र जोगाउनुपर्छ।

बौद्धिक व्यक्तिहरुसँग छलफल गर्ने म भित्र लुकिरहेको आकांक्षा शायद प्रकट भयो कि के हो उहाँहरुका विचार सुनिसकेपछि मलाई पनि आफ्ना विचार पोख्ने ईच्छा तीव्र भयो र छलफल निकै लम्बियो पनि। मैले वकिल साहवहरुलाई त्रासदीको बखतमा प्रजिअलाई सघाउने अभिलाषासहित सर्वव्यापक समस्याको बारेमा चासो व्यक्त गरी उत्साह थप्ने कार्य गरेकोमा आभार व्यक्त गर्दै केही कुराहरुमा भने सतर्क पनि गराएँ। मेरो भनाईको मुख्य आशय यसप्रकार रह्यो।

कोरोना के हो? यो कसरी सर्छ? र यसबाट जोगिने उपाय के हो? भन्ने बारेमा विश्व जगत सायद अन्यौलमा छ। यसको संक्रमण भै हालेको अवस्थामा कुनै प्रभावकारी उपचार र ओखति नभएको कुरा जगजाहेरै छ। जहाँसम्म प्रजिअले अपनाउने उपायहरुको कुरा छ, यो त केवल समाजमा व्याप्त सन्त्रास र भयको कारण मानिसहरुमा मानसिक विचलन नआओस भनि शान्ति सुव्यवस्था कायम राख्ने प्रयास मात्रै हो। कोरोनाको रोकथाम कसरी हुन्छ? त्यसको जवाफ प्रजिअले दिन सक्दैन। तर कोरोनाको बारेमा व्याप्त भ्रमबाट समाजलाई मुक्त तुल्याउने तर्फ मेरो प्रयास केन्द्रित छ। यस प्रयासमा यहाँहरुजस्तो बौद्धिक जगतको ठूलो सहयोग आवश्यक हुन्छ। मैले कानून व्यवसायीहरुसँग दुई वटा प्रश्नका बारेमा स्पष्ट हुन अनुरोध पनि गरे।

पहिलो कुरा, कानून व्यवसायीलाई समाजको सबैभन्दा प्रवुद्ध वर्ग मानिने हुँदा यो वर्गले कोरोनाको बारेमा अरुलाई समेत स्पष्ट गर्न सक्नुपर्छ। विषम अवस्थामा यहाँ उपस्थित भएर ज्ञापनपत्र बुझाउने कार्य कुन मनसायका साथ गरिएको हो सो कुरामा स्वयं वार एशोसिएसन स्पष्ट हुनु उचित हुन्छ। हाल समाजमा व्याप्त त्रास र भयबाट सामाजिक विचलनको अवस्था आउन आँट्यो र यस अवस्थामा सुधार नभएमा समाज अनेकौं जटिल समस्यामा रुमलिन सक्ने संभावना देखेर परिस्थिति सुधारको लागि योगदान गर्ने अभिप्रायका साथ यहाँहरुमा छटपटि बढेको हो भने सो दृष्टिकोणको लागि मेरो तर्फबाट धन्यवादसहित थप योगदानको लागि आब्हन पनि गर्नेछु।

तर त्यसो नभइ कोरोनाको त्रास बढेको र यसबाट आफू पनि संक्रमित हुने संभावना रहेको हुँदा प्रमुख जिल्ला अधिकारीले प्रभावकारी उपायहरु अवलम्बन गरेर हामीलाई सुरक्षित तुल्याओस भन्ने आशयले यहाँहरुको सक्रियता बढेको हो भने यो भ्रमबाट यहाँहरु मुक्त हुनु आवश्यक देख्दछु। कानून व्यवसायी जस्तो विद्वतवर्ग नै काल्पनिक डरबाट आत्तियो भने बाँकी समाजको अवस्था के होला? यहाँहरुले गम्भीर रुपमा मनन गर्नुहोस विद्यमान परिस्थिति र आफ्नो मनस्थितिको बारेमा। यसबखतको प्रमुख आवश्यकता भनेको कोरोनाको बारेमा बुझाइमा परिमार्जन र धैर्यता हो।

सोही अनुसार सन्देश प्रवाह गरी समाजलाई विचलित हुनबाट जोगाउँदै अघि बढ्नु आवश्यक ठान्दछु। जहाँसम्म यहाँहरुले गर्न सक्ने योगदानको कुरा छ, मेरो विचारमा यसघडीमा आफूलाई घरभित्र सीमित राखी सडकको जिम्मेवारी हामीलाई छाडेर सहयोग गर्न सक्नु हुनेछ। सडकमा सुरक्षाकर्मीले जे गर्न सक्छन गर्नेछन। बाँकी अरु सबैले घरभित्र रहिदिनुहोस। धैर्यतापूर्वक सुखद समयको प्रतिक्षा गर्न सबैलाई उत्प्रेरित गरिदिनुहोस। यहि नै यसबखतको सबैभन्दा ठूलो सहयोग हुनेछ।

छलफल पछि कानून व्यवसायीहरु सन्तुष्ट हुनुभयो जस्तो लाग्यो मलाई। उहाँहरुबाट बाँकी अवधीमा सदैव सहयोग पाएको अनुभव रह्यो मेरो। कोरोनाको कहर अझै पनि सकिएको छैन र यो तत्कालै सकिएला जस्तो पनि लाग्दैन। यद्धपी कोरोनाप्रति जनमानसमा रहेको बुझाईमा निकै परिवर्तन हुँदैछ र यो बुझाईको तहमा अझै व्यापक परिमार्जनको आवश्यकता देखिंदैछ। ‘पैले बुझ्न कठिन, बुझ्यो अझ कठिन, झन–झन बुझ्यो, झन कठिन’ जस्तो लाग्दैछ कोरोना।

हामी सबैले आआफ्ना अनुभव र विज्ञताको उपयोग गरी समाजलाई विचलित हुनबाट जोगाउनु पर्ने र कोरोनाको काल्पनिक भयबाट मुक्त तुल्याइ यसको वास्तविक प्रहारबाट सुरक्षित रहन सक्ने उपायहरुको खोजी गर्नु पर्ने आवश्यकता आज पनि कम भएको छैन। बरु अझ बढेको छ। यहाँहरुका अनुभवबाट पनि प्राप्त गर्न सकिन्छ कि कोरोना कहानी र यसबाट सुरक्षित रहने उपायहरु? बौद्धिक बहसको आवश्यकता छ।

(कञ्चनपुर जिल्लाका तत्कालिन प्रमुख जिल्ला अधिकारी खतिवडाको हाल गृह मन्त्रालयमा सरुवा भएको छ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here