श्यामबहादुर खड्का

कैलालीको अत्तरियाबाट चिसापानी कर्णालीसम्म आउँदा बाटामा जंगलको बीचमा एउटा तलाउ जस्तो भूभाग देखिन्छ। ‘यो के हो? भनेर सोध्दा ‘घोडाघोडी ताल हो’ भन्ने उत्तर पाउथे। टाढाको गन्तब्य ताकेर हिडेको मान्छे धेरै सोधीखोजी गरिएन। त्यसताका हामी जाँदा या त टनकपुर, बरेलीको रेल चढेर नेपालगञ्ज भएर काठमाडौं वा भैरहवा बुटवलको बाटो भएर ‘नेपाल’ पस्नुपथ्र्याे।

पछि कर्णाली नदीमा पुल बन्ने भयो। पुल बनुञ्जेलसम्म त्यहाँबाट ‘फेरी’ चल्न थाल्यो। कर्णाली देखि उतापट्टी कच्ची बाटो थियो। अत्तरिया पुग्दा धुलोले मान्छेको रुपरंग फेरिन्थ्यो। बाटाको खोलाहरुमा हामी चढेको गाडीले कति हो कति जँघार तर्नुपर्दा त एकदिन भरि लाग्थ्यो। पछि पुलहरु बनेर बाटो कालोपत्रे भएपछि अत्तरियासम्मको यात्रा समय छोटियो। एक–दुई चोटी त त्यतातर्फ खासै चासो राखिएन। त्यो बाटो हिड्दा छेउमा बस्ने मानिसलाई मैले भनेको थिए, ‘यसलाई ताल भनिन्छ, तर पोखरी जस्तो छ।’

संगैको मानिसले भन्यो, ‘त्यहाँ जंगल भित्र ठूलो ताल छ र अरु पनि ताल छन्। यहाँ बाटोबाट देखिएको भाग त्यस्तो हो। छेउँमा भएको मन्दिरले मेरो ध्यान आकर्षित गर्यो। मैले सोधे, ‘त्यो के को मन्दिर हो? उसले भन्यो, ‘त्यो घोडाघोडीको मन्दिर हो।’

हतारमा गन्तब्यका लागि दौड्ने र चिसापानी पुग्ने समयको हिसाब भई रहने हुँदा त्यतातर्फ जाने संयोग जुरेको थिएन। घोडाघोडी ताल कैलालीको सदरमुकाम धनगढी बजारबाट करिब ५३ किलोमिटर पूर्व –पश्चिम राजमार्गमा घोडाघोडी नगरपालिका र रामशिखरझालाको सीमानामा अवस्थित छ। यस स्थानमा घोडीको रुपमा तपस्या गर्न लक्ष्मीको आगमन भएको थियो। लक्ष्मीले शिवको तपस्या गरेपछि वरदान अनुसार विष्णु पनि घोडाको रुप लिएर यहाँ आएका थिए।

दुबैको आगमन पछि एक मानव बालकको जन्म भएको थियो। जो पछि हैहयवंशको मूलपुर्खा थिए। स्थानीय मानिसहरुले वास्तवमा यस तालको नाम पहिले घोडीघोडा राखेका थिए। पछि सजिलोको लागि यसलाई घोडाघोडी भनिन थालियो र यही नामबाट प्रख्यात भयो।

समुन्द्र सतहदेखि २०५ मिटर उचाईमा, सुखड क्षेत्रमा अवस्थित स्वच्छ पानीको यो ताल १३८ हेक्टर भूभागमा फैलिएको छ। यो तालमा स्थान हेरि दुईदेखि चार मिटर पानीको गहिराई छ। मुख्यतालको वरपर थारु भाषाको नाम अनुसार टेडी, खर्कटुवा, आर्जुवा, पूर्वी आर्जुवा, छिडटुवा, रामफल, सुनपोखरी, टेकनवास, प्रशिवा, बूढी नखरोट, बैसवा आदि गरी १९ वटा दिदीबहिनी तालहरु छन्। यहाँको महत्वपूर्ण जलभण्डार सीता कुण्डलाई मानिन्छ।

आसपासका जरुवा तथा बर्षातको पानी यी तालहरुको मुख्य स्रोतको रुपमा रहेको छ। यी सबैको कुल क्षेत्रफल वन क्षेत्र समेत लगाएर २५६३ हेक्टर रहेको छ। तालमा मौसम अनुसारका फूलहरु, जंगली धान, विभिन्न जातका कमलका फूलहरु साथै दुर्लभ जडीबुटीहरु पाइन्छन्।

घोडीघोडा ताल क्षेत्र २०६० साउन (२००३ अगस्त) मा रामसार सन्धिमा संकेत ३१४ मा सूचिकृत भएको छ। पर्यावरणीय दृष्टिकोणले अन्तर्राष्ट्रिय रुपमा महत्वपूर्ण जल भण्डार मानिने जैविक विविधताको रुपमा अत्यन्तै समृद्घ रहेको छ। यो नानाथरिका चराहरूको बासस्थान मानिन्छ। यस क्षेत्रमा हरिहाँस, रैथाने हाँसका साथै विभिन्न दुर्लभ चराहरूको बासस्थानको रुपमा रहेको छ। साइबेरियाबाट आई हिउँदमा जम्मा हुने आगन्तुक चराहरूको जमघटले उनीहरुकै बासस्थान यही हो भन्ने भान हुन्छ। यस ताल क्षेत्रमा हालसम्मको अनुसन्धानले १४८ प्रकृतिका दुर्लभ प्रजातिका चराहरू रहेको पाइएको छ।

यस ताल श्रृंखलामा विभिन्न दुर्लभ हरियो टाउके लगायत ३१ प्रजातिका माछाहरु, ३२ प्रजातिका पुतलीहरू, रातो टाउके कछुवा, ११ प्रजातिका घोघी र सुतहीहरू पाइन्छन्। यहाँ दुर्लभ समेत ४५० प्रजातिका वनस्पतिहरू र ७ प्रजातिका घस्रने जातिहरू रहेको अध्ययनले देखाएको छ। प्रशस्त पानीे उपलब्ध हुनाले विभिन्न जंगली जनावरको समेत बासस्थानको रुपमा रहेको छ। हल सरकारी स्तरमा गोही प्रजनन् केन्द्र समेत स्थापना गरिएको छ। मंसिर महिनामा पर्ने विवाह पञ्चमी (विष्णु रुपी राम र लक्ष्मी रुपी सीताको विवाह भएको दिन) मा कुखुरा, बंगुर, परेवा, हाँस आदिको बलि दिएर पूजा गरिन्छ। शिवरात्री, माघे संक्रान्ति, कृष्ण जन्माष्टमी आदि पवित्र दिनहरूमा भक्तजनहरू तालको छेउमा जम्मा भई घोडीघोडा देवताको पूजा गर्दछन्। आकाशबाट हेर्दा यो ताल १९ वटा तालको औँला भएको हत्केला आकारको अथवा घोडाको आकारसंग मिल्दोजुल्दो पनि देखिन्छ।

ब्यासाचार्य खेमराज ओझाको ‘पश्चिम गुठी’ ग्रन्थमा उल्लेख भएअनुसार स्थानीय भनाइमा यहाँ एउटा घोडचढी मान्छे देखिएको र ताल परिक्रमा गर्दा गर्दै अलप भएको हँुदा यसको नाम घोडाघोडी ताल रहन गएको थियो। कहिलेकाँही रात्रीको बीचमा घोडा कराएको जस्तो आवाज सुनिने गरेको स्थानीयको अनुभव छ। उनीहरु आफ्नो देवताको रुपमा माटाको घोडीघोडा बनाई ताललाई नै देवता मानेर पूजा गर्दछन्। यसलाई लक्ष्मी नारायणधाम पनि भनिन्छ।

यस तालको सम्बन्धमा एक पौराणिक कथा प्रचलनमा छ–एक दिन वैकुण्ठमा विष्णु र लक्ष्मी बसी रहेको बेला सूर्य पुत्र रेवन्त विष्णुलाई भेटन आए। उनी सात टाउका भएको समुन्द्र मन्थनबाट उत्पत्ति भएको उच्चैश्रवा घोडा चढेर आएका थिए। दिव्य स्वरुपमा भएका रेवन्त आएको देखि लक्ष्मीको ध्यान त्यसतर्फ गयो। उनी आफ्नो भाइ (लक्ष्मी र उच्चैश्रवा समुन्द्र मन्थनको बेला उत्पत्ति भएकाले) घोडालाई देखेर त्यसतर्फ आकर्षित भइन्। त्यही बेला विष्णुले लक्ष्मीसंग त्यो घोडामा आउने व्यक्तिको बारेमा सोधे। घोडा प्रति ध्यान भएका कारण लक्ष्मीले पटक पटक सोधिएको आफ्नो पति विष्णुको प्रश्न सुन्न सकिनन्।

आफूप्रतिको उपेक्षा विष्णुले सहन गर्न सकेनन्। उनले भने–त्यो घोडामा बढी ध्यान गएर मेरो प्रश्न तिमीले सुनेनौ। मेरै अगाडि मेरो उपेक्षा गर्यौं। म तिमीलाई श्राप दिन्छु। तिमी मत्र्यलोकमा घोडीको रुप लिएर जन्मलिने छौं। यो सुनेर लक्ष्मी दुःखी भइन्, भयभीत र अपमानित भएर रुन लागिन्। त्यहाँको अवस्था देखेर आत्तिई रेवन्त टाढैबाट विष्णुलाई प्रणाम गरेर आफ्नो बाटो लागे। आफ्ना पिता सूर्य भएको ठाँउमा गएर सम्पूर्ण वृतान्त बताइदिए।

लक्ष्मीले भनिन्,–मेरो सानो गल्तीमा मैले श्राप पाएँ। हजुरको यस्तो क्रोध मैले आजसम्म देखेकी थिइन। हजुरले यस्तो बज्रपात म अर्धाङ्गिनी माथि नगरेर आफ्नो शत्रुमाथि गर्नु पर्दथ्यो। म श्रापको योग्य कसरी भए? हजुर विना छुट्टिएर कसरी बस्न सकौला? बरु म यही अहिल्यै प्राण त्याग गर्छु। हजुरको श्रापबाट म कसरी मुक्त हुन सकौला?

उनले रुदै भन्दै गरेको देखेर विष्णुले भने,–तिमी चिन्ता नगर, तिमीले पृथ्वीमा म जस्तै तेज भएको छोरा जन्माएपछि श्रापबाट मुक्ति पाउने छौं। लक्ष्मीले पृथ्वीमा घोडीको रुपमा जन्म लिई एक हजार बर्षसम्म मत्र्यलोकको जंगलमा आएर उनी शिवको तपस्या गर्न लागिन्। उनको घोर तपस्या देखेर शिव–पार्वतीका साथमा मत्र्यलोक आइपुगे र सोधे,–तपाई आफै सर्व शक्तिमान र तपाईका पति संसारका भगवान हुँदाहुँदै किन मेरो ध्यान गरी राख्नु भएको छ?

लक्ष्मीले जवाफ दिइन,–हे त्रैलोक्यपति म यो श्रापबाट मुक्ति चाहन्छु। भगवान विष्णुले यस श्रापबाट मुक्ति पाउने उपाय स्वरुप जब मेरो पुत्र हुनेछ त्यसबेला मैले यस योनीबाट मुक्ति पाउने छु। जब मेरो पति आफै बैकुण्ठमा हुनु हुन्छ भने म कसरी छोरा पाएर यो श्रापबाट मुक्त हुँला? हजुरले मलाई वर दिनुपर्यो। मेरो र भगवान विष्णुको छिट्टै मिलन होस् र श्रापअनुसार पुत्र जन्मे पश्चात म यस योनीबाट छुटकारा पाउँ!

शिवले जवाफदिए,–म तपाईलाई वर दिन्छु। विष्णु छिट्टै घोडाको रुप लिएर पृथ्वीमा आउने छन र तपाईको ईच्छा पुरा हुनेछ। शिब– पार्वतीका साथ आफ्नो लोक तर्फ गए। इता लक्ष्मी आफ्नो ध्यान जारी राख्दै घोडाको रुपमा विष्णु पृथ्वीमा आउने प्रतिक्षा गरेर बसी रहिन्। शिवले कैलाश पुगेपछि पहिलो काम आफ्नो दूत विष्णुलोकमा पठाए। दूतले विष्णु भगवान समक्ष पुगेर शिवको सन्देश सुनाए। भगवती लक्ष्मी मत्र्यलोकमा घोडीको रुप लिएर तपस्या गरी रहनु भएको छ। ती देवीको बैकुण्ठमा उपस्थिति विना कुनैपनि प्राणी सुखी रहन सक्दैनन्।

तिनलाई परित्याग गरेर तपाईले कुन सुख प्राप्त गरी रहनु भएको छ? विना अपराध उनलाई किन त्याग गर्नु भएको हो? जसकी पत्नी लोग्नेको कारणले अनावश्यक दुःख पाउँछन, त्यो व्यक्तिको जीवन समेत धिक्कार छ र ऊ शत्रुको समुहमा समेत निन्दित हुन्छ! मैले पनि एक चोटी पत्नी वियोग भोगेको छु र अहिले पार्वतीका साथ खुःशी छु! तपाई पनि आफ्नो पत्नीसंग मत्र्यलोकको जंगलमा आनन्द मनाउनु होस् र पत्नीलाई घोडी योनीबाट मुक्त गरेर लिएर आउनु होस्!

विष्ण्ुाले शिवको दूत चित्ररुपलाई यतिमात्र जवाफ दिए, ठिक छ। त्यसपछि उनलाई लक्ष्मीको सम्झनाले सताउन थाल्यो। दूत फर्केर गएपछि विष्णुले सुन्दर घोडाको रुप धारण गरी लक्ष्मी तपस्या गरिरहेको स्थानमा गए। आफ्ना पति घोडाको रुपमा आएको देखी लक्ष्मीले चिनेर अश्रुपूर्ण आँखाले स्वागत गरिन्। लामो समय पछिकोे लोग्ने स्वास्नीको मिलनले एक सुन्दर पुत्रको जन्म भयो।

विष्णुले स्वयम् दैवी रुपको दर्शन दिएर लक्ष्मीसंग भने, –हे प्रिय तिमी यो अश्वरुप त्यागेर आफ्नो असली रुपमा आउ!
लक्ष्मीले भनिन्,–हे भगवान यो बच्चालाई के गर्ने, मातृ स्नेहका कारण यसलाई त त्याग्न सकिदैन। भर्खर जन्मेको बच्चा यसरी छोडेर जाँदा मेरो मन कसरी थामिएला? यसलाई पनि हामी संगै लैजाँउ! विष्णुले लक्ष्मीलाई आश्वस्त तुल्याए कि यसको सबै ब्यवस्था भई हाल्छ, तिमीले चिन्ता गर्नु पर्दैन। राजा हरि बर्मा पुत्र प्राप्तिको लागि सय बर्षदेखि तपस्या गरी रहेका छन्। यो पुत्र उनैको लागि हो र उसले हैहय वंशको स्थापना गर्नेछ। आउ, हामी आफ्नो लोक तिर जाउँ!

तिनीहरु पुत्रलाई त्यही छोडेर गए। त्यस बालकलाई निर्जन वनमा स्थानीय मानिसले भेटेपछि, देवताका राजा ईन्द्रलाई खबर भयो। उनले भने–यो अश्वरुपधारी भगवान विष्णुको पुत्र, लक्ष्मीबाट उत्पन्न भएको हो। हरि बर्मा विष्णुको जस्तै तेज भएको पुत्र प्राप्तिको लागि तपस्या गरिरहेका छन्। भगवानले पनि राजालाई वचन दिनु भएको छ। त्यही योजनाअनुसार यो बालकको जन्मभएको हो। त्यसैले यसलाई प्राप्त भएको स्थानमा लगेर राखि दिनु, राजा आएर आफै लिएर जान्छन।

भगवान विष्णु रथमा बिराजमान भएर राजाले तपस्या गरी रहेको ठाँउमा गए। भगवानको दर्शन पाएर राजा हरि बर्मा खुशी भए। आफूले भगवान सदृश्य पुत्र प्राप्तिको लागि तपस्या गरिरहेको विन्ती गरे। उनको भनाई सुनेर भगवानले भने,–मैले तिम्रो लागि म जस्तै लक्ष्मीको गर्भबाट उत्पन्न पुत्र छोडी दिएको छु। तिमी गएर आफ्नो छोरा लैजाउ। उनले स्थान समेत बताईदिए। राजाले भगवानले भनेको ठाउँ जंगलमा गई बालक प्राप्त गरे। यसरी हैहयवंशको शुरुआत भयो।

एक अर्को मान्यताअनुसार समुन्द्र मन्थनको बेला उच्च श्रैवा घोडा ईन्द्रले प्राप्त गरेका थिए। उक्त असाधारण घोडाको बसोवास यस ठाँउमा रहेको छ। यसरी घोडी र घोडालाई देवता मानेर पूजा गर्ने यो साँस्कृतिक परम्परा सम्भवतः विश्वमा एक मात्र हो। यसरी पूजा गर्दा लक्ष्मी प्रसन्न हुन्छिन् भन्ने मान्यताका कारण धनधान्यले सम्पन्न हुने र अन्नको सुरक्षा, किरा, मुसा, बाढी, पानी आदिबाट संरक्षण हुने विश्वासका साथ नयाँ अन्न थन्क्याएपछि न्वागी मनाइन्छ।

तालको किनार नेर चुरेमा प्रमुख थान पाएका र तराईको सुरक्षाको जिम्मा दिइएका मोहन्याल देवताको पूजा हुन्छ। स्मरण रहोस् यी देवताको किम्बदन्तीमा यिनका पिताले मूल नक्षत्रमा जन्मेको भनेर त्याग गरी बगाएपछि उनी खोलाको किनारमा फेला परेका थिए। मोहन्याल भनेका पनि मोहनीरुप विष्णु कै रुपमा यिनको पूजा गरिन्थ्यो। यो क्षेत्रलाई वैदिककालमा कपिल मुनीले जन्म लिएको र पछि त्यही तपस्या गरेको योगी नरहरिनाथले दावी गरेर घोडीघोडा क्षेत्रलाई दोस्रो वैकुण्ठकै दर्जा दिन पुगे। कालान्तरमा यहाँको दलदल क्षेत्र घनघोर जंगलमा परिणत भयो र शुरुमा रास्कोटी एवम् रैका राजाहरूको राज्यमा परेको देखिन्छ। नेपाल एकीकरण पछि सुगौली सन्धिपूर्व नेपालको अंग भयो। त्यसपछि जंगबहादुर राणाले अंग्रेजहरूबाट नयाँ मुलुक फिर्ता लिएपछि पुनः नेपालमा आयो।

त्यसै बेला भवानी स्वारको नेतृत्वमा वस्ती विकास कम्पनीले बैतडी, जुम्ला, दैलेख, सल्यान, डोटी आदिबाट आउन चाहने नागरिकहरूलाई जमीन प्रदान गर्यो र ती भूमिपतिहरूले खेतीपातीका लागि दाङबाट डगौरा थारु र पश्चिमबाट रानाथारु किसानका रुपमा झिकाए। तिनै थारु मध्येका कुनै गुरुवाले घोडीघोडा तालको किनारमा पूजा शूरु गरेकाले कसै कसैले यो पहिला थारु जातिको पूजा गर्ने स्थल पनि भन्ने गरेका छन्। हाल यो स्थान थारु र पहाडीयाका साथै अन्यत्रबाट बसाई सराई गरी आएका जातिहरूको सद्भावको थलोको रुपमा विकसित भइरहेको छ। ऋाम हिन्दूहरू यसको विकास र प्रवद्र्घनका लागि जुटिरहेका छन्। योगी नरहरिनाथले कोटीहोमको आयोजना गरेपछि यसको व्यापक प्रचार प्रसार भएको देखिन्छ।
(लेखक पूर्ब डिआईजी हुन्। उनको मष्टोः संस्कृति र परम्परा पुस्तक निक्कै चर्चित छ।)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here