‘जुन–जुन प्रतिबद्धता पुरा गरे त्यसमा टिक लगाउँदै गर्नुहोला’ [ अन्र्तवार्ता ]

0

कञ्चनपुर– गोरखबहादुर चन्द। बैतडी तल्लोस्वराड क्षेत्रका स्थापित शिक्षक। गरिबी, अभाव र राज्यको पहुँचबाट टाढाको उक्त क्षेत्रमा विद्यालयदेखि क्याम्पस स्थापनामा समेत सक्रिय थिए, चन्द। उनले उक्त क्षेत्रको शैक्षिक विकासमा ठूलो भूमिका निर्वाह गरे। प्राथमिक विद्यालयको प्रधानाध्यापकदेखि क्याम्पस प्रमुख सम्मको लोभलाग्दो शिक्षण पेशा छाडेर अन्ततः चन्द राजनीतिमा होमिए।
०००
उसो त पेशागत राजनीतिबाटै चर्चामा आएका थिए चन्द। शिक्षण पेशा छाडेर स्थानीय तह चुनावमा उत्रिए तीन बर्ष अघि। अहिले पञ्चेश्वर गाउँपालिका अध्यक्ष भएका छन्। तत्कालिन नेकपा एमालेबाट उम्मेदवार भएका उनले काँग्रेसका दिनेशबहादुर चन्द र तत्कालिन माओवादीका रमेशबहादुर चन्दलाई सजिलै परास्त गरी पालिकाको बागडोर सम्हालेका थिए।
०००
चुनावी प्रचार प्रसारमा जाँदा उनले २७ बुदे घोषणापत्र बनाएका थिए। र, सँगै मौखिक प्रतिबद्धताहरु पनि ब्यक्त गरिरहे। मत माग्न जहाँ पुग्थे मतदातालाई दुई प्रति घोषणापत्र हातमा थमाउथे। ‘एउटा अहिले पढ्नुस, अर्को बाकसमा राख्नुस,’ चन्द भन्थे, ‘म निर्वाचित भएपछि जुन–जुन काम पुरा गर्न सके त्यसमा टिक लगाउँदै जानुहोला, गर्न नसकेका कामका बारेमा फेरी आउँदा भन्नुहोला।’ यसरी मत मागेका चन्दले पालिकाको कमान सम्हालेको तीनबर्ष पुरा भैसकेको छ।
०००
बैतडीको शैक्षिक विकाससँगै राजनीतिक परिवर्तनमा समेत उनको स्मरणीय भूमिका सम्झिने धेरै छन्। राजा ज्ञानेन्द्रले शासन सत्ता हातमा लिएका थिए। शिक्षकहरुका तर्फबाट बैतडीमा पहिलो पटक त्यसको विरोध गर्ने चन्द नै थिए। तल्लोस्वराड क्षेत्रमा अध्यापनरत शिक्षक चन्द सदरमुकाम आउँथे र गढीको पिपल चौतारामा पुगेर प्रशासन कार्यालयतर्फ फर्किन्थे। अनि हाकाहाकी शाही सत्ताको बिरोध गर्थे। शिक्षक संगठन र पछि शिक्षक यूनियनको अध्यक्षका हैसियतमा उनले परिवर्तनका लागि बोलिरहे। ‘सरकारी मानो खाएर राजनीतिक दलका नेताहरुभन्दा एक कदम अगाडि बढेर हाम्रै बिरोध गर्ने’ तत्कालिन प्रहरी प्रशासनका अधिकारी र राजाबाट नियुक्त जिबिस सभापतिलगायतका पदाधिकारी उनी संग आगो भएका थिए। त्यही भएर उनी प्रशासनको तारो बने। पटक पटक पक्राउ परे। जनआन्दोलन ०६२÷०६३ को सुरुवातमा तीन दिन जिल्ला प्रहरीको थुनामै बसे। उनी संगै बिरोध कार्यक्रममा सहभागी केही शिक्षक ‘आइन्दा आन्दोलनमा भाग लिने छैनौं’ भन्ने नेपाली कागजमा सहिछाप गरेर छुटे। उनी न त झुके न टुटेनै। सतिसालझै आन्दोलनका पक्षमा अनवरत लागिरहे।

डेढ सय किमि सडक निर्माण
अध्यक्षमा निर्वाचित भएपछि चन्दले घोषणापत्रमा उल्लेख भए अनुसारका कामहरुलाई क्रमिक रुपमा सुरुवात गरिसकेका छन्। साविकका ६ गाविस पञ्चेश्वर, कुलाउँ, रोडिदेवल, गिरेगडा, आमचौरा र महाकाली मिलाएर पञ्चेश्वर गाउँपालिका बनाइएको छ। स्थानीय तहको चुनाव हुनुअघिसम्म यहाँ ६ किलोमिटर मात्रै कच्ची सडक निर्माण भएको थियो। अहिले डेढ सय किलोमिटर सडक निर्माण भईसकेको छ। ‘गाउँपालिकाका ७० मध्ये ६५ वस्तीमा सडक पुगेको छ,’ अध्यक्ष चन्दले भने, ‘दुई वर्षभित्र सबै वस्तीमा सडक पुर्याउने योजना अन्तर्गत काम गरिरहेका छौं।’

दुई दशक अघिबाट निर्माणाधीन पाटन–पञ्चेश्वर सडकले यसै अवधिमा गति लियो। अहिले कालोपत्रेका लागि २२ करोड रुपैयाको ठेक्का लागेको छ। महाकाली करिडोर अन्र्तगत ट्रयाक खोल्नका लागि यसवर्ष सरकारले ९० करोड वजेट स्वीकृत गरेको छ। उक्त बजेटबाट पञ्चेश्वरमा मात्रै ५० किलोमिटर भन्दा बढी सडकको ट्रयाक खोलिनेछ। ‘महाकाली करिडोरलगायत ठूला बिकास योजनाका लागि संघीय सांसद दामोदर भण्डारीलगायतको पहल पनि स्मरणीय छ,’ उनले भने, ‘सबैको पहलकदमीले गर्दा यो ‘लाइफलाइन’ केही बर्षमै पुरा हुनेमा आशाबादी छु।’

महाकाली किनारको यो गाउँपालिका पुर्ण रुपमा भारतमै निर्भर थियो। महाकाली नदीमा जोखिमपूर्ण रुपमा डुंगा तरेर सीमावर्ती बजार लोहाघाट पुगेर खाद्यान्न लगायतका समानहरु ल्याउनुपर्ने बाध्यता थियो। गाउँपालिकामा सडक विस्तार भएपछि त्यो बाध्यतामा कमी आएको छ। पछिल्लो ६ महिनामा पञ्चेश्वरबाट भारत नजाँदा पनि कुनै कुराको अभाव भएन। अहिले नेपालबाटै खाद्यान्न लगायत अन्य सामग्रीहरु महाकाली किनारसम्मै पुगिरहेको छ। ‘गाडी गुड्न थालेपछि उपचारका लागि भारत जाने बिरामिहरु डडेल्धुरा र धनगढीका अस्पतालमा आउन थालेका छन्,’ अध्यक्ष चन्दले भने।

९० प्रतिशत नागरिक खानेपानीको पहुँचमा
खानेपानीमा पनि पञ्चेश्वरमा राम्रै उपलब्धी भएको पालिकाको दाबी छ। गाउँपालिकाले ग्रामीण जलस्रोत विकास परियोजनासंग सम्झौता गरेर ५ वर्षभित्रै सबै क्षेत्रमा खानेपानीको पहुँच पुर्याउने लक्ष्य राखेको छ। ‘म निर्वाचित भएर आउँदा २० प्रतिशत मात्रै खानेपानीको पहुँच थियो, अहिले ९० प्रतिशत पुगेको छ,’ अध्यक्ष चन्दले भने, ‘दुई वर्षभित्रै खानेपानीको उपलब्धता सतप्रतिशत पुर्याइनेछ।’

स्वास्थ्यमा २ करोडका भवन
स्वास्थ्य क्षेत्रमा पनि क्रमिक रुपमा फड्को मार्दैछ पञ्चेश्वर गाउँपालिका। ५ वडामा २ करोड रुपैया भन्दा बढीका प्राथमिक स्वास्थ्य केन्द्रका भवनहरु निर्माण भएका छन्। बाँकी रहेको एउटा वडामा पनि दुई वर्षभित्रै भवन निर्माण हुने पालिकाले जनाएको छ। १५ सैय्याको अस्पताल सञ्चालनका लागि पनि स्वीकृति पाएको छ।

‘अनुदान लिन्छन काम गर्दैनन्’
कृषि क्षेत्रको विकासका लागि पनि सय रोपनीमा पाठशाला सञ्चालनदेखि व्यवसायीक रुपमा कृषि गर्नेहरुलाई तालिम तथा अनुदान प्रदान गरिदै आएको छ। तर कृषकहरु अनुदान लिन मात्रै पहिलो पटक काम गर्ने र अुनदान पाएपछि कृषिमा तल्लिन नहुँदा समस्या भएको छ। गत आर्थिक वर्षमा युवा स्वरोजगारका लागि डेढ करोड खर्च भयो। तर अनुदान लिनसम्म मात्रै काम गरे। त्यसपछि छाडिदिए। यसले कृषिलाई व्यवसायीक र रोजगारउन्मुख बनाउन समस्या भएको अध्यक्ष चन्द बताउछन्।

‘एक वडा एक पकेट’, ‘एक गाउँ, एक उत्पादन’, ‘एक घर १० फलफुलका बिरुवा’ रोप्ने लगायतका अभियानहरु पालिकाले सञ्चालन गरेको छ। काठमाडौं र भारतको नासिकबाट समेत अनारका बिरुवा ल्याएर वितरण गरियो। टीकापुरबाट केराका बिरुवा लगेर पकेट क्षेत्र बनाइएको छ। ५ सय बढी फलफुलका बिरुवा रोप्नेलाई अनुदान दिने कार्यक्रम पनि राखिएको छ।

शिक्षक तलबमा मात्रै वार्षिक २ करोड खर्च
पञ्चेश्वरमा ९ माविसहित ३५ वटा विद्यालयहरु छन्। दुरसञ्चार कम्पनीले फोरजी सेवा सुरु गरिदिएमा सबै विद्यालयमा इन्टरनेट सेवा जडान गरेर अनलाईन कक्षा सञ्चालसनसंगै प्रविधिको प्रयोग गरेर पठनपाठन गराउने योजना पालिकाले बनाएको छ। ८ वटा आधारभूत विद्यालयहरुमा सोलार जडानसँगै कम्प्युटर र प्रिन्टर उपलब्ध गराएर प्रविधिका माध्यमबाट समेत पठनपाठन भईरहेको छ।

स्थानीय तहको निर्वाचनअघि सम्म यहाँका विद्यालयमा शिक्षक दरबन्दी थिएन। एक–दुई जना मात्रै शिक्षकहरु थिए। अध्यक्ष चन्दले सबै विद्यालयमा विद्यार्थी संख्याका आधारमा पूर्ण तलब दिन नसकेपनि स्वंयमसेवी रुपमा केही खर्च दिएर शिक्षकहरु भर्ना गरेको जानकारी दिएका छन्। उनीहरुको तलबमा मात्रै वार्षिक २ करोड खर्च हुने गरेको छ।

कोरोनापछि गाउँमै रोकिए युवा
पञ्चेश्वरबाट कामको खोजीमा ५ हजार बढी कामदारहरु भारत पसेका छन्। कोरोनाको संक्रमण सुरु भएयता ३ हजार जति घर फर्किएका छन्। दुई हजार अझै आउन बाँकी छन्। भारतमा आधारकार्ड तथा राशन कार्ड भएका र राम्रो रोजगारी भएकाहरु फेरी फर्किन थालेका छन्। तर ज्याला मजदुरी गर्नेहरु भने गाउँमै रोकिएका छन।

उनीहरुलाई स्वरोजगार बनाउन पालिकाका लागि ठूलो चुनौती छ। यसवर्ष पालिकाले रोजगारी सृजना गर्न कृषि क्षेत्रमा अनुदान दिन ६० लाख, युवा स्वरोजगारका लागि ८० लाख र प्राधनमन्त्री रोजगार कार्यक्रमका लागि आएको ६० लाख गरी २ करोड वजेट विभिन्न किसिमका तालिम तथा व्यवसायिक रुपमा कृषि तथा अन्य पेशा गर्नेलाई बिउ पँुजीका रुपमा अनुदान दिने योजना बनाएको छ।

५ हजार घरधुरी रहेको गाउँपालिकाको जनसंख्या २० हजार छ। यहाँ कृषिको पर्याप्त सम्भावना छ। फलफुल तथा तरकारी उत्पादन गरेर आत्मनिर्भर बनाउन सकिने लक्ष्य राखिएको अध्यक्ष चन्द बताउछन्। यस पटक मात्रै २० हजार बढी ओखरका बिरुवा रोपिएको उनले जानकारी दिए। अहिले भारतबाट आयात भईरहेका फलफूल विस्थापित गर्ने गरी योजना अघि सारिएको उनले बताए। ‘महाकाली करिडोर बनेपछि महेन्द्रनगर र धनगढीमा पञ्चेश्वरको फलफुल ल्याउन सकिन्छ, त्यसका लागि अहिलेदेखि नै तयारी गर्नुपर्छ,’ उनले भने,‘यसले रोजगारीसँगै फलफुलमा आत्मनिर्भरतातर्फ पनि लैजान्छ।’ तर पालिकामा कृषि र पशु सेवाका प्राविधिकहरु नहुँदा समस्या देखिएको छ। जनप्रतिनिधिहरु निर्वाचित भएर आउँदा पनि लामो समयसम्म कर्मचारी अभाव हुँदा काम प्रभावित भएको थियो।

कानून बने कार्यान्वयमा भने सकस
गाउँपालिकाले एक दर्जन बढी कानूनहरु बनाएर राजपत्रमा प्रकाशित गरिसकेको छ। तर ती कानूनहरु कार्यान्वयनमा भने समस्या भएको छ। गतवर्ष मदिरा नियन्त्रणका लागि बनाएको कानून समेत पालिकाले कार्यान्वयन गर्न सकेन। पालिकाले बनाएको कानूनविरुद्ध व्यवसायीहरु अदालत पुगेपछि उक्त कानून कार्यान्वयन हुन सकेन। व्यापार व्यवसाय गर्न पाउने अधिकार भएपनि व्यवस्थित गर्न खोज्दा समस्या हुने गरेको अध्यक्ष चन्द बताउछन्। गाउँपालिकाभरिमा ७० वटा मदिरा पसलहरु सञ्चालनमा छन्।

गाउँपालिकाले व्यवस्थित वस्ती विकासको योजना पनि बनाएको छ । वडा नं. ४ मा ५३० रोपनी जग्गा खोजेर व्यवस्थित वस्तीसँगै उद्योग ग्राम समेत बनाउने योजना रहेको अध्यक्ष चन्दले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here