दोधाराको परबर दिल्ली पुग्थ्यो, अहिले स्थानीय बजारमै छैन

0
फायल तस्बिर

कञ्चनपुर – कञ्चनपुरको माहाकाली नगरपालिकामा बजार अभावका कारण परबर खेतीमा कमि आएको छ। नगरपालिकाका छ वटा भन्दा बढी वडाका सयजना भन्दा बढी किसान परिवारले परबर खेती गर्दै आएकामा हाल घटेर दुई वडाका २० देखि ३५ परिवारमा सिमित भएको हो।

कुनै बेला दोधाराको परबर भारतको नयाँदिल्लीसम्म निर्यात हँदै आएको थियो। भारतीय बजारमा निर्यात हुँदै आएको परबर भारतीय सीमा सुरक्षा बलले लैजान रोक लगाएपछि खेती गर्ने किसान घट्दै गएका हुन्।

विगतमा एउटै किसानले दैनिक ३० देखि ३५ क्विन्टल परबर उत्पादन गर्दथे। बजार नभएपछि हाल ३५ बढी परिवारले मुश्किलले दैनिक १५ क्विन्टल परबर उत्पादन गर्ने गर्दछन्। उत्पादित परबर हाल स्थानीय बजारसँगै महेन्द्रनगर र धनगढीसम्म बिक्री हुने गरेको छ। परबर प्रतिकिलो रु ५० का दरले बिक्री भैरहेको नगरपालिका–८ का किसान रामबहादुर खडकाले बताए।

महाकाली नदीमा रहेको झोलुङ्गे पुलबाट साइकल र मोटरसाइकलमा परबर लैजानु पर्ने यहाँका किसानको बाध्यता छ। ढुवानी गर्न नसक्दा समेत उत्पादित परबरले बजार पाउन नसकेको किसानहरुको भनाइ छ। पहिले दश कठ्ठादेखि एक विघा क्षेत्रफलमा गरिदै आएको परबरखेतीबाट वार्षिक रुपमा यहाँका कृषकले विगतमा एक लाखदेखि पाँच लाख रुपैयाँ आम्दानी गर्दै आएका थिए। हाल किसानले परबर बेचेर रु ४० हजारदेखि ७० हजारसम्म आम्दानी हुने गरेको उनीहरुको भनाइ छ। माघ, फागुनको महिना रोपेको परबलले वैशाखदेखि कात्तिकसम्म उत्पादन दिने गर्दछ।

परबर खेती प्रर्वद्धनका लागि योजना ल्याउन लागेको नगरपालिकाका नगर प्रवक्ता दिलबहादुर सिंजालीले बताए। उनका अनुसार वडामार्फत परिचालन हुने गरी रु ३० लाख र नगर प्रमुख कृषि प्रर्वद्धन कार्यक्रमअन्र्तगत कृषि क्षेत्रमा परिचालनका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ। (रासस)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here