छाडा चौपायामा रेडियम लगाउदै महेन्द्रनगरका युवा (भिडियोसहित)

0

कञ्चनपुर – महेन्द्रनगरका केही युवाहरुले दुर्घटना न्यूनिकरणका लागि छाडा चौपायामा रेडियम लगाउन सुरु गरेका छन्। यस क्षेत्रमै व्यापार व्यवसाय गरिरहेका युवाहरुले स्वस्फुर्त रुपमा छाडा चौपायामा रोडियम लगाउन थालेका हुन्।

कञ्चनपुरमा ५ वजेपछि निषेधाज्ञा जारी गरिएको छ। त्यसपछि बजार व्यवसाय सबै बन्द हुन्छ। त्यहि खाली समयमा युवाहरुको समुह पूर्व पश्चिम राजमार्ग क्षेत्रमा भेटिने छाडा चौपायामा रेडियम लगाउने काममा जुटछ।

‘लकडाउनले व्यापार व्यवसाय पनि केही छैन,’ महेन्द्रनगरको भासी क्षेत्रमा व्यवसाय गरिरहेका दिपेन्द्र जोशीले भने, ‘साँझपख खाली डुल्नुभन्दा दुर्घटना न्यूनिकरणमा सहयोग पुगोस भनेर रेडियम लगाउन काम सुरु गरेका हौं।’ रेडियम एक प्रकारको चम्किलो टेप हो। यो रातीको समयमा चम्किने भएकाले दुर्घटना हुनबाट जोगाउछ।

जोशीका अनुसार उक्त कार्यमा ८ जना युवा व्यवसायीहरु सहभागी छन्। आईतबारदेखि सुरु गरि हालसम्म ४० बढी गाईगोरुमा रेडियम लगाइएको उनले बताए। पहिलो दिन शिव मन्दिर क्षेत्रमा, दोस्रो दिन ट्राफिक चोकमा र तेस्रो दिन शनिबार भासी क्षेत्रमा रहेका छाडा चौपायामा रेडियम लगाइएको उनले बताए।

रेडियम लगाउने कार्यमा महेन्द्रनगरकै विकास चटौत, प्रमोद केसी, घनश्याम पाण्डेय, सुरज पाण्डेय, नरेशसिंह धामी, गौरव भट्ट र गौतम भट्ट रहेका छन्। ‘गाई गोरु समात्नै गाह्रो हुन्छ,’ जोशीले भने, ‘दिनमा १०–१५ मा मात्रै रेडियम लगाउन सकिन्छ।’ उनले युवाहरु नै मिलेर रेडियम खरिद गरेको बताए। पुर्वपश्चिम राजमार्ग क्षेत्रमा छाडा चौपायाका कारण धेरै दुर्घटनाहरु हुने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here