कैलालीको भादागाउँमा अन्य जातिलाई जमिन किन्न ‘नो इन्ट्री’

0
भादागाउँ।

डम्मर गिरी

कैलाली-कैलालीको धनगढी उप-महानगरपालिका वडा नम्बर १६ स्थित भादागाउँ चारैतर्फ जंगलले घेरिएको थारु जातीहरुको गाउँ हो। यो गाउँमा थारु जातीको बखरिया, पसलदङगीया, दहित, चिल्लहवा, कुस्मी, राजवंशी र धम्लहवा थरका थारु जाती रहेका छन। तर आजभोली युवा पुस्ताहरुले आफ्नो थर लेख्दा चौधरी लेख्ने गर्दछन । दाङबाट बसाइसरेका भादाका थारु जातीहरुले आफ्नो सस्कृतिलाई बचाई राखेका छन् ।

चारैतिर हरियो जंगल ताल तलैयाको बीचमा भादा गाउँ रहेको छ । गाउँमा लहरै मिलेर बनेका परम्परागत घर छन्। तर यहाँको रोचक कुरा के छ भने अन्य जाति र समुदायका मानिसहरुलाई घरजग्गा बिक्री गर्न नपाइने नियम बनाइएको छ। थारु जातीको अगुवा अर्थात भलमन्सा (मुखिया) ले अन्य जातिका मानिसलाई घरजग्गा बेच्न नपाइने नियम बनाएका हुन्। जुन कारणले भादा गाउँमा अहिलेसम्म अरु समुदायका मानिसहरुको बसोवास छैन। थारु बाहके अन्य समुदायका मानिसलाई घरजग्गा बेचेमा थारु समुदायको सस्कृति र रितिरिवाज हराउने आशंकाले यो नियम लागु गरिएको त्यहाँका स्थानीयहरु बताउँछन्।

भादागाउँमा घरजग्गा बेच्नुपर्ने भए थारु समुदायकै मान्छेलाई बेच्नुपर्ने हुन्छ। धनगढी उपहानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष लक्ष्मीनारायण चौधरीले परापुर्वकालदेखि सुनिन आएको कुराका आधारमा एक जना तान्त्रिक विद्याका विद्धान भगवती दासले दाङबाट थारु समुदायलाई ल्याएर भादा गाउँमा बस्ती बसाएको भन्ने सुनेको बताए। अन्य जातिका मानिस आएर बसेपछि थिचोमिचो हुन्छ भनेर दासले तान्त्रिक विद्या भाकल गरेका कारण हाम्रो गाउँमा अन्य जातिका मानिसलाई जमिन विक्री गर्ने चलन छैन, उनले भने,‘भादा गाउँमा थारु समुदायको एक्लौटी बस्ती छ, जमिन विक्री गर्नु परेपनि आफ्नै समुदायका व्यक्तिलाई विक्री गर्ने चलन छ।’

मिक्स समुदायमा आफ्नो परम्परादेखि चलिआएको रितिसंस्कृति लोप हुने सम्भावना धेरै हुन्छ, वडा अध्यक्ष चौधरीले भने,‘कोही अन्य समुदायको व्यक्ति आएर बसेको छ भने वैधानिकताको कुरा उठ्छ।’ यस्तै भादागाउँ होमस्टे २ का सञ्चालक पूर्नाराम चौधरीले परम्परादेखि नै यो ठाउँमा थारुको बाहुल्यता भएका कारणले पनि अरु जातिको व्यक्ति जमिन किन्न नआउने गरेको बताए।

अन्य समुदायका मानिस आएर बस्दा हाम्रो कला संस्कृति समेत लोप हुन्छ, उनले भने,‘अहिलेसम्म पहाडी समुदायले जमिन किनेको छैन, अन्य जातिका मानिसले जमिन खरिद नगरेकाले पनि हाम्रो परम्परादेखि चल्दै आएको कला संस्कृतिको संरक्षण भएको छ।’भादागाउँमा अहिले थारु समुदायका २५० घरधुरि रहेका छन्। जसमा १ हजार ७ सय जनसंख्या रहेको छ। भादा गाउँ धनगढी देखि १७ किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम राजमार्गको राजीपुर देखि ७ किलोमिटर दक्षिण पश्चिम रहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here