दार्चुलाः सडकमै खोला (भिडियो पनि)

0

स्थलगत रिर्पोट
सुर्यबहादुर चन्द, देथला (दार्चुला)
–देथला–खार–खलंगा– तिंकर सडक निर्माण सम्पन्न नहुदै जीर्ण बन्दै गएको छ। जीरो प्वाइन्ट मानिने कर्कले भन्दा माथि देथला र सुन्दरपुर खण्डको दुई मिलोमिटर सड्कमा खहरे खोला बग्न थालेका छन्। ४, ५ वटा खहरे खोला सडकमै बग्दा जोखिमसमेत बढेको छ।

निर्माण कार्य अन्तिम चरणमा पुगेको अवस्थामा कालोपत्रे उप्किन, भत्किन र खहरे खोला सडक खण्डको बीचबीचमा बग्न थालेपनि सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयबासीको गुनासो छ। सडक कटानले ठाउँ ठाउँमा पहिरोको जोखिम पनि बढ्दै गएको छ।

यो सडकको आर्थिक वर्ष ०७३, ७४ देखि निर्माण कार्य सुरु गरिएको थियो। दार्चुला सदरमुकाम खलंगालाई जोड्ने सबैभन्दा छोटो मार्गका रुपमा समेत यो सडक चर्चामा थियो। महाकाली राजमार्ग भन्दा २५ किलोमिटर छोटो मानिएको यो सडकको दश करोड १४ लाख ८२ हजार ६ सय ९१ रुपैँयाको लागत अनुमान थियो।

टेण्डर प्रक्रिया अन्र्तगत डिभिजन सडक कार्यालयबाट २७ प्रतिशत घटिमा ग्वाल्लेक वज्रगुरु जेभीले निर्माणको जिम्मा पाएको थियो। हाल उक्त योजना पूर्वाधार कार्यालय अन्तर्गत सरेको छ। शैल्यशिखर नगरपालिका ३ कर्कले देखि निर्माण सुरु गरिएको कालोपत्रे सडक खण्डको अति आश्वयक खण्डमा समेत पर्खाल निर्माण नगरेको, आरसीसी ढलान नगरेको, निर्माण साम्रगी कमसल प्रयोग गरेकोलगायतका आरोप स्थानीयबासिन्दाले लगाएका छन्।

ग्वाल्लेक बज्रगुरुले निर्माण गर्ने जिम्मा पाएको ६ किलोमिटर लामो सडकमा खहरे खोलाको निकास व्यवस्थापन नगरिदा खोलाको पानी कालोपत्रे मार्ग भएर बग्न थालेको छ। गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएका हुनाले नवनिर्मित सडक खण्ड यो अवस्थामा पुगेको स्थानीय हिक्मत चन्दले बताए। ‘बेस हाल्ने ठाउँमा नै चिप्लो माटो प्रयोग गरिएपछि सडकले कति भार थोग्ला र?,’ उनले भने, ‘स्थानीयहरुले सबै टेक्निकल कुरा जानेको हुदैन। कोहि बोल्यो भने बिकासका काममा बिरोध गर्यो भन्छन ।’

चन्दले आफ्नै गाउँघरमा बनेको सडकको यो अवस्था देख्दा दुःख लाग्ने गरेको बताए। ‘तोकिएका मापदण्ड अनुसार निर्माण सामग्री प्रयोग भएको छ, छैन हेर्ने जिम्मा सम्बन्धित कार्यालयका प्राविधिकहरुको पनि त होला नि,’ उनले भने।

स्थानीयहरुले कमसल सामाग्री प्रयोग गरेर सडक निर्माण गरिएको बारेमा पटकपटक बिरोध गरिसकेका छन्। सम्बन्धित कार्यालयका प्रविधिकहरु पनि सुटुक्क आउने, जाने गरेकाले सबै माथि शंका उब्जेको चन्दले बताए। ‘यो मार्ग बन्नु भन्दा पहिलेकै सडक मार्ग ठिक थियो। पहिले कमसेकम खेतबारी त सुरक्षित थिए। सडकका नाममा मेशिनले खेतहरु कटान गर्यो। खेत भासिदै जान थालेका छन्,’ उनले दुःखेसो पोखे।

निर्माण कम्पनीका साइड इन्जिनियर रामप्रसाद भुषालले योजनाको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भैसकेको जानकारी दिए। कतिपय ठाउँमा गर्नुपर्ने कार्य नसकेको उनले बताए। इन्जिनियर भुषालले भने, ‘हामीले पाएको परिमाण (क्वान्टिटी) सबै सिद्धियो। इस्टिमेटमा भएको परिमाण भित्र रहेर मात्र कम्पनीले काम गर्ने हो।’ केहि ठाउँमा आरसीसी र पर्खाल निर्माण गर्ने कार्य मात्र बाँकी रहेको भुषालले बताए। बाँकी कार्य मापदण्ड अन्र्तगत नै भएको उनको तर्क छ।

कालोपत्रे भत्केको र उप्केको कुरा सम्बन्धित कार्यालयका प्रबिधिक स्वीकार गर्छन। सडक खण्डको दुरावस्थाका बारेमा पुर्वाधार कार्यालय बैतडीका ओभरसियर दिपेन्द्र धामीले भने, ‘नियमित नाली सफा गर्न नमिलेकाले सडकमा पानी पसेको हो। पानीले कालोपत्रेलाई क्षति पुर्याएको छ। कतिपय ठाउँमा नाली निर्माण नगरिएकाले यस्तो अवस्था सृजना भएको हो।’

अति आवश्यक कार्य इस्टिमेन्टमा नभएकाले ३० मिटर आरसीसीको भेरिएसन अर्डर परिमाण भिन्नता भएकाले आरसीसी कार्य बाँकी रहेको धामीले बताए। यो सडक पहिला डिभिजन सडक अन्र्तगत थियो। अहिले मात्र यो जिम्मा पुर्वाधार सडक कार्यालयले पाएको हो। भिओ भएकाले निर्माण कार्यको म्याद थप गरिएको छ। बिग्रिएको टुटफुट भएको सडक खण्ड पुनः निर्माण गर्न लगाउने ओभरसियर धामीले बताए। कबोल गरेको कुल रकमको १५ प्रतिशत मात्रै भिओ हुने कानुनी प्रावधान रहेको औल्याउदै उनले उक्त सडक खण्डका लागि त्यो रकम अपुग हुने बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here