बैतडीमा विजुली, सुबिधा भन्दा सास्ती

0
बैतडीको डिलाशैनीस्थित एक विद्यालयको छेटबाट तानिएको बिद्युत प्रशारण लाइन। तस्विरः पुरुषोत्तम नाथ योगी।

स्थलगत रिर्पोट
सुर्य बहादुर चन्द, डिलाशैनी (बैतडी)– डिलाशैनी गाउँपालिका २ का रमेश बोहोरा छिमेकीसँग पैसा सापटी मागेर एकाविहानै बैतडी सदरमुकाम हानिए। नजिकको सडक गन्तब्य गन्नाबाट झण्डै एक सय किलोमिटर जीपको यात्रा गरे पाँच सय रुपैँया भाडा तिरेर। सापटी मागेर कुनै अत्याबश्यक र आकस्मिक कामका लागि बोहरा सदरमुकाम पुगेका थिएनन। उनी विजुलीको महसुल बुझाउन गएका थिए।

विद्युत प्राधिकरणको कार्यालय सदरमुकामको गोठलापानीमा छ। उनले त्यहाँस्थित काउन्टरमा तीन महिनाको ९० रुपैँया न्युनतम शुल्क बुझाउन हजार रुपैँया गाडी भाडा खर्चिए। बोहोराको मात्र होइन यस्तो बाध्यता उक्त क्षेत्रका सबै उपभोक्ताको छ। ढिलै भएपनि गाँउका कुनाकन्दारासम्म विजुली त पुगेको छ तर त्यो सुबिधा भन्दा बढी सास्ती बनेको छ। ‘त्रैमासिक रुपमा ९० रुपैँया न्युनतम शुल्क आउछ, कहिलेकाही एक सय ५० सम्म पुग्छ,’ बोहोराले भने,‘सदरमुकाम पुगेर फर्कन जीपमा अचेल एकतर्फी पाचँ सय तिर्नै पर्छ ।’

गाउँघरमा सबैले विद्युतलाइन जडान गरेको देखासिखीमा आफुले पनि लाइन जोडेको उनले बताए। ‘तर महसुल बुझाउन सदरमुकाम धाउदाको दुःख र हैरानीले किन जोडे हुला भन्ने लाग्छ,’ उनले भने। लामो समयदेखि गाउँघरमा विद्युतको काम गर्दै आएका डिलाशैनी ६ का भुवन भट्ट महसुल बुझाउन सदरमुकाम धाउनुपर्ने बाध्यताले नयाँ ग्राहकहरु मिटर जडान गर्न अन्कनाउने गरेको बताउछन। ‘तीन महिना पुगेको ६ दिनपछि ब्याज तिर्नुपर्ने कारणले सापटी लिएर पनि महसुल समयमै बुझाउने पर्ने बाध्यता छ,’ भट्टले भने।

विकट क्षेत्रबाट पनि न्युनतम महसुल बुझाउन सदरमुकामै पुग्नुपर्ने अवस्थालाई इंगित गदै भट्टले भने, ‘यो सेवा सुविधा हो की सास्ती।’ बैतडीको दोगडा केदार गाउँपालिकाको अवस्था पनि उस्तै छ। वडा ६ का वडासदस्य मोहन कार्की पहिला विहान सदरमुकाम पुगेर महसुल बुझाई घर फर्किने गरेपनि अचेल साँझ घर पुगिन्छ की पुगिदैन त्यसको हेक्का नहुने गरेको सुनाउछन। ‘समयमा यातायातका साधन पाईदैनन पाइए पनि दोब्बर भाडा तिर्नु पर्ने हुन्छ,’ उनले भने, ‘पहाडी गाउँघरमा विजुली वत्ति बाल्नु भनेको दुःख पाउनु हो भन्ने सन्देश जादैछ।’

सुदूरपश्चिमका पहाडी जिल्लाका स्थानीयको समस्या प्राय एकैनासको छ। न्युनतम शुल्क तिर्न पनि सदरमुकाम धाउनुपर्ने। राज्यले सुविधा दिने हो भने स्थानीयस्तरमै महसुल बुझाउने व्यवस्था गर्नुपर्ने माग उनीहरुको छ। प्रत्येक क्षेत्रमा मोबाइल काउन्टरको ब्यवस्था हुनुपर्ने स्थानीयको भनाई छ।

नेपाल विद्युत प्राधिकरण बैतडी शाखाका प्रमुख मोहनराज जोशी स्थानीय स्तरमै काउन्टरको आवश्यकता रहेको स्वीकार्छन। बेला बखत काउन्टको माग हुदै आएको उनको भनाई छ। ‘स्थानीय स्तरमा बंैक शाखा नभएकाले अप्ठेरो परेको छ,’ जोशीले भने, ‘अब छिट्टै त्यस्ता मोबाइल काउन्टर खोल्ने गरी योजना बनाइरहेका छौं।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here