सुदूरपश्चिम प्रहरीलाई सुबिधा सम्पन्न बनाउछौं–डीआइजी सुबेदी

1

उत्तमराज सुबेदी । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख । प्रहरी नायब महानिरीक्षक (डीआइजी) सुबेदी यहाँ सरुवा भएर आएको झण्डै तीन महिना पुग्न लाग्यो । बरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) छदा महानगरीय प्रहरी परिसर काठमाडौंको सफल नेतृत्व गरेका सुबेदी डीआइजीमा बढुवा लगत्तै सुदूरपश्चिम आएका हुन् । बिभागमा ब्यवसायीक प्रहरी अधिकृतको छबि बनाएका उनी स्पष्टबक्ता, मिडिया मैत्री र राम्रो कमाण्ड क्षमताका कारण पनि चर्चित छन् । काठमाडौं प्रहरी प्रमुखको एक बर्ष लामो कार्यकालमा राजधानीको शान्तिसुरक्षाको अवस्था सुदृढ बनाउन सुबेदीले खेलेको भूमिकाको अहिले पनि बिभाग भित्र चर्चा हुने गरेको छ । धनुषामा प्रमुख प्रहरी उपरीक्षक (एसपी) हुँदा ‘संजय टक्ला’ काण्ड सार्बजनिक गरेपछि बिभागमा उनको चर्चा थप चुलिएको थियो । सुबेदी सुदूरपश्चिम आएपछि कडा लकडाउन सुरु भयो । यसबीच धेरै जिल्लाको भ्रमण गर्न नपाएपनि यहाँको वस्तुस्थिती र अपराधको प्रबृति अध्ययन गरिसकेका डीआइजी सुबेदीसंग प्रदेशको शान्तिसुरक्षा र समग्र अवस्थाका बारेमा महेन्द्रनगरपोष्टका लागि डम्बर गिरीले गरेको कुराकानीको सम्पादित अंश ।

तपाई सुदूरपश्चिम आएको तीन महिना पुग्न लाग्यो । यहाँको समग्र वस्तुस्थिति कस्तो पाउनुभयो ?
सुदूरपश्चिममा मेरो पहिलो यात्रा थियो । मन मष्तिष्कमा यो प्रदेश सवैभन्दा टाढा, भौगोलिक रुपमा विकट र पिछडिएको ठाउँ भन्ने लाग्थ्यो । अरुबाट पनि यस्तै कुरा सुन्दा हामीलाई बस्न र काम गर्न अप्ठेरो होला भन्ने सोच थियो । जब पहिलो पटक सुदूरपश्चिम पुगे त्यो भ्रमको अन्त्य भयो । ‘सुन्दर सुदूरपश्चिम’ भन्ने श्लोक पर्यटकहरुलाई लोभ्याउनका लागि काठमाडौं गुड्ने बसहरुमा लेखेको देख्दा अन्यत्रको भन्दा रोचक दृष्य लाग्यो । बसहरु पनि अन्य प्रदेशका भन्दा ठुला र नयाँ थिए । भौगोलिक कठिनाईका बाबजुत यहाँको पर्यटकीय सम्भावना अपार छ । रहनसहन र परम्परा पनि फरक छ । तराईका दुई जिल्ला कैलाली र कञ्चनपुर कृषि उत्पादनमा अग्रणी छन् । पहाडी जिल्ला र त्यसमा पनि विशेष गरी डडेल्धुरा, अछाम, दार्चुला बैतडी र डोटीका केही भाग एकदमै उर्वर छन् । अर्को तर्फ धार्मिक पर्यटनको हिसाबले पनि यो प्रदेश निक्कै धनी छ । यहाँ थुप्रै शक्तिपीठ छन् । तिनको दर्शनले मात्र पनि मन पबित्र भएको आभाष हुन्छ । शक्तिपीठहरुको दर्शनले झन् उर्जा प्राप्त भयो । समग्रमा भन्नुपर्दा पर्यटकीय हिसावले भरिपूर्ण र मनमोहक भएकाले सुदूरपश्चिमको भबिष्य निक्कै सुनौलो छ ।

अन्य प्रदेशसंग तुलना गर्दा सुदूरपश्चिमको शान्ति सुरक्षाको अवस्था कस्तो छ ?
म आफै प्रहरी कर्मचारी भएकाले मेरो पहिलो दायित्व भनेको समाजमा शान्तिसुरक्षा र अमनचयन कायम गर्नु हो । विगतमा मैले अपराध अनुसन्धानका क्षेत्रमा १० बर्षसम्म काम गरे । शान्तिसुरक्षाको विगत ५ बर्षयताको रेर्कड हेर्दा अन्य प्रदेशको भन्दा तुलनात्मक रुपमा सुदूरपश्चिमलाई मैले ‘शान्ति प्रदेश’ को रुपमा पाए । विशेष गरी संगठित अपराध यहाँ अन्य प्रदेशको भन्दा कम देखिन्छन । तर राजनीतिक झडप, विभिन्न बहानामा भएका झडप, विरोध प्रदर्शन लगायत भने भैरहेका छन् । लागुऔषध र मानव तस्करी संगठित अपराधका रुपमा देखिएका छन् । अन्य प्रदेशको तुलनामा गुण्डागर्दी कम छ । छदै छैन भने पनि हुन्छ । यो सकारात्मक कुरा हो । त्यस्ता घटनाहरुलाई नेपाल प्रहरीले निस्तेज बनाउदै पनि लगेको छ । तर यो प्रदेशमा सामाजिक विकृतिको कारणले सृर्जित अपराध बढेको देखिन्छ । हत्या घटनाहरुको तथ्यांक विश्लेषण गर्दा ८० प्रतिशत चिनजानको मान्छे, आफन्तले आफन्तलाई हत्या गरेको अवस्था देखिन्छ । बलात्कारको अवस्था हेर्यो भने मलाई दुख लाग्छ । बावुले छोरी बलात्कार लगायतका सामाजिक घृणित कार्य यो प्रदेशमा पछिल्ला दिनमा बढेको देखिन्छ । यो प्रदेशमा बालिकाहरुमाथि यौन शोषणका घटना अलि बढी देखिएका छन् । सामाजिक विकृति, जातीय छुवाछुत, धनी–गरिव बीचको विभेद र त्यसबाट सृजित अपराध पनि अलि बढेको देखियो । तर यो देशभरको समस्या हो । सुदूरपश्चिम प्रदेशको मात्र होइन् । यहाँ सामाजिक विकृतिको कारणले महिला माथि भेदभाव, घरेलु हिंसाका घटना बढी भइरहेका छन् । मदिरा सेवनले अपराधका घटनाहरुमा बढोत्तरी भइरहेको छ । यो प्रदेशमा पनि मदिरा, लागूऔषध दुव्र्यसनले गर्दा घटना बढेका देखिन्छन । अहिले विशेष गरी प्रदेश राजधानी धनगढी, महेन्द्रनगर जस्ता शहरी क्षेत्र र पहाडका सदरमुकाम आसपास क्षेत्रमा लागुऔषध दुव्र्यसनका कारणले सृर्जित अपराध देखा परेको छ । समग्रमा भन्नुपर्दा अन्य प्रदेशको भन्दा अवस्था सामान्य रहेको भएपनि सामाजिक विकृतिको कारणले सृर्जित अपराध यहाँ बढी छन् ।

समाजमा शान्तिसुरक्षा कायम गर्न कस्ता खालका चुनौतिहरुको सामना गर्नुपरेको छ ?
सुदूरपश्चिम प्रदेशलाई हेर्ने हो भने यहाँ २÷३ खालका अवस्था सृर्जित भएको देखिन्छ । मुख्य राजमार्ग । त्यसमा पनि विशेष गरी पूर्वपश्चिम राजमार्ग सडक–खण्डमा सवारीसाधन दुर्घटना भईसकेपछि ठुलो संख्यामा त्यहाँका स्थानीयबासिन्दा आएर सडक अवरोध गर्छन । त्यसलाई बार्गेनिङ प्वाइन्टको रुपमा प्रयोग गरेर चर्को क्षतिपूर्ति रकम माग्ने र त्यसमा महिला तथा बालवालिकाको प्रयोग गर्ने परम्परा छ । सवारी साधन दुर्घटना बाहेक अन्य स्थानीयस्तरमा माग पुरा गर्नका लागि पनि राजमार्गको दुरुपयोग गरेको देखिन्छ । सडक अवरुद्ध गर्ने खालको चुनौति पनि देखिन्छ । अर्को तर्फ अहिले कोरोनाका कारण विदेशबाट नेपालीहरु आइरहेका छन् यो सकारात्मक कुरा हो । तर यसले बेरोजगारी समस्या निम्त्याएर फेरी अपराधका घटना बढ्ने हुन की भन्ने चिन्ता पनि छ । हुन त हामीले यसलाई लक्षित गरी विभिन्न कार्यक्रम ल्याउँदै छौं । अरु प्रदेश जस्तै खुला सीमा नाकाले गर्दा सुरक्षाको हिसावले जोखिम छ । दुरदराज क्षेत्र जस्तै उत्तरी भेगमा मोटर बाटोको अवस्था राम्रो छैन । त्यो ठाउँमा विशेष गरी जंगली जनावरको अबैध शिकार हुने, त्यस्तो ठाउँमा अपराध गरेर धेरै लामो समय अपराधि लुक्ने, यार्सागुम्वा जस्ता जंगली जडिबुडीहरुको विषयलाई लिएर आपसी विवाद, झगडा हुन सक्ने जस्ता कुरा देखिएको छ । यति मात्रै होइन विकास निर्माणका कुरालाई लिएर स्थानीयस्तरमा राजनीतिकरण हुने, सानो कुरामा पक्ष विपक्ष गरेर झडप हुने सम्भावना यो प्रदेशमा मात्र नभएर सवै प्रदेशमा देखिएको छ । अर्कोतर्फ केही जिल्लामा हाम्रो प्रहरी जनशक्ति न्युन भएकाले थप्ने प्रयासमा छौं । अझै केही जिल्लामा प्रहरी जनशक्ति र प्रहरी इकाईको एकदमै कमी छ । टाढा–टाढाका अपराधिक क्रियाकलाप एउटै प्रहरी चौकीले हेर्र्नुपर्ने, समयमै घटनास्थलतर्फ प्रहरी पठाउन पनि समस्या हुने गरेको छ । अर्को भन्नै पर्ने कुरा के छ भने यहाँ दरबन्दी भन्दा बढी जनशक्ति कार्यरत छ । त्यसमध्ये पनि विशेष गरेर सिनियर अफिसरहरुमा जो दक्ष हुनुहुन्छ उहाँहरु यताको प्रदेश भन्दा अन्य प्रदेशमा जान रुचाउने हुनाले कता–कता हाम्रो प्रहरीको गुणस्तर भनौ अर्थात् क्षमतामा पनि ह्रास ल्याएको अनुभुति मैले गरेको छु । सिनियर अफिसरहरुले विभिन्न कारण जस्तै शहरी क्षेत्र, राजधानी शहरमा बस्नुपर्ने, छोराछोरीलाई राम्रो क्षेत्रमा पढाउनुपर्ने लगायत कारणले यस्तो भएको होला । जुन मुख्य रोग जस्तै भईसकेको छ । दोस्रो कारण भनेको यो प्रदेश छाडेर अरु प्रदेशमा बढी क्षमता वृद्धि गर्न सकिन्छ भन्ने हिसावले जाने गरेका होलान । तेस्रो कारण भनेको फेसनको रुपमा पनि यो प्रदेश छोडेर अन्य प्रदेशमा गएको देखिन्छ । हामीले प्रदेश सरकारको सहयोगले स्थानीयस्तरमा पनि प्रदेश प्रहरी क्षमता अभिवृद्धि कार्यक्रम प्रारम्भ गरिसकेका छौं । टेक्नोलोजी सम्वन्धी जनशक्ति कम छ । हरेक घटनाका लागि काठमाडौंबाट सिआइवीको टोली बोलाउनुपर्ने समस्यालाई अन्त्य गर्नका लागि अव टेक्नोलोजी सम्वन्धी जनशक्ति यसै क्षेत्रमा उत्पादन गर्दै छौं । केन्द्रबाट प्रशिक्षणका लागि दक्ष व्यक्ति बोलाएर विभिन्न खालका प्राविधिक जनशक्ति प्रदेशमै उत्पादन गर्दैछौं । यसै गरी विगतमा सिसिटीभीले शहरमा अपराध नियन्त्रणका लागि महत्वपूर्ण भूमीका खेलेको थियो । प्रदेश सरकारको सहयोगमा गत आवमा कैलाली र कञ्चनपुरका बजार क्षेत्रमा ४०÷५० वटा सिसिटीभी राखेका छौं । चालु आवमा कैलालीको अत्तरियादेखि धनगढीको त्रिनगर र गड्डाचौकी नाकादेखि चिसापानीसम्म सिसिटीभी जडान गर्दैछौं । यसले त्यहाँ हुने अपराधीक घटना न्यूनिकरण हुने विश्वास हामीले लिएका छौं । सीसीटिभी क्यामेराको मद्धतले तत्काल अनुसन्धान गर्न सक्छौं । राजमार्ग केन्द्रीत शहर बजार र त्यहाँ हुने अपराधको अनुसन्धान गर्न पनि सजिलो हुन्छ ।

प्रबिधीको दुरुपयोगले पनि पछिल्ला दिनमा अपराधीक घटना बढेको देखिन्छ । यो प्रदेशको अवस्था कस्तो छ ?
एउटा त सामाजिक विकृतिका कारणले सृजित अपराधहरु हामी कहाँ धेरै छन् । अर्कोतर्फ सामाजिक सञ्जाल दुरुपयोगका घटना पनि बढेका छन् । २१ औं शताव्दिमा सामाजिक सञ्जाल भनेको मानव माथिको बरदानको एउटा रुप हो । यसको सदुपयोग गर्ने ठाउँमा दुरुपयोगका घटना बढ्दै गएका छन् । उदाहरणका लागि फेसबुकमा प्रेम कथा सुरु हुन्छ । अनि पछि अर्को पात्रको बारेमा नजान्ने र अन्तिममा महिला वा बालिकाले आत्महत्या गर्ने जस्ता विकृति बढेका छन् । अर्को सामाजिक सञ्जालको दुरुपयोग गरेर तपाईलाई यतिको चिठ्ठा परेको छ । तपाई यति रुपैयाँ तिर्र्नुहोस् भनेर म्यासेज पठाउने र त्यसको प्रलोभनमा परेर युवायुवतीहरु, कतिपय अवस्थामा बुझ्ने मान्छे समेत फस्ने गरेका छन् ।

तपाईले काठमाडौं प्रहरी प्रमुख (एसएसपी) भएर सफल कार्यकाल विताउनुभयो । संघीय राजधानी र प्रदेशको अपराधिक घटनाक्रमहरु उस्ता उस्तै हुन् की फरक छन् ?
काठमाडौं भनेको देशको केन्द्रीय राजधानी हो । दोस्रो राष्ट्रिय तथा अन्तराष्ट्रिय जतिपनि देशका नियोग, राजदूताबास, संघसंस्थाका केन्द्रीय कार्यालय काठमाडौंमै छन् । विदेशी पर्यटकको गन्तव्य स्थलपनि काठमाडौं हो । देशभरका नेपाली दाजुभाई पनि कुनै न कुनै कामका लागि काठमाडौं आउजाउ गर्ने भएकाले जनघनत्व त्यति नै बढी छ । वेरोजगार पनि त्यति नै छन् भने रोजगार पनि त्यति नै छन् । सुकम्वासी पनि त्यतिकै छन् । त्यसैले ठूलो समाजमा अपराधिक घटना धेरै हुनु अस्वभाविक होइन । त्यसमा पनि टेक्नोलोजीको प्रयोग गरेर गरिने अपराधहरु बढी छन् । अपराध गर्ने २÷३ कारण मध्ये एउटा आर्थिक लाभ नै हो । राजधानी शहरमा आर्थिक कारोवार पनि धेरै हुन्छ । रुपैयाँ, गरगहना पनि त्यही धेरै हुन्छ भने त्यस्ता अपराधिक तत्वको निसाना काठमाडौं भैरहेको छ । त्यसको तुलना गर्ने हो भने सुदूरपश्चिम प्रदेशमा अपराध स्वतः कम छ । संगठित अपराध भने सुदूरपश्चिममा छैन । यहाँ तस्करहरुको जालो हुन सक्छ । त्यसमा पनि धेरै कुरा छन् त्यो जालो तोड्न प्रहरी सक्षम छ । तोड्छ पनि । तोडिराखेको पनि छ । काठमाडौंतिर धेरै संगठित अपराध हुने गर्छ । रोजगारको नाममा ठगी, विदेश पठाउने नाममा ठगी गर्ने जस्ता घटना काठमाडौंमा धेरै छन् । यहाँ मिटर व्याजको केही समस्या छ भन्ने सुनिएको छ । लकडाउनले बाहिर आएको छैन । यो देशभर छ राजधानीमा बढी होला । यहाँ मिटर व्याज र ढुकुटी कहिकतै होला । यी यस्ता अपराध हुन् कतिपय अपराध प्रहरीमा दर्ता पनि हुँदैनन् । पीडित आफै आउँदैनन् । यस्ता क्रियाकलापलाई निरुत्साहित गर्ने खालका कार्यक्रम अव ल्याउँछु । जुवातासको गाउँतिर समस्या छ । यसलाई रोक्न अभियानको रुपमा हामी लागेका छौं । यहाँ सवारी दुर्घटनासँगै हरेक महिना घाँस काट्न जाँदा भिरबाट लड्ने, माटोको ढिस्कोले पुरिने, खाल्डामा पुरिने जस्ता घटनालाई अत्यन्त संवेदनशील रुपमा न्यूनिकरण गर्र्नुपर्ने अवस्था छ । यसमा पनि नेपाल प्रहरी लागेको छ ।

लकडाउनको अवधीमा प्रहरीले फ्रन्ट लाइनमा बसेर काम गरेको अनुभव छ ? कस्ता समस्याहरुसँग सामना गर्नुभयो ?
वास्तमा भन्ने हो भने काठमाडौंमा लकडाउन सुरु भएपछि म सुदूरपश्चिम प्रदेशमा आएको हुँ । मलाई लागेको थियो काठमाडौंमा यस्तो अवस्था छ भने सुदूरपश्चिम प्रदेशमा त बेहाल होला । आउने वितिकै सुदूरपश्चिमका ९ जिल्ला नै भ्रमण गरे, क्वारेन्टिनमा पनि निरीक्षण गरे । वास्तवमा सुदूरपश्चिम प्रदेशमा कोरोना अर्थात् कोभिड–१९ को रोकथामका लागि राम्रो तयारी भएको पाए । अन्य प्रदेशको तुलना गर्ने हो भने यहाँ एकदमै राम्रो देखियो । यसको तयारीका लागि विशेष गरि स्थानीय सरकार, प्रदेश सरकार, जिल्ला सुरक्षाकर्मी, नागरिक सामाज, पत्रकार र सम्पूर्ण राजनीतिक पार्टीको तयारी वास्तवमै उत्कृष्ट थियो । फलस्वरुप भारतबाट नेपाली दाजुभाई आउँदा पनि आजको मितिसम्म आइपुग्दा जुन हिसावले समाजमा कोरोना फैलिएर जानुपर्ने सम्भावना थियो त्यसलाई न्यूनिकरण गर्न टिम वर्क राम्रो देखियो । हरेक काममा टिम वर्क गरेर गएमा सुदूरपश्चिमले ५÷७ वर्षभित्र ठूलो फड्को मार्छ भन्ने मैले विश्वास लिएको छु । प्रदेशमा जुन एकता, मेहनत, लगनशिलता देखिएको छ, त्यो आफैमा शक्ति हो ।

सुदूरपश्चिम प्रहरीमा जनशक्ति र भौतिक स्रोतसाधनको अवस्था कस्तो छ ?
दक्ष जनशक्ति हुँदा हुँदै पनि अहिले अपराधको प्रकृति फेरिएको छ । फरक टेक्नोलोजीको प्रयोग भएको छ । सडकहरु हिजोसम्म विकट थिए, प्रहरीसँग गाडी थिएन भने अपराधीले सवारी साधन प्रयोग गर्न सक्दैन थियो । अव जताततै यातायात र सडक बनेको छ, अपराधीले सवारी साधन प्रयोग गर्ने भए । त्यस्तै हिजोसम्म ग्रामिण क्षेत्रमा मान्छे बढी थिए, शहरमा त्यति धेरै जनघनत्व थिएन, अव जनघनत्व एकदमै बढी छ । यी अवस्थाले गर्दा चुनौति छ । प्रहरी जनशक्ति नै कम छ । दक्ष जनशक्ति बढाउनुपर्ने, सवारी साधन पनि अन्य प्रदेशको भन्दा कम छ । भौतिक संरचना हेर्ने हो भने कैलाली, कञ्चनपुर लगायत केही जिल्लामा ठिकै छ । बझाङमा आफ्नो संरचना २ वटा मात्रै छन्, बाँकी भाडा र सरकारी निकायमा प्रहरीले बस्नुपर्ने बाध्यता छ । संरचनाको हिसावले पनि हामी पछाडि नै छौं । तर संरचना छैन भनेर कार्य भने छोडेका छैनौं । आफ्नो कर्तव्य र जिम्मेवार पालन गरेकै छौं । प्रहरी संरचना नभएपछि प्रदेश सरकारको सहयोगमा प्रहरी जनशक्तिको क्षमता अभिवृद्धि, प्राविधिक शिक्षा भएका दक्ष जनशक्ति, कम्प्युटर अप्रेटर, सवारी चालक लगायतमा दक्ष जनशक्ति यही साउन महिनामा उत्पादन गर्दैछौं । भौतिक संरचना अन्तर्गत यो वर्ष मात्रै प्रदेश सरकारले १९ वटा प्रहरी ईकाइ निर्माणका लागि बजेट निकाशा गरेको छ । जसका लागि साउन, भदौंमा टेण्डर हुन्छ होला । प्रदेश सरकारले टेक्नोलोजी र सिसिटिभीका लागि रकम निकाशा गरेको छ । सवारी साधनको मागलाई केही हद पूर्ति गर्न प्रदेश सरकारले रकम निकाशा गरेको छ । निकट भविष्यमा खरिद गर्दैछौ र अर्कोतर्फ प्रहरी आचरण व्यवहारमा सुधार र भ्रष्टाचारमा शुन्य सहनशीलतालाई मध्यनजर गर्दै त्यस्ता कार्यमा संलग्न दोषिलाई कानुनको कठघेरामा उभ्याउने गरि कारवाही गर्ने कठोरतापूर्वक आन्तरिक शुद्धिकरण गरेका छौं । प्रहरीको मनोबल उच्च हुने कार्यक्रम गरेका छौ ं। हरेक क्षेत्रमा प्रदेश ७ अगाडि हुनुपर्छ भन्ने प्रहरीमा भावना जागरुक गर्ने कार्य पनि गरेका छौ ं। चुस्तदुरुस्त बनाउन प्रदेश, स्थानीय सरकारको सहयोग पाइएको छ । स्थानीय सरकारले अस्थायी प्रहरी चौकी निर्माण गरेको छ । अहिले सेवा थप पारदर्शी तरिकाले अगाडी बढ्दै गएको छ । बस्न नसकेको स्थानमा प्रहरीलाई बाह्रै महिना बस्ने व्यवस्था बनाउँदैछु ।

सुदूरपश्चिम पछिल्लो समय कालापानी, लिपुलेक र लिम्पियाधुराका कारणले पनि चर्चामा छ । अतिक्रमित नेपाली भुमी वरपर सुरक्षा अवस्था कसरी व्यवस्थापन गरिरहनु भएको छ ?
यसमा मैले भन्दा पनि माथिल्लो स्तरबाट पहल भइरहेको छ । सरकारको निर्णयपछि सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीको बीओपी समेत स्थापना भईसकेको छ । ती स्थानमा सशस्त्र प्रहरीले सुचनाको नेटवर्क समेत विस्तार गरेको छ । ती क्षेत्रहरुमा नेपाल प्रहरीले पनि आफ्नो तरिकारले सुरक्षा दिएको छ ।

जनताले ‘प्रहरी मेरो साथी’ भन्ने अनुभुति गर्न पाएका छन की छैनन् ?
प्रहरीको बोली बचन आचरण व्यवहार ठिक भएन, रुखो भयो भन्ने जनगुनासो आएको पक्कै पनि सत्य हो । यसलाई शुद्धिकरण गर्नका लागि नेपाल प्रहरीले अभियाननै थालेको छ । यो अभियानलाई सुदूरपश्चिममा अझ बढी प्रभावकारी ढंगले संचालन गर्नुपर्ने छ । यो कार्यक्रम देशमा बाढी पहिरोको प्रकोप कम हुनासाथ सुरु गछौं । प्रहरीलाई प्रशिक्षण गराउँछौं, जनतासँग बोली बचन कसरी गर्ने ? अनौैपचारीक रुपमा सुरु गरिसकेका छौं । यसलाई अव औपचारीक रुपमा गर्नुपर्ने अवस्था मात्र छ । प्रहरीले रुखो बोल्ने, कहिलेकाही भेदभावपूर्ण शव्दको प्रयोग गरेको भन्ने गुनासो पनि आएको देखिन्छ त्यसलाई निर्मूल पार्नका लागि अहिले काम गरिरहेका छौं ।

कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको पनि दुई बर्ष बित्यो । दोषी पत्ता लागेको छैन् अनुसन्धान कहाँ पुग्यो ?
निर्मला हत्याकाण्डबारेमा मैले मेरो तर्फबाट विश्लेषण गरेको छु । म त्यो बेला केन्द्रीय प्रवक्ता भएकाले मिडियासँग पनि नजिक थिए । सुरुमा प्रारम्भिक अनुसन्धानको बेलामा तत्काल खटिएको प्रहरीबाट केही लापरवाही त भयो? तर त्यतिले गर्दा मात्र अनुसन्धान पूर्णरुपमा असफल हुनुपर्ने अवस्था थिएन । अपराध अनुसन्धानमा जवसम्म जन–सहयोग प्राप्त हुदैन । जनताको नजिक जान सकिदैन अनि समस्या हुन्छ । अपराध समाजमै घट्छ । अपराधी पनि समाजकै अंग हो । अपराध र अपराधीको सुचना समाजलाई नै हुन्छ । अव त्यो समाजमा छ भनेर हल्ला गर्दै जाने त कुरा हुँदैन । जोसँग सुचना छ त्यस्तो मान्छेलाई पहिचान गरेर प्रहरीले सम्पर्क बनाएर ती सुचनाको टेक्नीकल विश्लेषण गरेर अनुसन्धानको पाटो टुङ्ग्याउनुपर्ने हो । हाम्रो कञ्चनपुरको पाटो सुरुमा के भईदियो भने तत्काल प्रहरीले अनुसन्धान प्रक्रिया पुरा गर्न पनि सकेन अनि जनतासँगको दुरी पनि बढ्यो । दुभाग्यपूर्ण बल प्रयोग गर्ने स्थिति आयो । मान्छे मर्नेसम्मको अवस्था पनि आयो । यसले गर्दा कञ्चनपुर प्रहरी जुन हिसावले जनतासँग जानुपर्ने थियो जान सकेन । त्यसकारणले यो घटना लम्बिदै गयो र घटनाको अनुसन्धान जति लम्बिदै जाँन्छ त्यसपछि जटिलता पनि थपिदै जाँन्छ । त्यसले गर्दा अनुसन्धान प्रक्रिया ढिला भएको हो । तर यति भन्दै गर्दा नेपाल प्रहरीको लामो इतिहास पनि छ । कतिपय घटना १० देखि १२ बर्षपछि पनि पत्ता लागेको अवस्था छ । लगातार फ्लोअप गर्दै गर्दा नेपाल प्रहरी घटनालाई निष्कर्षमा पुर्याउँछ । यस घटनालाई निरन्तरता दिएर म आफु पनि पहिले देखि नै उच्च महत्वका साथ हेरिरहेको छु । राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा चर्चा पाएको विभत्स घटनालाई तार्किक निष्कर्षमा पुर्याएर अपराधीलाई कानूनी कठघेरामा उभ्याउनुपर्छ भन्ने मान्यता छ । विगतदेखि नै एउटा टिम बनाएर यसको अनुसन्धान प्रक्रिया अगाडी बढाएका छौं । हामीलाई विश्वास छ हामी निष्कर्षमा पुर्याएर छोड्छौं ।

आइजीपी शैलेश थापा क्षेत्रीले निर्मला हत्या प्रकरणलाई विशेषरुपमा अनुसन्धान गरी टुंगो लगाउन निर्देशन दिएको कुरा मिडियामा आएको छ ? के अव टुंगो लाग्छ ?
आफ्नो क्षेत्रमा भए गरेका घटनाहरुका लागि आइजीपी सापले निर्देशन दिए मात्र गर्ने नभए नगर्ने भन्ने होइन त्यो कार्य गर्नुपर्ने नेपाल प्रहरीको कर्तव्य नै हो । नेपालभर कुनै पनि घटनाको अनुसन्धान होस्, पीडितले न्याय पाओस्, दोषिलाई कारवाही होस् भन्ने हुन्छ । अन्य विशेष निर्देशन दिने अवस्था होइन । यो हामी आफैले गर्ने कार्य हो । जिम्मेवारी लिने हो । यसमा हामी जिम्मेवारी पनि छौं ।

महेन्द्रनगरको नविल बैंक लुटपाट प्रकरण पनि अहिलेसम्म पता लाग्न सकेको छैन । यस्ता ठुला प्रकरणमा किन अनुसन्धान भईरहेको छैन ? के फाइल बन्द भएको हो ?

नविल बैंकको लुटपाट घटनाको फाइल बन्द भएको होइन । अपराध समाजमा घटेको हुन्छ । अपराधको अनुसन्धान पनि भएकै हुन्छ । धेरै अपराध अनुसन्धान तत्कालै टुङ्गिएर कानुनको दायरामा अपराधी आइसकेको हुन्छ । यो हामी कहाँ मात्र होइन १०० प्रतिशत सफल भइन्छ भन्ने पनि हुदैन । कुनै पनि जघन्य अपराधको फाइल बन्द गर्ने भन्ने हँुदैन । त्यो कानुन र व्यवहारले पनि दिदैन । नविल बैंकको घटना पनि बन्द भएको अवस्था छैन त्यो जारी छ । अहिले अनुसन्धान प्रक्रिया पुरा भएको छैन । निर्मलाको केस जस्तै महत्व दिएर अनुसन्धान भईरहेको छ । निष्कर्षमा पुर्याउने प्रयासमा हामी छौं ।

पछिल्लो समय विप्लव माओवादीका गतिविधि समेत बढीरहेका छन ? कसरी नियन्त्रण गरिरहनुभएको छ ? योजना के छ नियन्त्रणको ?
नेपाल सरकारले प्रतिबन्ध लगाइसकेपछि सवै खाले उनीहरुका गतिविधी नियन्त्रण गर्न हामीले खोज्छौं । हामीले कानुनको दायरामा ल्याउँछौं । समाजमा देखिएको जवरजस्ती चन्दा असुल्ने, धम्की दिने खालका क्रियाकलाप भएका गुनासा आउँछन् । त्यसमा संलग्न रहेकालाई कानुनको दायरामा ल्याउँछौं र ल्याईराखेका पनि छौं । हामी त्यस्ता उच्छृखल क्रियाकलापमा नलाग्न समेत आम नागरिकलाई अनुरोध गर्दछौ ।

अन्त्यमा सुदूरपश्चिम प्रहरी प्रमुखको नाताले यहाँका आम नागरिकलाई के सन्देश दिनुहुन्छ ?
विशेष गरि आम नागरिकलाई आफ्ना छोराछोरी के गर्दै छन्, भन्ने कुरा जानकारीमा राख्न अनुरोध गर्दछु । बुवाआमाले छोराछोरीलाई सहि बाटो हिड्न प्रेरित गर्नुपर्छ । छोराछोरीलाई सम्झाउने, बुझाउने, के गर्दै छन् भन्ने कुरा बुझ्न सकिएन भने अहिले देखिएको सामाजिक सञ्जालको दुरुपयोग र ड्रग्सको शिकार भइन्छ । विशेष गरि शहरी क्षेत्रका अभिभावकलाई निवेदन गर्न चाहन्छु । दोस्रो कुरा सडक दुर्घटना बढेको छ सबै जिम्मेवार हुनुपर्छ । जिम्मेवार भएन भने प्रहरीको एकल प्रयास, संघसंस्था, पत्रकारको प्रयासले मात्रै हुँदैन । त्यसकारण सवैको सहयोग उतिकै आवश्यक छ । समाजमा सवै राम्रा मान्छे बस्छन् भन्ने पनि छैन कोही खराव मान्छे पनि बस्ने गरेका छन् । त्यसैले कहिकतै अपराध हुन लागेको छ, भईरहेको छ, हुन सक्छ भन्ने लागेको छ भने, वा कतै शंकास्पद वस्तु, वा व्यक्ति देखेपछि नेपाल प्रहरीको १०० नम्बरमा डायल गर्न समेत अनुरोध गर्दछौं ।

1 COMMENT

  1. Dear Uttam jee

    Tapai ko karykal safal hos , Nirmala hataya kand ko rahasay kholan safal hunu hos vane kamana garda chhu ! Yp kshyetra ko santi surkshya kayam garan safal hunu hos yehi Suv kamana chha .

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here