hilltake everestbank
 डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स नै बिरामी !

डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स नै बिरामी !

धनगढीः डिलाशैनी गाउँपालिकाको एम्बुलेन्स एक वर्षदेखि पन्सेरामा थन्किएको छ।

मर्मत सम्भारको अभावमा सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेन्स थन्किएको हो। एकै ठाउँमा लामो समय राखिएका कारण टायरलगायत अन्य पाटपुर्जा बिग्रिसकेका छन्। बिग्रिएको एम्बुलेन्सको मर्मत नगर्दा बिरामीले सेवा पाउन सकेका छैनन।

gimigroup

सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले २०७६ कार्तिकमा डिलासैनी गाउँपालिकालाई ३९ लाखको ‘बी ग्रेड’ को अत्याधुनिक एम्बुलेन्स खरिद गरी हस्तान्तरण गरेको थियो। केही वर्ष एम्बुलेन्स राम्रैसँग चलेको थियो। एम्बुलेन्सबाट बिरामीले सेवा पनि पाए।

तर, बिग्रिएपछि गाउँपालिकाले मर्मतमा चासो नदिदा थन्किएको एक स्थानीयले बताए। एम्बुलेन्स अभावमा बिरामी भने सास्ती खेप्न बाध्य छन्। एम्बुलेन्स सञ्चालनमा ल्याउन पालिकाले कुनै चासो नदिएको स्थानीयको गुनासो छ।

एम्बुलेन्स जस्तो संवेदनशील साधन एक वर्षदेखि यसरी थन्किँदा समेत जनप्रतिनिधिहरूले चासो नदिएको भन्दै स्थानीय आक्रोशित छन्। अत्यावश्यक साधनको रुपमा रहेको एम्बुलेन्स सञ्चालन र व्यवस्थापनमा पालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ।

बिरामीलाई उपचारका लागि अस्पताल लैजान चर्को भाडा तिरेर नीजि सवारीसाधन खोज्नुपर्ने बाध्यता रहेको एक अर्का स्थानीयले बताए। गाउँपालिका अध्यक्ष सन्तोषप्रकाश जोशीले लामो समयसम्म एम्बुलेन्स एकै स्थानमा रहेकाले मर्मत गर्न धेरै खर्च लाग्ने बताए। धनगढीबाट मेकानिक मगाई मर्मत पश्चात सामाजिक विकास मन्त्रालयललाई नै बुझाउने तयारी भइरहेको उनको भनाई छ।

‘मर्मत गर्नमा नै बढी खर्च लाग्छ, पटक पटक बिग्रन्छ, मर्मत गरेर चलिहाले पनि कहिले धनगढी त कहिले नेपालगञ्ज गर्दा केही दिनमा फेरि बिग्रिहाल्छ,’ उनले भने, ‘एम्बुलेन्स मर्मत गरेर सामाजिक विकास मन्त्रालयललाई नै बझाउँछौं। नयाँ सानो एम्बुलेन्स माग गछौं। त्यो एम्बुलेन्स हाम्रो यहाँको लागि उपयुक्त छैन्। त्यसैले बढी खर्च गरेर पुरानो मर्मत गरेर चलाउनु भन्दा अब छिट्टै गाउँकार्यपालिकाको बैठक बसेर नयाँ सानो एम्बुलेन्स माग गछौं।’

सुदुरपश्चिम प्रदेश सरकारले आव २०७५र०७६ को बजेटमा ७ वटा पहाडी जिल्ला दार्चुला, बैतडी, डडेल्धुरा, बझाङ, अछाम, बाजुरा र डोटीका १६ वटा निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको थियो।

Mahendranagar Editor