hilltake everestbank
 पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत

पौडेलले कांग्रेसबाट दिएको राजीनामा देउवाले गरे स्वीकृत

नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले शपथअघि आफू सक्रिय रहँदै आएको पार्टी नेपाली कांग्रेसबाट अलग भएका छन्।

पौडेलले सोमबार दिउँसो कामु प्रधानन्यायाधीशबाट शपथ लिने कार्यक्रम छ।

gimigroup

उनले आइतबार नै कांग्रेस केन्द्रीय कार्यालयमा पत्राचार गर्दै कांग्रेस पार्टीको पद, जिम्म्वारी र साधारण सदस्यसमेतबाट अलग भएको जानकारी गराएका थिए।

पौडेल कांग्रेसमा वरिष्ठ नेता, केन्द्रीय सदस्य, केन्द्रीय कार्यसम्पादन समिति सदस्य, केन्द्रीय संसदीय बोर्ड सदस्य तथा गत मंसिरमा तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सांसद थिए।

‘नेपाली कांग्रेसका नेता, केन्द्रीय कार्यसमितिका सदस्य रामचन्द्र पौडेल २०७९ फागुन २५ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालकोे राष्ट्रपति पदमा निर्वाचित हुनु भएपछि नेपाली कांग्रेस पार्टीको पद, जिम्मेवारी र साधारण सदस्य समेतबाट अलग हुनुभएको छ,’ कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले भने, ‘उहाँले आइतबार दिनुभएको राजीनामा सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) बमोजिम आइतबारकै मिति (फागुन २८) देखि लागु हुने गरी स्वीकृत गर्नु भएको छ।’

पौडेलले कांग्रेसमा लामो समयसम्म आवद्ध रहेर राष्ट्रियता, लोकतन्त्र र पार्टी संगठनमा पुर्‍याएको योगदानको उच्च सम्मान र कदर गर्दै सभापति देउवाले राष्ट्रपति पदको गरिमा, मर्यादा, दायित्व र जिम्मेवारीलाई संविधानको मर्म र भावना अनुरुप कार्यसम्पादन गर्न पौडेल सफल हुनेसमेत विश्वास लिएका छन्।

‘उहाँको कार्यकाल सदैब स्मरणीय रहनेछ भन्ने विश्वासका साथ सभापति देउवाले सम्माननीय राष्ट्रपतिलाई हार्दिक शुभकामना व्यक्त गर्नु भएको छ,’ मुख्यसचिव पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। पौडेल गत फागुन १३ गते ८ दलको समर्थनमा राष्ट्रपति उम्मेदवार बनेका थिए। फागुन २५ मा भएको निर्वाचनमा ११ दल र केही स्वतन्त्र सांसदकोसमेत सहयोगमा उनी राष्ट्रपतिमा निर्वाचित भएका थिए।

पौडेल २०१७ सालदेखि कांग्रेस र यसका भ्रातृ संगठनहरूमा क्रियाशील थिए। उनी विभिन्न समयमा गरी १४ वर्ष जेलसमेत परेका थिए। राष्ट्रपति भइसकेपछि कुनै पनि पार्टीमा क्रियाशील रहन नहुने व्यवस्थाअनुसार उनले पार्टी छाडेका हुन्।

Dipak Dhamala

Leave a Reply

Your email address will not be published. Required fields are marked *