hilltake everestbank
 रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन लड्ने कांग्रेस नेता भट्टराईको घोषणा

रामचन्द्र राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन लड्ने कांग्रेस नेता भट्टराईको घोषणा

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराईले तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनमा उम्मेदवार बन्ने दाबी गरेका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य बनेका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उपनिर्वाचन हुने भएको भएकोले नेता भट्टराईले उम्मेदवार बन्ने घोषणा गरेका हुन् । 

आँबुखैरेनीमा शुक्रबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सम्बोधन गर्दै भट्टराईले पाटी सभापति शेरबहादुर देउवाले ‘चुनावको प्रचारमा हिँड्नु टिकट तपाईले पाउनु हुन्छ’  भनेको बताए । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि सुरेश भट्टराई, एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर चितौरे मगर, आँबुखैरेनी खानेपानी उपभोक्ता समितिका उपाध्यक्ष शालिग्राम अधिकारी लगायतले  देशको निकास दिने र विकास दिने नेपाली कांग्रेस भएको कुरा जनतालाई बुझाएर उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारलाई विजय गराउन कटिबद्ध भएर लाग्न जरुरी रहेको बताए । नेता भट्टराईले गाउँपालिका–२ स्थित एक्लेफाँट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्रथम अधिवेशनको उद्घाटन गरेका थिए ।

gimigroup

प्रतिनिधि सभामा निर्वाचित व्यक्ति राष्ट्रपति बनेमा सो निर्वाचन क्षेत्र रिक्त हुने र ६ महिना भित्र उपनिर्वाचन हुने कानुनी व्यवस्था छ । तनहुँबाट केन्द्रीय सदस्य तीन जना रहेका छन् । केन्द्रीय सदस्य शङ्कर भण्डारीले तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भइसकेका छन् भने अर्का केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौँ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

केन्द्रीय सदस्य भट्टराईले सङ्घीय निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बन्ने चाहाना राखेका थिए, तर वरिष्ठ नेता पौडेल उम्मेदवार बनेपछि उनी पछि हटेका थिए ।

Dipak Dhamala