काठमाडौँ – २८५९ औं सोनाम ल्होसार ह्योअी तावार ल्हो (बिरालो वर्ष) का अवसरमा टुँडिखेलमा तीन दिवसीय ल्होसार पर्व मनाइने भएको हो ।
ल्होछार मूल समारोह समितिले बिहीबार बौद्ध चुच्चेपाटीस्थित घेदुङको कार्यालयमा पत्रकार सम्मेलन गर्दै जानकारी गराएको हो ।
समितिका अनुसार तामाङ समुदायको राष्ट्रिय संस्था नेपाल तामाङ घेदुङलगायत अन्य विभिन्न संघ–संस्थाको सहभागितामा शुक्रबार, शनिबार र आइतबार ल्होसार मनाउन लागिएको हो ।
महोत्सवमा तामाङ जातिको सांस्कृतिक संस्था ताम्बा, बोन्पो तथा लामा गुरुद्वारा विशेष पूजाआजा, सांस्कृतिक झाँकी प्रदर्शन, घोडचढी र ख्याति प्राप्त कलाकारद्वारा परम्परागत गीत, नृत्य, दोहोरी, डम्फू सेलो, माने तथा म्हेन्दोमाया प्रस्तुति हुनेछन् । मौलिक खानाका परिकार, भेषभुषा, तामाङ जातिसम्बन्धी पुस्तक, गीति क्यासेट तथा परम्परागत वस्तुलाई स्टलमा प्रदर्शन गरिने घेदुङका सहअध्यक्ष कुमारसिं घिसिङले बताए ।
पहिलो दिन सांस्कृतिक उपसमितिले कलाकारद्वारा विशेष सांस्कृतिक कार्यक्रम प्रस्तुति गर्नेछ । दोस्रो र तेस्रो दिन विशेष पूजापाठपछि सांगीतिक कार्यक्रम तय गरिएका छन् । तेस्रो दिन प्रधानमन्त्री पुष्पकमल दाहालको समेत सहभागिता रहने कार्यक्रम छ । ल्होछारले तामाङ जातिको उद्गम सभ्यता, संस्कृति, सांस्कृतिक अस्तित्व र पहिचानलाई समेत प्रतिविम्बित गर्ने उनको भनाइ छ ।