hilltake everestbank
 उद्योग महासङ्घद्वारा आन्दोलन घोषणा, कालो ब्यानर देखाउनेदेखि तालाबन्दीको कार्यक्रम

उद्योग महासङ्घद्वारा आन्दोलन घोषणा, कालो ब्यानर देखाउनेदेखि तालाबन्दीको कार्यक्रम

काठमाडौँ – नेपाल औद्योगिक क्षेत्र उद्योग महासङ्घले औद्योगिक क्षेत्रमा ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय तत्काल फिर्ता गर्न सरकारसँग माग गरेको छ । बिहीबार महासङ्घले पत्रकार सम्मेलन गर्दै एकैपटक ७ सय प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय नियमावली विपरीत भएकाले तत्काल निर्णय फिर्ता लिन माग गरेको हो ।

वि।सं।२०७१ सालमा औद्योगिक क्षेत्र सञ्चालन तथा व्यवस्थापन नियमावली, २०७१ जारी भएपछि भाडावृद्धिको मापदण्ड बनाएर ५/५ वर्षमा भाडा वृद्धि गर्नुपर्नेमा नियमविपरित २०७२/२०७३ सालमा १५/१५ प्रतिशतले भाडा वृद्धि गर्ने र २०७५ मा एकैपटक ७०० प्रतिशतसम्म वृद्धि गर्ने कार्य नियम विपरीत भएको महासङ्घले बताएको हो ।

gimigroup

पत्रकार सम्मेलनमा बोल्दै महासङ्घका अध्यक्ष रामहिरा पाठकले महासङ्घको आग्रहलाई बेवास्ता गरे पहिलो चरणमा मंसिर २५ गतेदेखि भाडा वृद्धि फिर्ता गर्न मागसहितको कालो ब्यानर तथा कालो झण्डा प्रदर्शन गर्ने, लिमिटेडलाई भाडा, शुक्ल आदि रकम भुक्तानी नगर्ने र महाप्रबन्धकको कार्यकक्ष तथा क्षेत्र व्यवस्थापकको कार्यकक्षमा सांकेतिकरुपमा एकदिने तालाबन्दी गर्ने चेतावनी दिए ।

उनले नाफाको व्यापार राज्यले गर्ने नभएको भन्दै उद्योगहरू अहिले धराशायी अवस्थामा पुगेको बताए । उनले आर्थिक मन्दीको कारण उत्पादन र बिक्री घटेको, बैङ्कको ब्याज बढेको अवस्थामा राज्यले उद्योगलाई बचाइराख्न छुट, सुविधा र सहुलियत दिनुपर्नेमा राज्यबाट सञ्चालित लिमिटेडले उल्टै ७ सय प्रतिशतसम्म भाडा वृद्धि गरेको बताए । महासङ्घले सरकारले भाडावृद्धि तत्काल फिर्ता गरी नेपाल औद्योगिक क्षेत्र, उद्योग महासङ्घलाई वार्तामा बोलाइ सहमतिको निर्णय कार्यान्वयन गर्न आग्रह गरे ।

अध्यक्ष पाठकले उद्योगहरूले रोजगारी सिर्जना गर्ने, राज्यलाई कर तिर्ने, उपभोग्य वस्तुमा परनिर्भरता कम गर्दै निर्यात प्रवर्द्धन गर्ने बताए । उनले राज्यले पनि उद्योगमैत्री वातावरण सञ्चालन गर्नसके र सञ्चालनमा सहजीकरण गर्नसके मात्रै देशमा औद्योगिक विकास सम्भव रहेको उल्लेख गरे । उनले सहजीकरणको जिम्मा लिएको सरकारी निकाय नै आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेको आरोप लगाए ।

उनले उद्योग क्षेत्रको भाडादर जबरजस्ती बढाए उद्योगीहरूलाई मन्जुर नरहेको बताए । उनले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विभेदकारी रूपमा एकतर्फी र अन्यायपूर्ण भाडा वृद्धि गरेको आरोप लगाए ।

अध्यक्ष पाठकले उद्योग मन्त्रालयबाट उद्योग क्षेत्रका समस्या सरकारको नभएको भन्नेजस्ता गैह्रजिम्मेवारीपूर्ण कुरा आएको भन्दै विरोधका कार्यक्रमहरू अघि सार्नुपरेको बताए ।

Saru Shrestha