hilltake hilltake
 सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा, ४ हजारभन्दा बढी प्रहरी परिचालन

सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा, ४ हजारभन्दा बढी प्रहरी परिचालन

महेन्द्रनगर  – दशैं तिहारमा हुने सम्भावित आपराधिक घटना रोक्न सुदूरपश्चिम प्रदेशमा ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ।

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ  । 

gimigroup

प्रदेशको राजधानीसमेत रहेको कैलालीमा पनि स्थानीय प्रशासनले चाडपर्वको अवधिमा हुनसक्ने घटना न्यून गर्न विशेष सुरक्षा योजना लागू गरेको छ। दशैं तिहारका बेला हुने लापरबाहीले अप्रिय घटनासमेत हुने भएकाले ठूलो संख्यामा प्रहरी परिचालन गरिएको दाबी गरिएको छ।

स्थानीय प्रशासनले नागरिकलाई ढुक्कसँग दशैं मनाउन आग्रह गर्दै सुरक्षाका लागि प्रहरी परिचालन गरिएको जनाएको छ। दशैं तिहारको समयमा प्रहरीको गस्ती बढाइएको छ भने सादा पोसाकमा समेत प्रहरी परिचालन गरिएको छ।

सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

चाडपर्वको समयमा जथाभाबी रूपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। प्रदेशवासीलाई भयरहित वातावरणमा दशैं मनाउन आग्रहसहित प्रदेशभरि ४ हजारभन्दा बढी प्रहरी परिचालन गरिएको हो।

दसैँको अवधिमा आर्थिक सङ्कटका कारण हुनसक्ने अपराधका घटना मध्यनजर गर्दै प्रहरी परिचालन गरिएको हो। दशैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, सडक दुर्घटनालगायत घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना लागू गरेको जनाएको छ।

चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्स पनि परिचालन गरिएको छ।

Nisha Shrestha