hilltake hilltake
 अछामकी युवतीलाई विवाह गरेर मुस्लिम धर्मकी भन्दै नक्कली आधारकार्ड बनाइदिने श्रीमान प्रहरीको फन्दाम

अछामकी युवतीलाई विवाह गरेर मुस्लिम धर्मकी भन्दै नक्कली आधारकार्ड बनाइदिने श्रीमान प्रहरीको फन्दाम

धनगढी – भारतीय मुस्लिम युवकसँग विवाह गरेकी अछामकी एक अहिले युवती भारतीय प्रहरीको नियन्त्रणमा रहेकी छिन् ।

भारतको उत्तर प्रदेश (युपी) स्थित शहजादनगरको मजमाउ गाउँका एक मुस्लिम युवकले नेपालकी एक हिन्दु युवतीलाई आफू हिन्दु भएको जनाउँदै झुक्याएर विवाह गरेपछि अहिले आएर मुस्लिम धर्मावलम्बीको कागजात बनाउन लागेपछि भएको विवादमा युवक र युवती दुवै भारतीय प्रहरी नियन्त्रणमा परेका हुन् ।

gimigroup

अछाम पञ्चदेवल नगरपालिकाकी जानकी धामी र मगमाउ स्थायी घर भई धनगढीमा टेलरको काम गर्ने फिरोज अहमदबीच हिन्दू परम्पराअनुसार विवाह भएको देखिएको छ । धनगढीमै हिन्दूपरम्पराअनुसार विवाह गरेका फिरोजले गत असार १ गते भारतस्थित आफ्नो घरमा लगि युवतीलाई मुस्लिम धर्मकी भन्दै नक्कली आधारकार्ड बनाइदिएका थिए । विवाह अघि आफू हिन्दू भएको जनाउँदै फिरोजले धामीसँग हिन्दू परम्पराअनुसार विवाह गरेको धामीका एक आफन्तले जनाए ।

आफू बिरामी भएको बेला भारतस्थित घर पुगेका फिरोजले धामीलाई मुस्लिम धर्म भन्दै नक्कली आधारकार्ड बनाइदिएका थिए । हिन्दू धर्मकी युवतीलाई मुस्लिम धर्म भएको भन्दै आधारकार्ड बनाइदिएका फिरोजलाई केही स्थानीयले गैरकानुनी काम गरेको जनाउँदै प्रहरीसमक्ष बुझाएका थिए । त्यसपछि प्रहरीले अनुसन्धानका लागि फिरोजलाई थुनामा राखेको छ भने फिरोजका पिता सलीम र भाई फरिदसँगै प्रशासन पुगेकी जानकीलाई पनि निगरानीमा राखेको छ ।

आफू हिन्दु भएको जनाउँदै हिन्दू परम्पराअनुसार विवाह गरेका फिरोजले अहिले आफ्नो घर गएर मुस्लिम नाम राखि नक्कली आधारकार्ड बनाइदिएको आरोपमा थुनामा परेका हुन् । अहिले युवतीको आधारकार्डका लागि सिफारिस गरिदिने प्रधान र युवकका आफन्त पनि प्रहरी निगरानीमा रहेको जनाइएको छ ।

अहिले युवतीका नेपालस्थित अभिभावकले धर्म परिवर्तन गरिदिएको अभियोगमा फिरोजविरुद्ध नेपालमा उजुरी दर्ताको तयारीमा रहेको बताएका छन् ।

भारतमा पछिल्लो समय धर्म परिवर्तनको ठूलो विवाद भइरहेकै बखत उत्तरप्रदेशमा कुनै पनि हिन्दू र मुस्लिमबीचको वैवाहिक सम्बन्धलाई गैरकानुनी ठानिएको छ ।

पश्चिम नेपालका अधिकांश स्थानमा भारतबाट आएका मुस्लिम युवकहरुले हिन्दू युवतीहरुसँग प्रेम गरि विवाह गर्दै आइरहे पनि पछिल्लो समय युपी सरकारले हिन्दू–मुस्लिम बीचको विवाहलाई गैरकानुनी ठहर गरेको छ ।

विश्व हिन्दू परिषद्, नेपालका महामन्त्री जितेन्द्र सिंहका अनुसार फिरोज र जानकीलाई त्यहीँका हिन्दू परिषद्का कार्यकर्ताले शंका लागि प्रहरीमा जानकारी गराएको र प्रहरीले उक्त कार्य गैरकानुनी भएको भन्दै नियन्त्रणमा लिएको हो । यस किसिमको घटना बाहिरिएपछि पछिल्लो समयमा भारतीय मुस्लिम युवकहरूले नेपाली हिन्दू युवतीहरूलाई झुक्याएर विवाह गरेको हुनसक्ने पनि सिंहले बताए ।

अहिले फिरोजविरुद्ध जबरजस्ती धर्म परिवर्तन गराएको र नक्कली आधारकार्ड बनाएको आरोपमा कोतवाल प्रहरी चौकीमा उजुरी दर्ता गरिएको उक्त चौकीका इन्चार्ज नरेश कुमारले पुष्टी गरे । यसबारे थप अनुसन्धान सुरु गरिएको पनि उनले जनाए ।

यसबारेमा भारतीय दैनिक जागरणले पनि समाचार प्रकाशित गरेको थियो ।

Mahendranagar Post